Comments Add Comment

चेतन कार्की : ८२ वर्षमा एकल कविता !

कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीले शुक्रबार ८२ वर्षमा पाइला टेके । कार्कीको ८२ औं जन्मोत्सवका अवसरमा लायन्स क्लव अफ काठमाडौं, हिमचुली ठमेलले एकल कविता वाचन तथा सम्मानको आयोजना गर्‍यो । ८२ वर्षको उमेरमा पनि कार्की निकै ताजा र स्फूर्तिका साथ पाठकसमक्ष आफ्ना रचना लिएर प्रस्तुत भए ।

ज्येष्ठ नागरिक कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । सन् १९५२ मा । स्याङ्जाको वाँटरी गाउँमा जन्मेका उनलाई आफ्ना लाहुरे पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । उनी त्यतिवेला गोर्खा मिलिट्री स्कूलमा नौ कक्षामा पढ्थे ।

चेतन कार्की

चेतनले कविता लेखे हिन्दी, नेपाली र उर्दूमा । उनका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् ।

जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।

कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् । आत्मा बेचेको छैन उपन्यासको पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । यस उपन्यासलाई त्यसको प्रतिक्रिया मान्दछन् उनी ।

कार्कीले पुलिसमा डीएसपी पद पाउने प्रलोभन पाएका थिए । तर, पाएनन् । त्रिचन्द्रमा लेक्चररको पनि आश्वासन पाए, त्यो पनि उनलाई जुरेन । अन्ततः पोखरामा मत्स्य विभागमा काम गर्न पुगे । उनले त्यहाँ ६ वर्ष ४ महिना जागिर खाए । त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे ।

पोखरामा चेतन कार्की र भूपि शेरचनको दोस्ती निकै जमेको थियो । तर, परिचय भने आकस्मिक रुपमा भएको थियो । चेतन आफ्ना एकजना मित्र, जो वीरगञ्ज चिनी कारखानामा टेक्निसियन थिए, लाई विदा गर्न पोखरा एयरपोर्ट पुगेका थिए, त्यति नै बेला सुटेड-बुटेड एक आकर्षक व्यक्तित्व भएका व्यक्ति क्राइभेन चुरोट ओठमा राखेर त्यहाँ झुल्किए । ती व्यक्ति र चेतनका साथी पूर्वपरिचित रहेछन् । उनले परिचय गराइदिए । ती सुटेड बुटेड अरु कोही नभई भूपि शेरचन थिए, जोसँग चेतनको गहिरो मित्रता भयो ।

नेपाली चलचित्र क्षेत्रमा करिब ५० चलचित्रमा चेतनले कथा, पटकथा, सम्वाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भए । तर, अहिले उनले चलचित्र जगतलाई भुसुक्कै बिर्सेका छन् ।

अहिलेको चलचित्र जगतमा आफूले तादात्म्य राख्न नसकेको चेतनको बुझाइ छ । गीत लेखनमा पनि पहिलाको जस्तो पटकथा अनुसारको गीत लेखाउने नगरेको ठान्दछन् । यी विविध कारणले नेपाली चलचित्र जगतबाट उनी पूर्णतः टाढिएका छन् ।

संगीता प्रधान रानाले गाएको भूमरी चलचित्रको गीत ‘पिरतीको के चलन यो, मीठो-मीठो छ जलन यो’ उनलाई सधैं याद आइरहने गीत हो । सिन्दूर, जीवन रेखा, कान्छी, माया प्रिती जस्ता चलचित्रहरुलाई पछिसम्म सबैले याद गर्नेछन् भन्ने उनलाई लाग्छ ।

चेतनलाई अहिले ८२ वर्षको उमेरमा आएर गुरु महिमा लेख्ने इच्छा छ ।

उनले विद्यार्थी जीवनमा जतिजना गुरु व्यहोरे, तिनको विशेषता लेख्ने उनको मनसुवा छ । तर, उनले अहिले सोच मात्र बनाएका हुन् । कलम चलाइसकेका छैनन् । हाल उनी ८७ वषर्ीय नृत्य निर्देशक भैरव बहादुर थापाले ६३ वर्ष लगाएर तयार पारेको नृत्यको लिपिको किताबको हिन्दी र अंग्रेजीमा अनुवाद कार्यमा लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment