Comments Add Comment

बंगलादेशसँग नेपालको व्यापार असन्तुलनतर्फ

तीन महिनामा एक अर्ब ३१ करोड व्यापार घाटा

२६ कात्तिक, काठमाडौं । तीन दशकपछि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण आजबाट हुँदैछ । नेपाल र भारत दूरीका हिसाबले निकट छिमेकी भए पनि खासै घनिष्टता यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । खासगरी दुई देशबीच व्यापारिक सम्बन्ध प्रवद्र्धन गर्ने धेरै क्षेत्रहरू रहेको विज्ञहरू बताउँछन् ।

नेपालबाट र बंगलादेशको दूरी ४४ किलोमिटर मात्रै हो । दुई देशबीच द्विपक्षीय व्यापार सुरुवात भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ ।

दुई मुलुकबीच ०३२ मै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भए पनि आर्थिक वर्ष ०५४/५५ बाट मात्रै व्यापार सुरु भएको थियो । सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म दुई देशबीचको कुल व्यापार करिब ५५ अर्ब हाराहारीमा रहेको देखिन्छ ।

६० को दशकमा बंगलादेशसित नेपालको व्यापार सन्तुलनमा थियो । तर, पछिल्ला केही वर्षदेखि नेपालको निर्यात खस्किँदै गएको छ ।

नेपालबाट मुसुरो दाल, गहुँ, ह्याण्डी क्र्राफ्ट, जडिबुटी, पस्मिना र धागोजन्य सामग्री प्रमुख रूपमा बंगलदेश निर्यात हुने गरेको छ । बंगलादेशबाट भने ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिक आइटम आयात भईरहेका छन् । गत वर्षसम्म उच्च रूपमा आयात भइरहेको इनर्जी जुस भने नेपालको प्रतिबन्धपछि रोकिएको छ ।

किन खस्कियो निर्यात ?

बंगलादेशसँग नेपालको निर्यात व्यापार आर्थिक वर्ष ०७१/७२ देखि खस्कन थालेको देखिन्छ । यो वर्ष नेपालले १ अर्ब १५ करोड १८ लाख २१ हजार रुपैयाँको वस्तु निर्यात गर्दा बंगलादेशबाट २ अर्ब ५३ करोड १२ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । यस्तै, आव ०७२/७३ मा १ अर्ब २६ करोड २७ लाख ४६ हजार रुपैयाँको निर्यात नेपालले गर्‍याे भने बंगलादेशबाट ३ अर्ब ५० करोड ६३ लाख ७७ हजार रुपैयाँको वस्तु भित्र्याएको थियो ।
यो पनि पढ्नुहोस नेपालको बिजुली किन्ने बंगलादेशको चाहना, राष्ट्रपतिको भ्रमणमा के होला ?

आव ०७३/७४ मा १ अर्ब २६ करोड २७ लाख रुपैयाँको वस्तु पठाएको नेपालले ३ अर्ब ५० करोड ७३ लाख रुपैयाँको वस्तु आयात गरेको भन्सारको विवरणबाट देखिन्छ । आव ०७४/७५ मा १ अर्ब ८ करोड ३० लाखको निर्यात गरेको नेपालले ४ अर्ब ७९ करोड १० लाखको वस्तु बंगलादेशबाट आयात गरेको थियो ।

यस्तै गत आर्थिक वर्ष ७५/७६ मा १ अर्ब २९ करोडको निर्यात गरेर नेपालले ४ अर्ब २४ करोडको आयात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा १ अर्ब ३१ करोड पुगिसकेको छ । तीन महिनामा १ अर्ब ७० करोड ९४ लाखको आयात गर्दा नेपालबाट ३९ करोड बराबरको वस्तु मात्रै निकासी भएको देखिन्छ ।

दुई देशबीचका व्यापारिक मुद्दा

निरन्तर खस्कँदो व्यापार सन्तुलनलाई लिएर नेपाल बंगलदेशबीच द्विपक्षीय छलफलहरू भएका छन् । तर नेपालले उल्लेख्य फाइदा उठाउन सकेको भने छैन ।

वाणिज्य मन्त्रालयले विभिन्न चरणहरूमा ढाका–काठमाडौं बस सेवा, दुई देशबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइन, औषधिजन्य वस्तुको भन्सार महसुल तथा दर्ता प्रक्रिया सहजीकरण गर्नका लागि छलफल अघि बढाएको छ । यस्तै कृषि र औद्योगिक उत्पादन शून्य भन्सारमा बंगलादेश प्रवेश, दुई देशबीच आन्तरिक जलमार्गबाट व्यापार तथा पारवहन सम्भाव्यता, नेपालबाट बंगलादेश जलविद्युत् निर्यात, लगानी वृद्धि, पर्यटन प्रवद्र्धनका विषय पनि नेपाल र बंगंलादेशका व्यापारिक मुद्दा हुन् ।

नेपालको विराटनगर तथा भद्रपुरबाट बंगलादेशको सियादपुर/रङ्गपुरसँग हवाई सञ्जाल जोड्न सकिने विषय पनि दुवै देशको एजेण्डाका रूपमा उठ्ने गरेका छन् । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि साझा एजेण्डा बनेको छ ।

अनुदार बगंलादेश

वाणिज्यका भुक्तभोगीहरूका अनुसार भारत र चीनभन्दा पनि कठिन छ बंगलादेशसँग व्यापारिक डिल गर्न । आफ्नो वस्तु निर्यातका लागि जस्तोसुकै कदम चाल्न राजी हुने बंगालादेशीहरू अरु देशको वस्तु आयातमा भने उदार छैनन् ।

आफ्नो मुलुकबाट १२ प्रकारका औषधिहरू नेपाल निर्यात गरिरहेको बंगलादेशले नेपालबाट औषधि आयातको बाटो खोल्न अझै आनाकानी गरिरहेको छ । नेपालले काँकडभिट्टा नाकामै बंगलदेशलाई अनअराईभल भिसा जारी गर्ने गरे पनि नेपालीले बंगालादेश–भारत सीमाबाट उक्त सुविधा पाउन सकेका छैनन् ।

नेपालसँगको व्यापारमा बंगलादेशले भरपुर फाइदा उठाएको तर पनि नेपाल यसमा चुकेको वाणिज्य विज्ञ रविशंकर सैंजु बताउँछन् । कृषिजन्य उत्पादनदेखि धेरै कुरा नेपालले बंगालादेशमा निर्यात गर्न सक्ने भए पनि नगरिएको उनले बताए ।

‘यसका लागि राजनीतिक तहमा नतिजामुखी समझदारी गर्नु जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment