Comments Add Comment

चित्लाङ-थानकोट सडक निर्माण अलपत्र

२६ कात्तिक, वीरगञ्ज । चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले फेरि लापरबाही गरेको छ । पर्यटकीय गाउँ मकवानपुरको थाहानगरपालिका–९ चित्लाङलाई राजधानी काठमाडौंसँग जोड्ने सडक निर्माणमा कम्पनीले पटक–पटक लापरबाही गर्दै आएको छ ।

सडक निर्माणका लागि भन्दै बाटो बन्द गराएपनि कम्पनीले काम नगरेको पाइएको स्थानीयले बताएका छन् । स्थानीयको दबावपछि चाडपर्व सकिए लगत्तै तीब्र गतिमा काम गरेर मंसिर मसान्तसम्म काम सक्ने आवश्वासन निर्माण कम्पनी पीएस/किराँतेश्वरले दिएको थियो ।

तर केही दिनदेखि कम्पनीले तदारुकताका साथ काम गरिरहेको छैन । देउराली डाँडादेखि राम्चेसम्मको सडकखण्ड भत्काएर अलपत्र छोडिएको छ । सवारी साधन त परको कुरा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ ।

ठेकदार कम्पनीले बाटो लथालिंग अवस्थामा छोडेको र निर्माण स्थलमा कामदार समेत नरहेको चित्लाङका राजेन्द्र बस्नेतले बताए । ‘गाडी चल्न छोडेको त एकसाता जति भयो, मान्छे हिँड्ने गोरेटो बाटो समेत नछोडी सडक भत्काएर छोडेका छन,’ उनले भने, ‘ठुटा बुटा समातेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।’

चित्लाङमा फन्की रेष्टुरेन्ट सञ्चालन गर्दै आएका उनले चित्लाङ आउने पाहुना लिन जाँदा आफूले सडकको दुराअवस्था देखेको बताए । उनका अनुसार निर्माण कम्पनीले देउरालीमा २ वटा, राम्चेमा २ वटा र थानकोट तर्फ २ गरी ६ वटा जेसिबी थन्काएर राखेको छ ।

थाहा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले सडक निर्माणको काम रोकिएको जानकारी आफूले पनि पाएको बताए । ‘६ वटा मेशिन थन्काएर राखेको र काम पनि रोकेको भन्ने जानकारी म कहाँ पनि आएको छ ।’ उनले भने ।

सडक निर्माणमा लापरबाही भइरहेको महसुस आफूले गरेको उनको भनाइ छ । ‘चाडवाडपछि काममा गति दिन्छु भनेको हो, तर अहिले यस्तो कुरा आइरहेको छ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘फेरि स्थलगत अनुगमनमा जानुपर्ने जस्तो छ ।’

गत जेठदेखि नै सडक निर्माणका लागि स्थानीयले दवाव दिँदै आएका छन् । उनीहरुले आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई मंसिर मसान्तभित्र काम सम्पन्न गराउन  सहमति पत्रमा हस्ताक्षर समेत गराएका हुन् ।

यो पनि पढ्नुहोस चित्लाङ-थानकोट सडक निर्माणको दैनिक अनुगमन गरिने

स्थानीयले नियमित अनुगमन गरेकै कारण सडकको काममा गति समेत आएको थियो । चाडवाडका लागि गत असोज १३ गते अस्थायी रुपमा सुचारु गरिएको सडक निर्माणका लागि एक साता अघिदेखि बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस चित्लाङ–थानकोट सडक भोलिबाट सञ्चालनमा आउने

सडक निर्माणमा भइरहेको लापरबाहीले चित्लाङ, मार्खु, कुलेखानी, दामन, पालुङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती भोग्दै आएका छन् । स्थानीयलाई राजधानी जान आउन र उत्पादित तरकारी ढुवानीमा समेत कठिनाइ बेहोर्नु परेको छ ।

ठेकेदार कम्पनीका सनत सिंह राईले भने सडकको पछिल्लो अवस्थाको बारेमा आफूलाई जानकारी नभएको बताए । ‘दशैं मान्न कामदार कर्मचारीहरु छुट्टीमा थिए, अहिले म पनि बाहिर छु, बुझेर तपाईलाई खबर गरौंला ।’ राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment