+
+
Shares

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

रासस रासस
२०८३ कात्तिक १८ गते ६:३०

१८ कात्तिक, बाँके । बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठूलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन् ।

‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रुपमा सल्लाह गरेर पहिलो अभ्यासका रुपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिए ।

“अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,” उनले भने ।

तिहारमा बजारमा फूलको माग बढी हुने र भारतीय आयातित फूलले बजारको माग धानिरहेको उल्लेख गर्दै सञ्चालक आर्चायले यस खेतीका लागि धेरै तयारी गर्नुनपर्ने बताए । सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हापिसल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए ।

उनका अनुसार फुटाहामा पानी नजम्ने ठाउँ छनोट गरेर चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरिएको हो । तिहारअघि नै करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको छ ।

पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरीखेतीलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको उल्लेख गर्दै आर्चायले धेरैजसो विषयमा आफूले ज्ञान राखेकाले कुनै निकायलाई हारगुहार गर्न नपरेको स्पष्ट गरे ।

“पानी नजम्ने जग्गा छनौट गर्नुपर्छ र पानी धेरै भएको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपछ,” पुष्पखेतीबारे जानकारी दिँदै उनले भने ।

बर्षे झरीमा रोग र किराको व्यवस्थापन गरेर लोभलाग्दो रुपमा फूलको उत्पादन गरिएको आर्चायले बताए । बजारीकरणको काम सामाजिक सञ्जालबाट नै भएको र त्यहाँबाट नै माग आएको उल्लेख गर्दै तिहारमा नेपालगञ्जको धम्बोझीमा माला र फूलको खुद्रा बेचबिखन हुने फिट फार्मले जनाएको छ ।

लुम्बिनी फ्लोरिकल्चर एसोसियसनकी पूर्वसदस्य एवं महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिइन् । उनले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गरिन् ।

उनले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको बताइन् । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?