Comments Add Comment

आदर्श गाउँपालिकाको वडाध्यक्षका लागि ४ जनाको उम्मेदवारी

२७ कात्तिक, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएअनुसार यस वडामा चार जनाले उम्मेदवारी दर्ता गरेका हुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट रामबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपालीकांग्रेसको तर्फबाट महादेव साउँदले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट काँशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् भने स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । खड्का नेकपा निकट हुन् ।

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ साल जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो ।

दुई दलको शक्ति प्रदर्शन

मनोनयन अघिदेखि नै चुनाव जित्ने दौडमा रहेका दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले उम्मेदवारी दर्ताका क्रममा शक्ति प्रदर्शन गरेका छन् । दुबै दलका स्थानीयदेखि केन्द्रीय नेताहरु आदर्श गाउँपालिका पुगेका छन् ।

नेकपाका केन्द्रीय सदस्यतथा संविधानसभा सदस्य गौरी वली, संविधानसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हर्कबहादुर सिंह, प्रदेश कमिटी सदस्य एवम् डोटी जिल्ला कमिटीको पूर्वअध्यक्ष नारद मलासी, पार्टी जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल, जिल्ला सचिव जंग विक लगायतका नेताकार्यकर्ताहरु आदर्श केन्दि्रत भएका छन् ।

यस्तै पार्टीको तर्फबाट बिजयी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकाया, बोगटान गाउँपालिकाका उपाध्यक्ष भगवती बमलगातयका जनप्रतिनिधिहरु नेकपाको उम्मेदवारी मनोनयन जुलुशमा सहभागी हुन आदर्श पुगे ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री वीरबहादुर बलायर, पार्टीका जिल्ला सभापति प्रदीप देउवा, सचिव नारायण जोशी, नेताहरु जीतबहादुर खड्का, विजयी खड्कालगायतका नेताहरु आदर्श गाउँपालिकामा केन्द्रित भएका छन् ।

यस्तै पार्टीको तर्फबाट बिजयी शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी, उपप्रमुख धौलीदेवी रावल, केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलगायतका जनप्रतिनिधिहरु पनि कांग्रेसको उम्मेदवारी मनोनयन जुलुशमा सहभागी हुन आदर्श पुगे ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अंकबहादुर खड्कालगायतका नेताहरु पनि उम्मेदवारी मनोनयनको लागि आदर्श पुगेका छन् ।

नेकपा र कांग्रेसले बाजागाजासहितको जुलुश साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment