Comments Add Comment

सफलताको लागि व्यक्तित्व विकास

नेहा झट्ट हेर्दा निकै सुन्दरी छिन् । उनको अग्लो कद, आकर्षक शारीरिक बनावट, बदामी आँखा तथा लामो र कालो कपाल देखेर जो कोही पनि प्रशंसा नगरी बस्न सक्दैन थियो । जब उनले एमबिएको अध्ययन पुरा गरिन् । उनी जागिरका लागि अन्तर्वार्ता दिन थालिन् । कसैले पनि उनी उक्त अन्तर्वार्तामा अनुत्तीर्ण होलिन् भन्ने सोचेका थिएनन् । नेहा स्वयंले समेत आफू उक्त अन्तर्वार्तामा सफल नै हुन्छु भन्ने सोचेकी थिइन् ।

अन्तर्वार्ताको क्रममा नेहालाई सोधिएको प्रश्नको जवाफ पनि उनले सही तरिकाले नै दिएकी थिइन् । अन्तर्वार्ताको क्रममा नेहाको भेटघाट दीपासँग भएको थियो । दीपा पनि जागिरको लागि अन्तर्वार्ता नै दिन आएकी थिइन् । दीपा पनि झट्ट हेर्दा नेहा जस्तै देखिन्थिन् । तर, नेहालाई बारम्बार आफूलाई भन्दा दीपालाई नै उक्त जागिरका लागि छनोट गरिन्छ जस्तो लागेको थियो । नेहाको अनुमान सही भयो, अन्तर्वार्तापछि दीपालाई नै कम्पनीको सेक्रेटरीको लागि छनोट गरियो ।

नेहाका आफन्तहरुलाई जब यो कुराको बारेमा थाहा भयो । उनीहरुले अन्तर्वार्ताको क्रममा कम्पनीले दीपाको पक्ष लिएको आरोप लगाएका थिए । तर, नेहाले यो कुरालाई अस्वीकार गरिन् । उनले दीपाको आत्मविश्वास स्पष्ट देखेकी थिइन् । जसको प्रतिस्पर्धा आफूले गर्न नसक्ने कुरा उनले सबैलाई बताइन् । दीपाको आत्मविश्वास देखेर नेहाले आफू उक्त अन्तर्वार्तामा छनोट नहुने कुराको अनुमान लगाइसकेकी थिइन् ।

उक्त घटनापछि नेहाले आफ्नो व्यक्तित्व राम्रो भए पनि त्यसलाई केही विकास गर्नु पर्ने आवश्यक महसुस गरिन् । उनले व्यक्तित्व विकास अथवा पर्सनालिटी ग्रुमिङका केही कुराहरुमा ध्यान दिइन् । जसका कारण उनको व्यक्तित्वमा धेरै नै सुधार भयो । लगत्तै अर्को अन्तर्वार्तामा नेहा छनोट भइन् ।

पर्सनालिटी ग्रुमिङ सम्बन्धी जानकारीहरु कम आकर्षक व्यक्तिहरुका लागि पनि धेरै उपयोगी साबित भएको छ । जीवनमा अगाडि बढ्नका लागि व्यक्तित्व विकास हुनु अति नै आवश्यक छ । तपाईंंले जति मेहनत गर्नु हुन्छ । त्यति नै आफ्नो व्यक्तित्वलाई निखार्न सक्नुहुन्छ ।

व्यक्तित्व निखार्ने माध्यमहरु

हरेक व्यक्तिमा केही न केही विशेषता हुन्छ । आवश्यकता त केवल आवश्यक व्यक्तित्वको मात्र हुन्छ । आकर्षक व्यक्तित्वले व्यक्तिका अन्य कमी-कमजोरीहरु समेत छोपिदिन्छ । प्रायः धेरै मानिसहरुलाई राम्रो मेकअप, राम्रो पहिरन र गोरो वर्ण नै राम्रँे व्यक्तित्वको लागि आवश्यक कुराहरु हुन् भन्ने लाग्छ ।

त्यस्ता धेरै व्यक्तिहरु हुन्छन् । जो हेर्दा साधारण हुन्छन् तर अरुको मनमा लामो समयसम्म आफ्नो पर्सनालिटीले छाप छोड्न सफल हुन्छन् । उदाहरणको लागि अमेरिकाकी पूर्व विदेशमन्त्री कोन्डोलिसा राइसलाई लिन सकिन्छ । जसको पर्सनालिटीले हरेकलाई लोभ्याउने गर्छ । उनको पर्सनालिटीको सामुन्ने धेरै व्यक्तिहरुले झुक्नु परेकेा छ ।

पर्सनालिटीको मोहक रुप कामको हिसावले हुन्छ । पर्सनालिटी ग्रुमिङ गर्दा आफ्नो पेशालाई ध्यान दिनु पर्छ । आफूजस्तो पेशासँग आवद्ध छ । सोही हिसाबले पहिरन र मेकअप गर्नुपर्छ । तपाईंंको कुरा गर्ने तरिका पनि यति आकर्षक हुनु पर्छ कि तपाईंसँग एकपटक कुरा गरेपछि बारम्बार कुरा गर्न प्रयासरत रहोस् ।

मानिसहरुलाई सबैभन्दा धेरै प्रभाव पार्ने कुरा भनेकै कुनै पनि व्यक्तिको पर्सनालिटी नै हो । त्यसैले सबैभन्दा पहिला पर्सनालिटीलाई निखार्न आवश्यक हुन्छ । पर्सनालिटी ग्रुमिङको बढ्दो महत्व देख्दा यो एउटा ठूलोे कारोबार जस्तै भएको छ । आजको निजी र ग्ल्यामरले भरिएको जागिरको जमानामा पर्सनालिटी ग्रुमिङ अति नै आवश्यक कुरा भएको छ । राम्रो पर्सनालिटी नहुँदा जागिरमा प्रमोसनको सम्भावना पनि कम हुन्छ । धेरै जागिरमा अरुलाई आफ्नो कुराले प्रभावित गर्नुपर्छ । त्यसैले जागिरमा आफ्नो प्रमोसन गर्न होस् अथवा आफ्नो स्थान बलियो बनाउन पर्सनालिटी ग्रुमिङ अत्यन्त आवश्यक कुरा भएको छ ।

ड्रेस सेन्स हुनु आवश्यक

फेसन डिजाइनरहरुका अनुसार पर्सनालिटी ग्रुमिङको सबैभन्दा महत्वपूर्ण अंग भनेकै ड्रेस सेन्स हो । तपाईंंको डे्रस सेन्स जति राम्रो र आकर्षक हुन्छ । त्यसको प्रभाव त्यति नै हुन्छ । राम्रो ड्रेस सेन्सको लागि कुन अवसरमा कस्तो पहिरन लगाउने भन्ने कुरा थाहा पाउन अति आवश्यक छ । पार्टीमा जाने र अफिस जाने पहिरन कहिल्यै एउटै किसिमको हुनु हुँदैन ।

यो कुरा केवल महिलाहरुका लागि मात्र लागु हुँदैन । यो कुरा पुरुषमा पनि उत्तिकै लागु हुन्छ । पार्टीमा जाँदै हुनुहुन्छ भने कस्तो प्रकारको पार्टी हो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यदि पार्टी तपाईंंको घरको हो भने तपाईंको पहिरन त्यही अनुसारको र घर बाहिर हो भने तपाईंंको पहिरन छुट्टै किसिमको हुनुपर्छ । हरेक उमेरमा भिन्दा-भिन्दै पहिरनले पर्सनालिटीमा निखार ल्याउँछ । जुन व्यक्तिले यो कुरामा ध्यान दिँदैन, उसले लगाएको पहिरन भद्दा देखिनसक्छ । त्यसैले राम्रो पर्सनालिटीका लागि राम्रो ड्रेस सेन्स हुनु पनि आवश्यक छ ।

सालिन र सुन्दर मेकअप हुनुपर्छ

पर्सनालिटी ग्रुमिङमा मेकअपको पनि महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले मेकअप गर्नु अगाडि आफू कस्तो स्थानमा जाँदै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि तपाईंं पार्टीमा जाँदै हुनुहुन्छ भने तपाईंंको मेकअप कलरफुल हुनुपर्छ । अफिस जाँदै हुनुहुन्छ भने भिन्दै किसिमको मेकअप गर्नुपर्छ । धेरै भड्किलो मेकअप गरेर अफिस जानु हुँदैन । अफिसमा भड्किलो मेकअप गरेर जाँदा त्यसले नराम्रो असर पार्छ । पहिरन जस्तै मेकअप गर्दा पनि उमेरलाई विचार गर्नुपर्छ । सौम्य मेकअपले तपाईंंलाई बढी आर्कषित बनाउँछ । तपाईंं अफिसमा जुन पदमा काम गर्नु हुन्छ । मेकअप पनि त्यही हिसाबले गर्नुपर्छ ।

बडी ल्याङ्वेजका कुरा 

हरेकको शरीरको आफ्नो एउटा ल्याङ्वेज हुन्छ । जसलाई बडी ल्याङ्वेज भनिन्छ । सुनिताको कुरा गर्दा-गर्दै हात झट्कार्ने बानी थियो । उनको त्यस्तो बानीका कारण पार्टीहरुमा उनलाई हास्यपद हालतको सामना गर्नु परेको थियो । जब उनका श्रीमान्ले यो कुरा थाहा पाए, उनले सुनिताको त्यस्तो बानी हटाउन सहयोग गरे । सरिता एउटा ठूलोे बैंकमा अफिसरको रुपमा कार्यरत थिइन् । उनलाई कुनै किसिमको कमी थिएन् । तर, कहिलेकाहीँ तनावमा भएको समयमा नङ टोक्ने बानी थियो । उनी उक्त बानीबाट कठिन तरिकाले मुक्त भइन् ।

यसप्रकार गलत कुराहरुले तपाईंको बडी ल्याङ्वेजलाई खराब बनाइदिन्छ । हिँडडुल, उठबस, फोनमा कुरा गर्ने पनि तपाईंंको आफ्नो तरिका हुन्छ । जुन बडी ल्याङ्वेजको महत्वपूर्ण भाग हो । त्यसलाई पनि निखार्न आवश्यक छ । राम्रा तरिकाले कुरा गर्ने व्यक्तिहरुले अरु व्यक्तिलाई धेरै प्रभावित गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment