Comments Add Comment

पोखराका मुख्य सडकमै ग्यारेज र वर्कसप

शाखा बाटोमा सार्न १ महिने ‘अल्टिमेटम’

२ मंसिर, पोखरा । पोखरा महानगरलाई पछिल्लो समय पार्किङ समस्या टाउको दुखाइको विषय बनेको छ । दिनानुदिन बढिरहेका सवारी चापलाई व्यवस्थित गर्न पार्किङको भरपर्दो योजना अघि सार्नुपर्ने चुनौती महानगरलाई छ । उसो त महानगरको चौथो नगरसभाले पार्किङलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम प्रस्तुत गरेको छ ।

अन्डरग्राउन्ड पार्किङसहितको भवन बनाउनेलाई कर छुटदेखि बहुतले पार्किङ भवन बनाउनेसम्मका घोषणा नगर सभाले गरेको छ । तर, तत्कालका लागि बढिरहेको पार्किङ र ट्राफिक जाम समस्या समाधान गर्न भने कुनै योजना अघि सारेको छैन । महानगरले तत्काल ट्राफिक समस्या समाधान गर्न पार्किङ स्थल बनाउने बताएको थियो । तर, जग्गाको अभावले गर्दा त्यो काम पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।

यो पनि पढ्नुहोस पोखरामा बहुतले पार्किङ, पातलो छाँगोमा सीसाको पुल

पार्किङका लागि सडकनै ठेक्कामा दिन महानगरले पटक पटक टेन्डर आह्वान गर्‍यो । अहिले महानगरले छैठौं पटक टेन्डर आह्वान गरेको छ । तर, ७ करोड रुपैयाँ बराबरको टेन्डर मोल घटेर ३ करोडमा झर्दासमेत कुनै पनि निजी कम्पनी इच्छुक देखिएका छैनन् । सडकनै डाकिने गरी अव्यवस्थित पार्किङले ट्राफिक जाममात्रै होइन यात्रुलाई समेत सकसमा पारिरहेको छ ।

ट्राफिक जामको कारक ग्यारेज र वर्कसप !

पोखराका मुख्य बजार क्षेत्रमा ट्राफिक जामको कारक अव्यवस्थित पार्किङमात्रै होइन । मुख्य सडकसँगै जोडिएर खुलेका बग्रेल्ती ग्यारेज र वर्कसपले समेत ट्राफिक जामको समस्या निम्त्याइरहेका छन् । बीच सडकमै मर्मत गर्न ल्याइएका सवारी साधन रोकिनाले बाटु साँघुरिएको मात्रै छैन, त्यसले जामसमेत सिर्जना गरिरहेको छ ।

अव्यवस्थित खुलेका ग्यारेज र वर्कसपका कारण पार्किङ र ट्राफिक जामको समस्या निम्त्याइरहेको भन्दै पोखरा महानगरले पोहोर पुस २० गते सरोकारवालासँगको बैठकमा बसपार्क क्षेत्रका ग्यारेज र वर्कसप हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मुख्य सडकका ग्यारेज १५ दिनभित्र शाखा सडकमा सार्ने र अटेर गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना भनिएको थियो ।

यो पनि पढ्नुहोस पार्किङ गर्न सडक नै ठेक्कामा

महानगरको भनाइ थियो, ‘बसपार्क व्यस्त हुने ठाउँ हो । त्यहाँका सडक छेउमा ग्यारेज र वर्कसप खुल्दा त्यहाँ रोकिने गाडीले पार्किङको समस्या निम्त्यायो । १५ दिनभित्र नहटाए १५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।’ महानगरले त्यतिबेला ३ वटा ग्यारेजलाई कारबाही पनि गरेको थियो । तर, महानगरको अनुगमन प्रभावकारी रुपले अघि बढ्न नसक्दा सबै ग्यारेज र वर्कसप हटिसकेका भने छैनन् ।

महानगर ट्राफिक व्यवस्थापन समिति प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल जिल्ला प्रशासन, जिल्ला ट्राफिक कार्यालयको ‘असहयोग’ले अनुगमन प्रभावकारी हुन नसकेको बताउँछन् । ‘महानगर आफैं फिल्डमा जाने होइन । महानगर त पोलिसी मेकर हो । यसमा सबै सरोकारवालाको सहयोग जरुरी हुन्छ,’ उनी भन्छन् ।

यो पनि पढ्नुहोस अस्तव्यस्त पोखराः पार्किङस्थलमै सुपरमार्केट, सडकमै ठेक्का !

महानगरले बसपार्क क्षेत्रका ग्यारेज र वर्कसप हटाउने घोषणा गरेको करिब १ वर्षपछि पुनः अर्को निर्णय गरेको छ, ‘अब पोखराका सबै मुख्य सडक छेउका ग्यारेज र वर्कसप हटाउँछौं ।’ तत्कालीन समयमा १५ दिने सूचना निकालेको महानगरले अहिले १ महिने सूचना निकालको छ । ‘मुख्य बजार क्षेत्रका ग्यारेज र वर्कसप हटाउने भन्ने चानचुने विषय होइन,’ पौडेलले भने, ‘शाखा बाटोमा ठाउँ खोजेर सार्नु पर्‍यो । त्यही भएर १ महिना समय दिएका छौं । यो पछि बढाउन पनि सकिन्छ ।’ उनले पुस १ गतेबाट भने मुख्य सडक क्षेत्रका ग्यारेज र वर्कसप हटाइसक्ने दाबी गरे ।

ट्राफिक व्यवस्थापन सम्बन्धी महानगरको कात्तिक ७ गते बसेको बैठकले महानगरका मुख्य सडक क्षेत्रका ग्यारेज र वर्कसप हटाउने निर्णय गरेको हो । कात्तिक २२ गतेबाट लागु हुने गरी १ महिनाभित्र स्थानान्तरण गरिसक्न महानगरले सूचना जारी गरेको छ ।

यो पनि पढ्नुहोस बसपार्कभरि आवादी, सडकभरि गाडी पार्किङ !

‘पुसबाटै सबै ग्यारेज र वर्कसप हट्छन् । तोकिएको समयमा नहटाए पहिलो पटकका लागि चेतावनीमात्रै दिने निर्णय भएको छ,’ इन्जिनियर पौडेलले भने, ‘तर, पटके कारबाहीमा परे १५ हजारसम्म जरिवाना गर्नेछौं ।’ उनले मुख्य सडक क्षेत्रका ग्यारेज तथा वर्कसप शाखा बाटोमा सरे त्यसले पनि ट्राफिक जाम र पार्किङको समस्या समाधान गर्न सजिलो हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment