Comments Add Comment

अपुरो तरुण दलले गुजार्‍यो तीन वर्ष

कांग्रेस भ्रातृ संस्थाको महाधिवेशन १५ वर्षदेखि हुन सकेन

३ मंसिर, काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको अध्यक्ष जितजंग बस्नेतले बताए ।

‘हामीलाई हाम्रो कार्यसमितिको म्याद ६ महिना म्याद थप्ने अधिकार छ र त्यसको अनुमोदन नेपाली कांग्रेसले गर्ने प्रावधान रहेकाले हामी नै कन्टिन्यु छौं,’ बस्नेतले भने ।
उनले पाँच महिनाभित्र महाधिवेशन गराउने पनि बताए ।

२०७३ मंसिर २ गते भागबण्डाका आधारमा चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो । जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् ।

तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही चार सदस्यीय कार्यसमितिले तीनवर्षे म्याद गुजारेको छ । नेताहरुको आन्तरिक विवादका कारण तरुण दलको कार्यसमिति विस्तार हुन नसकेको हो । पछिल्लो समय आन्तरिक विवाद चर्किंदा अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

तरुण दल मात्र होइन, नेपाली कांग्रेसका अधिकांश भ्रातृसंस्था र शुभेच्छुक संस्था लथालिंग अवस्थामा छन् ।

नेपाल किसान संघ र नेपाल आदिवासी जनजाती संघको १५ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र अपांग संघको १० वर्षदेखि महाधिवेशन भएको छैन । यस्तै नेपाल दलित संघको महाधिवेशन नभएको ७ वर्ष भइसकेको छ । नेपाल विद्यार्थी संघ (नेवि संघ) पनि अहिले नेतृत्वविहीन छ ।

नेपाली कांग्रेसका १३ भ्रातृसंस्था तथा नेपाल शिक्षक संघ र प्रेस युनियनसहित ३९ शुभेच्छुक संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment