Comments Add Comment

उदयपुरमा स्थानीयले फिर्ता लिए चक्काजाम

मेयरसँग वार्ता गर्ने सहमति

३ मंसिर, काठमाडौं । ढुंगा उत्खननको विरोधमा चक्काजाम गरेका उदयपुरको बेलका नगरपालिकाका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् । बुधबारदेखि घोषणा गरेको चक्काजाम जिल्ला समन्वय समितिमा भएको भद्र सहमतिपछि स्थानीयले फिर्ता लिएका हुन् ।

नगर प्रमुखसँग समस्या समाधानका लागि पछि वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले जानकारी दिए । स्थानीयले कोशीपुल–रुपनगर सडकको चक्काजाम फिर्ता लिएपछि यातायात सञ्चालन भएको छ ।

४ दिनअघि स्थानीयले बेलका नगरपालिका ४ र ६ को सिसुवा खोलाबाट राभिर नदीजन्य सामाग्री ओसार पसार गरेको विरोधमा २० वटा टिपर नियन्त्रणमा लिएका थिए । सोमबार प्रहरीले टिपर लगेपछि स्थानीयसँग झडप हुँदा केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

झडपमा केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । प्रहरीले दमन गरेको भन्दै स्थानीयले बुधबार पूर्व–पश्चिम वैकल्पिक राजमार्गको रुपमा रहेको कोशीपुल–रुपनगर सडक ठप्प पारेका थिए ।

स्थानीयले आन्दोलन फिर्ता लिएसँगै जनजीवन सामान्य बनेको छ । स्थानीयले नियन्त्रणमा लिएका सबै टिपरहरु सिरहाको बीपी कन्स्ट्रक्सनका हुन् । उक्त कम्पनीले ३ करोड ७६ लाख रुपैयाँमा गत भदौमा सिसुवा खोलाबाट ढुङ्गा झिक्ने ठेक्का पाएको थियो ।

नगरपालिकाले स्थानीयको सहमतिबिनै ठेक्का लगाएको भन्दै विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment