Comments Add Comment

धरहरा पुनर्निर्माणमा तीव्रता, तेस्राे तल्लाकाे ढलान अन्तिम चरणमा

प्रत्येक १५ दिनमा एक तल्ला ढलान हुन्छ : प्राधिकरण

३ मंसिर, काठमाडौं । भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ । विभिन्न व्यवधानका कारण निकै ढिला गरी सुरु भएको पुनर्निमाणले अहिले गति लिएको हो ।

हालसम्म ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले जमीनमुनि (अण्डर ग्राउण्ड) का दुईतल्ला  ढलान सम्रपन्न भइसकेकाे छ भने  जमीनभन्दा माथि एक तल्ला ढलान सकिन लागेकाे छ ।

‘जमीनमुनिको २ तला ढलान भएको धेरै भइसक्यो, तर त्यो बाहिरबाट देखिँदैन,’ महर्जनले भने, ‘तेस्रो तल्ला ढलान ठेकेदार कम्पनीले निर्धारित समयभन्दा २ दिन अगाडि सक्दैछ ।’

धरहरा पुननिर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ । केही समयअघि स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमा विरोध जनाएका थिए । धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो ।

प्राधिकरणका अनुसार अहिले त्यस्तो केही समस्या छैन । जमीनमुनि काम गर्न धेरै समय लाग्ने भएकाले पनि केही ढिला भए भन्दै अब जमीनमाथिको काम तीव्र हुने प्राधिकरणको दावी छ ।

‘अब हरेक १५ दिनमा एक तल्ला ढलान हुन्छ, आगामी अक्टोवरसम्ममा धरहरा निर्माण सम्पन्न भइसक्छ,’ महर्जनले भने, ‘त्यसपछि पार्किङ भूभाग बनाउन केही समय लाग्ला ।’

धरहरा निर्माणबारे प्रत्यक्ष जानकारी लिन आफू अधिकांश समय फिल्डमै खटिएको जानकारी दिँदै उनले गुणस्तरमा ध्यान दिइएको बताए ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा भ‍र्‍याङ चढेर मात्र होइन, लिफ्टबाट उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छन् । बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment