+
+
Shares

उपनिर्वाचन सरकारलाई सच्चिन दबाव दिने अवसर हो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १४:३८
पत्रकार सम्मेलनमा प्रवक्ता शर्मा । अनलाइनखबर फाइल ।

३ मंसिर, काठमाडौं । नेपाली कांंग्रेेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् ।

‘यो उपनिर्वाचन मतदाताका लागि अवसर हो,’ उनले भने ,’सच्चिनका लागि सरकारलाई दबाब दिन मतदाताले विश्लेषण गर्नुपर्छ । २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त ?’

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए । ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ उनले भने ।

सरकारले २१ महिना पूरा गरेको अवसरमा कांग्रेसले २१ बुँदामा सरकारको टिप्पणी गरेको छ ।

सरकार राष्ट्रियताको विषयमा कमजोर रहेको, संविधान संशोधन गर्न नसकेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, वाइडबडीलगायतका अनियमितताको घटना छानबिन गर्न नसकेको कांग्रेसको आरोप छ । बुढीगण्डकी आयोजनामा कम्युनिस्ट सरकारको राष्ट्रघात देखिएको प्रवक्ता शर्माले बताए ।

मेलम्ची आयोजना समयमा पूरा गर्न नसकेको, निजगढ विमानस्थल अन्योलमा रहेको, चिकित्सा शास्त्रका विद्यार्थी टगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको, धर्मका विषयमा विवादास्पद काम गरेको, सरकारको अभिव्यक्ति नै असहिष्णु रहेको शर्माले बताए । ‘कहिले जाइलाग भनेर अपिल गर्छ, कहिले प्रधानमन्त्रीले अरिगाल बन भनेर निर्देशन दिनुहुन्छ, यसले लोकतान्त्रिक संस्कार संकृतिलाई बलियो बनाउदैन’ उनले भने ।

शर्माले नेकपाले आफ्ना कार्यकर्तालाई नवमण्डले बनाउन खोजेको पनि आरोप लगाए । मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने शर्माले बताए ।

‘कांग्रेस एकतावद्ध छ’

प्रवक्ता शर्माले उपनिर्वाचनको तयारीमा पार्टी सम्पूर्ण रुपमा एकतावद्ध भएको बताए । पार्टीको आन्तरिक विषयमा उपनिर्वाचनपछि छलफल गर्ने भन्दै अहिले निर्वाचनमा मात्र लक्षित रहेको उनको भनाइ छ ।

‘उपनिर्वाचन सकिएको एक साताभित्रै केन्द्रीय समितिको बैठक बस्ने सम्भावना छ । विवादको सन्दर्भमा त्यसबेला छलफल हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?