Comments Add Comment

थममाया मेरी दिदी, सल्लाह गरेर अगाडि बढ्छु : मन्त्री गुरुङ

एनजीओ जस्तो भएको आरोप लाग्छ, यो क्षेत्र यस्तै रहेछ : थममाया

५ मंसिर, काठमाडौं । नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । उनले काम गर्ने क्रममा केही समस्या आएमा निवर्तमान मन्त्री थममाया थापामगरसँग सल्लाह गरेर अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । बिहीबार राष्ट्रपतिबाट शपथग्रहण गरेपछि मन्त्रालय पुगेर उनले कार्यभार सम्हाले ।

कार्यभार सम्हाल्दै गुरुङले भने, ‘थममाया थापा मेरो दिदी हुनुहुन्छ, पार्टीको नेता हुनुहुन्छ । केही समस्या आयो भने, उहाँसँग सल्लाह गरेर अघि बढ्छु ।’

गुरुङले कर्मचारीहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशनसमेत दिए । चेतावनीको शैलीमा मन्त्री गुरुङले भने, ‘म टिममा विश्वास गर्छु । विश्वासघात भयो भने अर्को परिणाम आउन सक्छ । जिम्मेवार भएर काम गरौं ।’

थममाया थापाले दिइन् शुभकामना

नवनियुक्त मन्त्री पार्वत गुरुङलाई शुभकामना दिन निवर्तमान मन्त्री थममाया थापा मन्त्रालयमा पुगेकी थिइन् । गुरुङलाई ऊर्जाशील व्यक्ति भन्दै थममायाले भनिन्, ‘हामीले सुरु गरेको कामलाई अगाडि बढाउन युवा, ऊर्जाशील व्यक्ति आउनुभएको छ, उहाँलाई शुभकामना ।’

पार्वत गुरुङको पदभार ग्रहण कार्यक्रममा सबैभन्दा पहिले बोलेकी उनले सरकारमा आउने–जाने सामान्य भएको भन्दै जहाँ भए पनि जनताको सेवा गर्ने बताइन् ।

महिला, बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने भएकाले यो मन्त्रालय संवेदनशील भएको उनले बताइन् । मन्त्रालय एनजीओ जस्तो भएको भनेर आरोप लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘यो क्षेत्र नै यस्तै रहेछ । महिला, बालबालिकाका कार्यक्रममा जाँदा धेरै प्रोत्साहन हुन्थ्यो र गयौं ।’

आफ्नो कार्यकालमा दीर्घकालीन सरोकार राख्ने केही काम गरेको भन्दै उनले आफ्नो कार्यकालमा सुरु गरेको कामलाई अगाडि बढाउन नवनियुक्त मन्त्री गुरुङलाई सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment