Comments Add Comment

सुरेन्द्र र जनार्दन चर्चामै सीमित, महेश बस्नेतको नामै चट्

वामदेवको चित्त बुझाउन खोज्दा कोपभाजनमा परे कृष्णगोपाल

५ मंसिर, काठमाडौं । पदमुक्त हुने र नियुक्ति पाउने मन्त्रीबारे अनेक आँकलनलाई पूर्णविराम लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरे । ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका उनले त्यति नै संख्यामा मन्त्री र राज्यमन्त्री थपे ।

हटेका र नियुक्ति पाएका केही नाम चर्चाअनुसार नै भएता पनि चर्चामा रहेकाहरु केहीले मन्त्री बन्ने अवसर पाएनन् ।

जसको पद जोगियो

मन्त्रिपरिषद् पुनर्गठनको तयारी हुँदै गर्दा हटाउने तयारी भन्दै धेरै मन्त्रीहरुको नाम आयो । जसमध्ये तत्कालीन उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाउने पक्का भनिएको थियो । नभन्दै तीनै जनाको मन्त्री पद गयो ।

निकै आलोचना खेपेका र विवादमा परेका तत्कालीन भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नाम सुरुमा हटाउनेको सूचीमा थियो । महासेठले दौडधुपपछि मन्त्री पद थमौती पाएको अनुमान नेकपाका नेताहरुले गरेका थिए । तर, प्रधानमन्त्री ओलीले उनलाई पनि विदा गरिदिए ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि हट्ने कि रहने भन्नेमा अन्योल थियो । बुधबार दिउँसोसम्म पनि दुईमध्ये एक हट्ने सम्भावना रहेको नेकपाका नेताले बताइरहेका थिए ।

तर, साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले विष्ट र पण्डित दुवैलाई हटाएका छन् ।

यो पटक हटाउने भनिएका केही मन्त्री भने सुरक्षित भए । खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाउने चर्चा थियो । नेकपा सचिवालयकै सदस्यहरु पनि त्यो सम्भावनालाई नकार्दैनथे । तर, दुवैको पद थमौती भयो ।

यस्तै, भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको पनि पद जोगिएको छ ।

जसले चर्चा पाए, मन्त्री भएनन्

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा हटाउने मात्र होइन, नयाँ बन्ने मन्त्रीहरुको पनि नाम निकै चर्चामा रह्यो ।

तर, पक्का भनिएका केही नाम मन्त्रीको सूचीमा परेन भने केहीले ‘सरप्राइज इन्ट्री’ मारेका छन् । मन्त्री बन्ने पक्का भनिएका सुरेन्द्र पाण्डे र जनार्दन शर्मा ‘प्रभाकर’ सूचीमा परेनन् । त्यस्तै चर्चामा रहेका देवेन्द्र पौडेल, प्रेम आले, यज्ञराज सुनुवार, पम्फा भुसाल र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बनेनन् ।

नेकपा उच्च स्रोतका अनुसार मन्त्री बन्ने पक्का भइसकेका महेश बस्नेतको नाम पनि अन्तिम समयमा आएर काटियो । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी थियो । स्रोत भन्छ, ‘साँझ ५/६ बजेसम्म उनी नै मन्त्री भन्ने थियो, तर अन्तिममा उनको नाम नै काटिएछ ।’

पाँचथरे नेता बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी मन्त्री बन्ने पक्का थियो । तीन पटक (०४८, ०५६ र ०७४) मा चुनाव जितेका उनले २०६४ र २०७० मा टिकट पाएका थिएनन् । यो पटक पाँचथरबाट उनलाई मन्त्री बनाउनुपर्छ भन्नेमा पूर्वएमालेका नेताहरु एकमत देखिएका थिए । त्यसमाथि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि जोडबल थियो ।

एक नेताका अनुसार नेम्वाङलाई राज्यमन्त्री मात्र बनाउने तयारी थियो । तर, भर्खर संसदीय राजनीतिमा आएकी विना मगरलाई मन्त्री राखिराखेर नेम्वाङलाई चाहिँ राज्यमन्त्री बनाउन पूर्वएमालेका नेताहरु तयार भएनन् । र, उनी मन्त्री मात्र भएनन्, महेश बस्नेतलाई दिने भनिएको भौतिक पूर्वाधार मन्त्रालय पाएका छन् ।

बिराटनगरमा नयाँ होटल खोलेका सांसद मोती दुगडसँगै प्रचण्ड निवासमा पुगेर बामदेवलाई सीट खाली गर्न राजीनामा बुझाएका सांसद रामवीर मानन्धरले यसपटक ‘सरप्राइज इन्ट्री’ मारेका छन् ।

कुनै समय ‘नवनेपाल निर्माण’ नामक पार्टी खोलेका उद्योगी दुगड नेकपाको समानुपातिक सूचीमा परेर सांसद भएका थिए । अहिले प्रधानमन्त्री ओलीको जोडबलमा उनलाई उद्योग राज्यमन्त्री बनाइएको छ, जुन यसअघि चर्चामा थिएन । प्रधानमन्त्री ओली बिराटनगर जाँदा कहिलेकाहीँ दुगडको होटलमा बस्ने गर्छन् ।

यस्तै बामदेव गौतम निकट मानिएका सांसद रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री भएका छन् । उनी बामदेव गौतमका लागि काठमाडौं ७ को सिट खाली गराउन तयार भएका सांसद हुन् । त्यसबेला निकै आलोचना भएपछि गौतमले काठमाडौंमा चुनाव लड्ने सोच त्यागेका थिए ।

तर, गौतमको जोडबलमा रामवीरलाई राज्यमन्त्री बनाउँदा प्रधानमन्त्री ओली निकट मानिएका कृष्णगोपाल श्रेष्ठ भने मन्त्रिपरिषदमा अटाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment