 
																			५ मंसिर, काठमाडौं । दुई वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली देशभरिमै सबैभन्दा बढी मत प्राप्त गर्ने सांसद बन्दा उनकै पार्टीका पार्वत गुरुङले पनि सबैभन्दा ठूलो मतान्तरमा जित्ने सांसदको रेकर्ड बनाएका थिए ।
ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका थिए, जुन मत त्यस निर्वाचनमा बिजयी भएका सांसदमध्ये सबैभन्दा बढी थियो । ओलीले सर्वाधिक मतको कीर्तिमान बनाउँदा दोलखाका पार्वत गुरुङले विपक्षीसँगको सर्वाधिक मतान्तरको किर्तिमान कायम गरेका थिए ।
गुरुङ ५५ हजार ४५७ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८१३ मत पाएका थिए ।
निर्वाचनको सर्वाधिक मत र मतान्तरमा रेकर्ड बनाएका ओली र गुरुङ दुई दुई वर्षपछि एकै क्याबिनेटमा आइपुगेका छन् । प्रधानमन्त्रीले पार्वतलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । त्यसो त ओलीपछि सर्वाधिक मतको रेकर्ड बनाएका गोकुल बास्कोटा शुरुदेखि नै ओलीको क्याबिनेटमा छन् ।
दोस्रोपटक सांसद, पहिलोपटक मन्त्री
दोस्रोपटक सांसद भएका गुरुङ पहिलोपटक मन्त्री बनेका छन् । उनी ०७० सालको संविधानसभा निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए । तत्कालीन एमाले र हाल नेकपाको केन्द्रीय सदस्य समेत रहेका उनी पार्टीभित्र सधैं केपी ओलीको पक्षमा उभिएका नेता हुन् ।
राजनीतिमा गुरुङको छलाङ भने निकै रोचक छ ।
५१ वर्षीय ०५४ सालको स्थानीय चुनावसम्म जिल्लास्तरीय कार्यकर्ता थिए । उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य भए पनि जिल्ला राजनीतिमा स्थापित भए । राजनीतिसँगै गुरुङ जटिबुटी र कृषि उद्यममा पनि संलग्न थिए ।
पार्टीमा गाउँ कमिटी प्रमुखदेखि दोलखा जिल्ला कमिटी अध्यक्षसम्म भएका गुरुङ तत्कालीन एमालेको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित भए । एमालेको गढ मानिने दोलखामा आफूभन्दा धेरै सिनियर नेताहरुलाई पछि पारेर गुरुङ केन्द्रीय राजनीतिमा स्थापित भए ।
जुझारु स्वभावका गुरुङ विपक्षीहरुप्रति आक्रामक नेताका रुपमा चिनिन्छन् । उनी केही समयअघि दुई वर्षअघिको एउटा मुद्दामा अदालतले पुर्जी काटेपछि एकाएक चर्चामा आए । यद्यपि राजनीतिक प्रकृतिको मुद्दा भन्दै अदालतले उनलाई साधारण तारेखमा छाडेको छ ।
स्थानीय चुनावका बेला जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङ मारिएपछि तत्कालीन माओवादीले मारेको आरोप एमालेले लगायो । त्यसक्रममा तत्कालीन माओवादीका नेता देवी खड्का, विशाल खड्का लगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
एकले अर्कोलाई मुद्दामा फसाउने प्रतिस्पर्धा नै चलेका बेला माओवादीका एक कार्यकर्ताले आफूलाई पार्वत गुरुङको निर्देशनमा मार्ने उद्देश्यले कुटपिट गरिएको भन्दै जाहेरी दिएका थिए । सोही मुद्दामा उनलाई अदालतले पुर्जी काटेको थियो ।
पार्वतलाई मन्त्री बनाउन ओलीमाथि अघिल्लै कार्यकालमा दबाब थियो । त्यबेला उनले दोलखाकै अर्का नेता आनन्द पोखरेललाई छाने । यसपटक पार्वतलाई मन्त्री बनाउन पोखरेल आफैं बालुवाटारमा लबिङ गर्न पुगेका थिए ।
पार्वतको रुचि र अपेक्षा अनुरुप मन्त्रालय नपाएको टिप्पणी पनि भएको छ । अर्को पुनर्गठनमा गुरुङको मन्त्रालय हेरफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4