Comments Add Comment

धुमधामको घुमघाम : कुहिरोभन्दा माथिको बस्ती नियाल्दा

नजिकको तिर्थ हेला भनै झै हुन्छ बेलाबखत । खासमा इलाम बजार वा जसबीरेबाट सन्दकपुर टाढाको गन्तव्य होइन । तर, त्यतीको दूरी छिचोलेर हिमाली दृश्यहरुसँग रमाउने मौका पनि जुराउनै गाह्रो  । यसपाली भने रैथाने टुरिष्ट बनेर सन्दकपुरको अग्लाई नापियो । यो नियोजित नभई अप्रत्यासित यात्रा थियो । भनिन्छ, यात्रा अप्रत्यासित नै रोमाञ्चक हुन्छ । भयो पनि त्यस्तै ।

सबै बन्दोबस्ती गरेर तय गरिने यात्रा भन्दा अनपेक्षित यात्रा रोचक हुन्छ । यसपाली सन्दकपुरसम्मको यात्रा पनि अनपेक्षित तर रोचक रह्यो ।

यसपाली हामी जुन क्षेत्रको भ्रमणमा गयौं, त्यो इलाम र दार्जिलिङकै सबैभन्दा उचाईमा रहेको पर्यटकिय क्षेत्र हो । जब हामी सन्दकपुर पुग्छौं, त्यहाँबाट देखिने अद्भूत हिमशृंखलाको दृश्यले मन फुरुंग हुन्छ । त्यती मात्र कहाँ हो र ? त्यो उचाईबाट देखिने अनन्तसम्मका दृश्यहरुले हाम्रो आँखालाई लोभ्याइरहन्छ ।

आफु उभिएको भूगोलको सतहभन्दा तल देखिने सूर्योदय र सूर्योअस्तको दृश्य कम्ता मोहक लाग्दैन । सन्दकपुर खासमा हिमाली शृंखला, सूर्योदय एवं सूर्योअस्तको दृश्य नियाल्नका लागि उपयुक्त गन्तव्य हो । यद्यपि यो अग्लाईमा पुगेपछि चारैतिर देखिने पहाडका शृंखला, त्यसपछि समतल भूभाग पनि कम्ता आकर्षक लाग्दैन । कुहिरोभन्दा माथिको यो बस्तीमा चिसो स्याँठले हिर्काइरहन्छ । त्यो चिसो स्पर्शले पनि बेग्लै अनुभूति दिलाउँछ ।

सन्दकपुर समुन्द्री सतहबाट ३६ सय ३६ मिटरको उचाईमा रहेको छ । यो माइखोलाको उद्गम थलो मानिन्छ । जैविक विविधताको हिसाबले समृद्ध पनि । यहाँ रेड पान्डा जस्ता दुर्लभ बन्यजन्तु संरक्षित छ । यत्तिका लेकमा अनेकन जडिबुटी त हुने नै भयो ।

यत्तिको संवेदनशिल र रमणिय स्थललाई एक हिसाबले भने भारतले कब्जा जमाएको छ । भारततर्फ व्यवस्थित होटल, लज सञ्चालन गरिएको छ । भारततर्फकै बाटो प्रयोग गर्दै पर्यटकहरु त्यहाँ पुग्छन् । भारतकै ट्राभल एजेन्सीमार्फत । अर्कोतिर भारतले नै आफ्नोतर्फका क्षेत्रलाई संरक्षित गरेर राखेको छ, बन्यजन्तु आरक्षणका लागि । सिंहलिला नेशनल पार्क अन्र्तगत भारतले आफ्नोतर्फको भूभागलाई सुरक्षित र संरक्षित गरेको छ । जबकि नेपालतर्फ भने उजाड देखिन्छ ।

सन्दकपुरको चुचुरोमा टेकेर भारततर्फ हेर्दा हराभरा देखिन्छ भने नेपालतर्फ उराठलाग्दो देखिन्छ ।

कुनैबेला त यहाँसम्म पुग्ने बाटो पनि भारतर्फको थियो । अहिले भने नेपालबाट पनि सन्दकपुरसम्म पुग्ने कच्ची सडक निर्माण गरिएको छ । इलाम बजारबाट ३६ किलोमिटरको दूरीमा छ सन्दकपुर । इलामबजारबाट सन्दकपुर पुग्नका लागि दुईवटा बाटो छ ।

बरबोटे हुँदै माबुबाट सन्दकपुरसम्म यात्रा गर्न सकिन्छ । यो बाटो छोटो छ । अर्को बाटो जसबीरे, माइपोखरी, टोड्के झरना हुँदै वा माइमझुवा हुँदै पनि पुग्न सकिन्छ । यो बाटो लामो र घुमाउरो छ । यद्यपि त्यहाँबाट यात्रा गर्दा माइपोखरी र टोड्के झरनाको अवलोकन गर्न सकिन्छ ।

अहिले सन्दकपुर गाउँपालिका अन्तर्गत नै सन्दकपुर, माइपोखरी, टोड्के झरनालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पहल भइरहेको छ । सन्दकपुर गाउँपालिकाले सडकको स्तरोन्नती गर्नेदेखि स्थायनिय क्षेत्रमा व्यवस्थित बसोबासको मेलोमेसो मिलाउनेसम्ममा जाँगर चलाएको छ ।

हुन त मुलुकले अहिले भ्रमण बर्षको तयारी गरिरहेको छ । २० लाख पर्यटक भित्र्याउने हल्ला पनि गरिरहेको छ । जबकि यसका लागि आवश्यक पूर्वाधार र तयारी कस्तो छ भने स्थलगत अध्ययन गरेको छैन । काठमाडौंको कुनै वाताअनुकुलित कोठामा बसेर यति पर्यटक भित्र्याउने, यसरी भित्र्याउने भन्दै सपना बाढ्नुभन्दा पर्यटकिय क्षेत्रको विकास र आवश्यक तयारीमा ध्यान दिए पो सार्थकता मिल्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment