Comments Add Comment

राज्यमन्त्री बन्न छोराले रोक्यो, श्रीमतीले साथ दिइन् : दुगड

राज्यमन्त्रीको पदभार ग्रहण गर्दै मोती दुगड ।

८ मंसिर, विराटनगर । उद्योगी मोती दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । नेकपालाई सहयोग गरेकै आधारमा राज्यमन्त्री बनेका दुगडमाथि श्रम र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा असहयोग गरेको आरोप छ ।

राज्यमन्त्री दुगडले भने आफूलाई मन्त्री बन्न छोराले रोकेको तर श्रीमतीले साथ दिएको सुनाएका छन् । शनिबार विराटनगर आएका दुगडले उद्योगी व्यावसायीबाट स्वागत ग्रहण गर्दै श्रीमतीकै कारण मन्त्री बन्न सहज भएको बताए । ‘मैले मेरो छोरालाई लण्डनमा फोन गरेर मन्त्री बन्दैछु भनेँ । छोराले पापा मत बनिए, मन्त्री बनजाएगे तो इतना प्रोजेक्ट हे सारा कौन देखेगा भन्यो,’ उनले सुनाए । ‘मैले मेरो श्रीमतीलाई सोधेँ । ऊ पनि के गरौं, के नगरौं भने जस्तो थियो’ उनले अघि भने, मैले तिम्रो जिम्मेवारी बढ्छ भनेँ । मेरो स्ट्रेन्थ उहाँ हो । उहाँले फाइनली तपाईं (मन्त्री) बन्नुहोस् म सबकुछ हेरिहाल्छु ।’

अब निजी क्षेत्रलाई हेर्छु

राज्यमन्त्री दुगडले देश विकासका निम्ति काम गर्ने बताए । समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई सुखी नबनाई सम्भव नहुने राज्यमन्त्री दुगडले सुनाए ।

‘हाम्रो पीडा अरुलाई बुझाउन सक्दैनौं या बुझ्न चाहँदैनन्’, उनले भने, ‘म नयाँ अनुहार । धेरैलाई डाइजेस्ट हुन्छ । म आएपछि देशभरी आशाको सञ्चार देखिएको छ । हरेकले म्यासेज पठाएका छन्, नेपालको जीत हो भनेर ।’

इमान्दार र भिजन भएका कारण ठूलो च्यालेन्ज लिएर सरकारमा सहभागी भएको उनले सुनाए । ‘डमी भएर बस्नका लागि कुर्सी लिएको होइन । मेरा ठुलठूलो जिम्मेवारी छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले दिनुभएको अभिभारा पूरा गर्नु छ ।’

आफू असफल भए भोलिका दिनमा निजी क्षेत्रका मानिस ठूलो पदमा पुग्न गाह्रो हुने उनले बताए । ‘मलाई सफल हुनुछ, म सफल उद्योगी हुँ’, राज्यमन्त्री दुगडले भने, ‘धेरैलाई कौतुहल होला कति दिन चलाउँछन् भनेर । म हरेक दिन आज मेरो अन्तिम दिन हो, आज केही गर्नु छ भनेर आफैंलाई जस्टिफाइ गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment