Comments Add Comment

‘अनौठो जहाज’को वास्तविकता : यसकारण देखिन्छ पुच्छरजस्तो आकृति

८ मंसिर, काठमाडौं । शनिबार एक जहाजले काठमाडौंको आकासमा धुवाँ फाल्दै उड्यो । कतिपयले यसलाई अनौठो मानेर हेरे भने केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो ।

यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरेका छन् । तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो ।

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनका अनुसार आकासमा यसरी देखिने जहाजको पुच्छरजस्तो आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ ।

हरेक जहाज इन्जिनको सहायतामा उड्छ । जहाजको इन्जिन पनि गाडीको इन्जिनजस्तै इन्धनको सहायतामा चल्छ र धुँवा निस्कन्छ । सामान्यतया तातो हावा रहेको आकासमा उडिरहँदा वा जमीनबाट नजिक उड्दा धुँवा देखिदैन ।

तर, जति माथि जहाज गयो, त्यति नै वातावरण चिसो हुँदै जान्छ । वरिष्ठ क्याप्टेन ज्वार्चनका अनुसार प्रति १ हजार फिट उचाइमा २ डिग्री तापक्रम घट्छ ।

लामो दूरीमा यात्रा गर्ने जहाजहरु ३५ हजार फिटसम्मको उचाइमा उड्छन् । नेपालमा आन्तरिक जहाजहरु १ हजारदेखि १७ हजार फिटसम्मको उचाइमा मात्र उड्ने गर्छन् । काठमाडौंमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय जहाज पनि नेपालमा छिर्दा तल झरिसकेका हुन्छन् ।

‘काठमाडौंमा अवतरण नगर्ने तर नेपालको आकास हुँदै उड्ने अन्तर्राष्ट्रिय उडानका जहाजले चाहिँ धुवाँ फाल्दा कलात्मक आकृति देखिने गर्छ,’ ज्वार्चनले भने ।

जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ । जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ । यही आकृतिलाई धेरैले अनौठो जहाज, जासुस जहाज वा लडाकु जहाजका रुपमा चित्रण गर्छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालको आकाश अहिले भूटानबाट दिल्लीका लागि उड्ने जहाजले पनि प्रयोग गर्छन् । ती जहाजले काठमाडौं टावरलाई आफू नेपालको आकासमा उडिरहेको जानकारी गराउँछन् ।

नेपाल नागरिक उडेडयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपाली आकासमा उड्ने सबै जहाजको रेकर्ड काठमाडौं टावरलाई थाहा हुने बताए । नेपालको अनुमतिबिना कुनै पनि जहाज नेपाली आकाशमा छिर्न नपाउने उनको भनाइ छ ।

काठमाडौंको उचाई समुद्र सतहबाट ४ हजार फिट रहेको छ । काठमाडौंको तापक्रम २० डिग्री छ भने ३५ हजार फिट उचाइमा तापक्रम -४२ डिग्रिसम्म पुगेको हुन्छ । जमीनबाट ८/९ किलोमिटर माथि उचाइमा उड्दा त्यहाँको वातावरणको प्रतिक्रियाले देखिने आकृतिलाई जासुस वा लडाकु विमान भन्दै भ्रम पर्ने गरेको छ ।

अमेरिकी स्पेस एजेन्सी (नासा)ले उल्लेख गरेअनुसार पहिलोपटक सन् १९२० मा यस प्रकारको बादल आकासमा देखिएको थियो ।  सामान्यतया आकास खुला भएको समयमा यस्तो दृष्य देखिने गरेको छ । विश्वभर दैनिक ९० हजार उडान हाइअल्टिच्यूडमा हुने अनुमान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment