Comments Add Comment

भ्वाइसका ड्राकुल : मनमौजी तर मधुर

८ मंसिर, काठमाडौं । गीतमा दाँतको सौन्दर्यको बखान यसरी गरिन्छ, ‘मिलेका ती दाँतका पंक्ति ।’

साहित्यमा मोहक दाँतलाई ‘अनारका दानाजस्ता’ लेखिन्छ । तर सञ्जय महतले मिलेका दाँतमा दाह्रा थपेका छन् । नजिकबाट हेर्दा अनौठो र डरलाग्दा देखिन्छन् ।

यो अरुको हेराइ भो । उनको हेराइमा उनी डरलाग्दा छैनन् । अरुले कस्तो देख्छन् ? त्यसमा कुनै मतलब पनि छैन ।

सञ्जयको अडान छ, ‘पहिला त आफ्नो भावनालाई सुन्नुपर्छ, आफ्नो मनलाई सुन्नुपर्छ ।’

फिल्म ‘कन्यादान’को गीत नै छ नि, ‘दुनियाँलाई टाढा छोड, आफ्नै मनलाई सोध ।’

यसको अर्थ सञ्जय आफैंमा मनमग्न छन् । अरुलाई हेरेर उनी आफ्नो धारणा बनाउँदैनन्, न रुपरंग । आफ्नो मनले जे भन्छ, त्यही गर्छ । मनमौजी ।

भेम्पायर लुक

सञ्जयले आफूलाई ‘भेम्पायर लुक’मा रुपान्तरण गर्न खोजेका हुन् । भेम्पायर, जो आलो रगत चुस्छन् । तर, यो एक मिथ हो ।

सञ्जय भन्छन्, ‘सानैदेखि भेम्पायर मुभी हेर्थें । त्यहीबेला मलाई यस्तो दाह्रा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ कति ठाउँमा गएर सञ्जयले दाह्रा बनाउन चाहे, तर उनले खोजेजस्तो दाह्रा भेटिएन । आफैंले दाह्रा बनाए । लगाए । सुरुमा परिवारका सदस्य झस्किए, त्यसपछि साथीभाइ । अहिले परिवारले पचाइसक्यो, साथीभाइ अभ्यस्त भइसके । तर, पहिलोपटक भेट्नेले उनको दाँतमा अनौठो दृष्टि लगाउँछन् र निधार खुम्च्याउँदै सोध्छन्, ‘के गरेको यो ?’

उनी मौन जवाफ दिन्छन्, मुसुक्क हाँसेर । ‘हामी यस्तै त हो नि ब्रो’ शैलीमा ।

यो पनि पढ्नुहोस विकास लिम्बु : गाउँको स्टेज नपाएको झोँकले खारिएको आवाज

ओठमा पियरसिङ गरेका छन् । लामो कपाल पालेका छन् । झट्ट हेर्दा अनौठो हुलिया बनाएका छन्, सञ्जयले । अलिकति डरलाग्दो पनि । तर, भन्छन्, ‘पहिलो पटक भेट्नेहरुले के गरेको होला भनेर झस्कन्छन् । तर, लुक यस्तो हुँदैमा मान्छे पनि त्यस्तै हुँदैन नि ।’

अन्तर्मुखी सञ्जय

हुलिया भेम्पायरको जस्तो । उनले नामको माझमा उपनाम घुसाएका छन्, ड्राकुल ।

तर सञ्जय अन्तर्मुखी छन् । धेरै बोल्दैनन् । ‘सानो छँदा प्राय एक्लै बस्न रुचाउँथे’ सञ्जय सुनाउँछन्, ‘अरुसँग बोल्ने, हेलमेल गर्ने बानी नै भएन ।’

यो पनि पढ्नुहोस याङ्की यल्मो : दार्जीलिङकी रकिङ लेडी

उनी क्रुर छैनन्, कोमल छन् । भावुक पनि । उनी चाँडै पग्लन्छन् । सम्भवत यही प्रवृत्तिले उनलाई गीत–संगीतमा तान्यो । उनले जीवनलाई संगीतमय बनाउने लक्ष्य लिए ।

पछिल्लो समय सञ्जय विभिन्न लाउन्जमा रात्रीकालीन पाहुनाका लागि गीत सुनाउँथे । यसमा उनको अलिकति रहर र अलिकति व्यवसाय मिसिएको थियो । लाउन्जमा गाएरै उनी केही पैसा जोहो पनि गर्थे । उनीसँगै गिटारिस्ट पनि थिए ।

दुई जनाले नै हरेकजसो साँझ कुनै न कुनै लाउन्जमा गीत घन्काइरहेको हुन्थ्यो । खासगरी अंग्रेजी गीत ।

गायनको धङधङी

उनी सात कक्षामा पढ्दै थिए । त्यसबेला विद्यालयमा एक सांगीतिक प्रतियोगिता आयोजना गरियो । सञ्जयले प्रतियोगिताका लागि प्रयास गरे, तर सफल भएनन् ।

त्यसपछि उनलाई खल्लो लाग्यो, ‘सायद म गाउन सक्नेछैन ।’ यद्यपि गाउन भने छाडेनन्, भलै एकान्त कोठामा नै किन नहोस् । घरको कोठामा वा एक्लै हुँदा उनी गीत गाइरहेकै हुन्थे । कक्षा १० मा पुगेपछि विद्यालयमा एउटा सांगीतिक कार्यक्रम आयोजना गरियो । उनले गाउनेको सूचीमा आफ्नो नाम लेखाए । मञ्चमा उक्लिए । खुट्टा काँपिरहेकै थियो । मनमा डरले डेरा जमाएकै थियो । तैपनि उनले आफ्नोतर्फबाट राम्रो गाउने प्रयास गरे ।

जीवनकै पहिलो स्टेज प्रस्तुति सम्झनलायक रह्यो । दौतरी, शिक्षक सबैले तारिफ गर्दै भने, ‘तिमीले राम्रो गायौ ।’ यसपछि उनीभित्रको गायकी अरु फक्रदै गयो ।’

गायनमा उनले औपचारिक शिक्षा लिएनन् । कुनै संगीत विद्यालय धाएनन् । बरु आफैंलाई असहज लाग्ने गीतहरुको अभ्यास गरिरहे । यसरी आफ्नो स्वरलाई माझ्दै गए । संगीतको लय सम्हाल्दै गए । पढाइको लय भने छुट्यो ।

यो पनि पढ्नुहोस मलाई यति नै काफी छ !

घर–परिवार चाहँदैनथे, सञ्जय संगीतमा लागोस् । किनभने यो सुरक्षित क्षेत्र होइन । उनीहरुको बुझाइ यस्तै थियो । तर, सञ्जय संगीतबाट अन्यत्र मोडिन सकेनन् वा चाहेनन् । उनी यसलाई मूलबाटो बनाएर दौडिरहे । अन्ततः एउटा यस्तो मोड आइपुग्यो, जहाँ उनका घर–परिवार सहमत भए । स्वीकारे र साथ दिए ।

ट्याटु आर्टिस्ट पनि

सञ्जय गाउँदैनन् मात्र, ट्याटु खोप्छन् । पियरसिङ गर्छन् । नक्कली दाँत बनाउँछन् । गायन भन्दा अलग क्षेत्रमा पनि उनले आफूलाई चलायमान बनाएका छन् ।

तर, यी सबै काम र आफूले गाउने संगीतको विधा उस्तो–उस्तै लाग्छ उनलाई । दुबै रचनात्मक क्षेत्र पनि । सबैभन्दा बढी भने उनी गीत–संगीतमा ढल्किएका छन् ।

सानै उमेरदेखि नै गायनमा रुची जागेको उनी बताउँछन् । ‘बच्चा बेलादेखि नै गीत गाउन मन पराउने’ सञ्जय सम्झन्छन्, ‘तर, खुलेर गाउने स्वाभाव थिएन ।’

साथीको करकापमा अडिसन

सञ्जय त्यति खुल्न चाहँदैनन् । उनी आफैंलाई लुकाउँछन् । तर समकक्षीलाई थाहा छ, ‘सञ्जय राम्रो गाउँछ । गायनमा विछट्टै लगाव छ ।’

सञ्जय गीत–संगीतमा हुरुक्कै छन् भन्ने लागेपछि हो, साथीहरुले सांगीतिक रियलिटी शो ‘भ्वाइस अफ नेपाल’मा भाग लिन लगाएको । ‘मलाई त त्यति चासो थिएन’ सञ्जय भन्छन्, ‘साथीहरुले त्यसमा तिमी पनि जानुपर्छ भनेर कर गरेपछि अडिसन दिएको हो ।’

साथीकै मन राख्न उनले ‘वान टेक’मै गीत रेकर्ड गरेर डिजिटल अडिसन दिए । उनको स्वर रुचाइयो । आयोजकले ब्लाइन्ड अडिसनको लागि निम्तो गरे । ‘ब्लाइन्ड अडिसनमा पनि मैले राम्रो हुन्छ होला भनेर सोचेको थिइन’ सञ्जय भन्छन्, ‘तर सबै कोचले रुचाइदिनुभयो ।’ सञ्जयले ब्लाइन्ड अडिसनमा ‘चौबन्दी चोलो’ गाएका थिए, जसले चार जना निर्णयक दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा, आस्था राउतको कुर्सी आफूतर्फ मोड्न सफल भयो ।

यो पनि पढ्नुहोस द भ्वाइस अफ बलबहादुर !

जबकी उनले यति धेरै अपेक्षा गरेका थिएनन् । हुन त उनी निर्धक्क थिए । किनभने यसअघि पनि उनले भीडमा उभिएर थुप्रै पटक गाइसकेका थिए । त्यही अनुभवले उनलाई हच्किन दिएन । यसरी भ्वाइस अफ नेपालको सुखद यात्रा सुरु गरे सञ्जयले ।

त्यसपछि भने उनकोे यात्रा अविछिन्न अगाडि बढ्यो र शनिबार शीर्ष ८ मा पर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment