सग्लै रहेर जिन्दगी चलिरहेको बेला थोरै हलचल गर्नपनि ह्विलचियर खोज्नुपर्ने अवस्था आयो भने के सोँच्ला मान्छे… ?
जिन्दगीको रस सकियो, बिना रस गुदीको के काम ?
मैले सोचेको जीवन ?
मेरो अबको यात्रा ?’
मसँग प्रश्न मात्र थिए र साथमा प्रश्नलाई मलजल गर्ने समाज । मलाई ढाडस चाहिएका बेला ठीक उल्टो सहानुभूति थप्ने मानिसहरु मात्रै म वरपर झुम्मिन्थेँ ।
‘यो उमेरमा हृविलचियर ?’
‘ट्वाइलेट गर्न त गाह्रो हुन्छ होला है ?
‘बिचरा… भाग्यले नठगेको भए यो केटोले चाहीँ केही गर्थ्यो …।’
मलाई हेर्ने दृष्टिहरु यस्तै थिए ।
दिन फरक हुन्थ्यो प्रश्न उही हुन्थे, प्रश्नले दिने पीडा उही । लाग्थ्यो जिन्दगी जिउने आधार सकियो । आधार हुन्थ्यो भने म किन बिचरा हुँदो हुँ ? मस्तिष्कमा खिल बनेर गढिसकेको यस्तै सोचले दिनहुँ पीडा दिन्थ्यो । ‘अब केही गर्नै सक्दिनँ’ भन्ने मनस्थितिले थलिँदै गएको थिएँ । त्यस्तोबेला हिम्मत दिनेभन्दा हिम्मत दिए जसरी निरुत्साहित गर्नेहरुको कुराले विशेष छुने रहेछ ।
भिडमा एक्लिन्थें ! विरक्तिन्थेँ… । आफैसँग गुनासो त कति हो कति ।
तोकिएको विश्वव्यापी समय र त्यसको आफ्नै नियम भएपनि हरेक मान्छेको आ-आफ्नै समय हुँदोरहेछ । मलाई मेरो भागको समय निकै सुस्त चलेको महसुस हुन्थ्यो । समय कटाउन कहिले गीत सुन्थें त कहिले पुस्तकहरु पनि पढ्थेँ । अझ भनौं, मानिसको संगतभन्दा किताबको संगत प्रिय लाग्थ्यो । किताब पढ्दा मैले देखेको सुनेको भन्दा फरक दुनियाँमा पुग्थेँ । क्षणिक नै सही, तर मन खुशी हुन्थ्यो ।
‘सबै मानिसहरु अस्तित्वगत रुपमा बिमार छन् ।’
यो मलाई एउटा पुस्तक (जसको नाम बिर्सिएँ)ले दिएको ज्ञान थियो ।
किताब पढेपछि बुझेँ, ‘कोही आफूलाई ठिकठाक ठान्छ भने केवल दुइटा कुराको सम्भावना हुन्छ । एक, या त उ भ्रममा छ । दुई, या त उसको मुख र मलद्वार छैन ।’
किताबमा लेखिएको थियो, ‘यो दुनियाँमा जसको मुख र मलद्वार हुँदैन, उ मात्रै हरदम सुखी र ठिकठाक हुन्छ ।’
अनि महसुस गरेँ, ‘दुःखका बेला केही मान्छे सहानुभूति दिन तम्सिन्छन् । तर, उनीहरु अरुलाई सहानुभूति दिएर स्वयं भने आत्मरतिमा डुब्छन् । खासमा उनीहरु सहानुभूतिको रुपमा नुनचूक बोकेर आएका हुन्छन्, र त्यसलाई तपाईंको घाउमा छरेर मजा लिन्छन् ।’
…यत्ति कुरा महसुस गर्न मलाई वर्षौं लाग्यो । अनेक कष्ट र हण्डर खानु पर्यो । यो कुरा मैले १४ वर्ष अगाडि बुझेको भए कत्ति सुखी हुन्थेँ होला । अनेक मानसिक तनावको सिकार हुनुपर्दैनथ्यो कि सायद…। तर, तितो होस् या मिठो, आखिर भोगाई त भोगाई हो । र, त जिन्दगी…।
बनेपास्थित ‘चिया स्टेशन’मा बसेर आफ्नो विगत सुनाइरहँदा प्रवेश शर्मा भावुक छन् । उनले सुनाइरहेको विगत कुनै चलचित्रको ‘प्लट’ भन्दा कम लाग्दैन्। आफूलाई कथाको पात्रझै ठान्ने उनी एउटै जीवनमा धेरै जीवन बाँचेको सुनाउँछन् । आफ्नो जिन्दगीमा धेरै कथा लुकेको महसुस गरेको बताउँदै भन्छन्, ‘जिन्दगीको उतारचढाव भोग्दा त कुनै दुखिया पात्रको अभिनय गरेकोझै पो लाग्छ…।’
पीडामा गुम्सिरहेका बेला उनी कसैले हिम्मत देओस् भन्ने चाहन्थे । कसैले आत्मबल दिए केही गर्न सकिन्छ कि भन्ने आशा राख्थे । तर सहानुभूतिका तिखो वाण खप्न नसकेर भित्रभित्रै मर्दै गइरहेका थिए । त्यही बेला उनलाई जगाउन किताब ‘सञ्जिवनी बुटी’ सावित भयो ।
‘केही गर्न सक्दिनँ…’ भनेर मनमा गढेको खिल त्यही किताबले निकालिदियो । उनकै शब्दमा भन्दा ‘हृदयको चक्षु’ खुलायो । आफूसँग नभएको कुराको बारेमा अत्याधिक सोचेर आफूसँग भएको कुरा बर्बाद गर्न नहुने आत्मज्ञान पाए । अर्थात, आफ्नो अवस्थालाई स्विकार गरे ।
यो कथा उनै प्रवेश शर्माको हो ।
हृविलचियर प्रयोगकर्ता उनी मात्र २८ वर्षका छन् । उनको अनुसार असली जिन्दगी बाँचेको ५ महिना मात्रै भएको छ । अहिले उनको परिचयमा चिया साहुजी पनि थपिएको छ ।
१४ वर्षअघि…
त्यतिबेला उनी कक्षा ८ को अब्बल विद्यार्थी थिए । शिक्षकहरुले भविश्यमा के बन्ने भनेर सोध्दा जोस्सिदै ‘आर्मी बन्छु सर..’ भन्थे ।
त्यो सपना देख्ने अनी मलजल गर्ने उमेर थियो । सपनाअनुसार भविश्यलाई दिशा दिने ‘तयारी’ उमेर थियो । त्यतिबेला जिन्दगीको यो यात्रामा अवरोध होला भन्ने कल्पना थिएन । तर, त्यस्तै आइलाग्यो । उनी एकाएक बिरामी परे । बान्ता आउँथ्यो, हातगोडा बाउँडिन्थ्यो । शरीरमा अत्यधिक पसिना आउँदा आउँदै घाटी भन्दा तलका शरीरका अंगहरु चल्न छाडे । खेल्ने उफ्रिने र दौडने केटो एकाएक चलमलाउन नसक्ने भयो । त्यो बेला अत्तालिँदै अस्पताल चहार्नेबाहेक अरु उपाय थिएन । धेरै कष्ट झेलिसकेपछि अन्ततः काठमाडौ मोडल अस्पतालले स्पाइनल कर्डमा ट्युमर पलाएको पत्ता लगायो ।
डाक्टरले एमआरआई रिपोर्ट हेर्दै भने, ‘५ महिनाअघि यहाँ आइपुगेको भए ट्युमर पुरै फैलन पाउँदैनथ्यो ।’
अपरेशन गरेर ट्युमर फाल्नासाथ खुट्टा चल्न छाड्यो । लगत्तै काभ्रे साँगास्थित स्पाइनल इञ्जुरी तथा पुनर्स्थापना केन्द्रमा फिजियोथेरापी गर्न भर्ना भए । त्यहाँ उनीभन्दा बढी विरामी मानिसहरु पनि फिजियोथेरापी गराइरहेका थिए । त्यो देख्दा कम्तीमा म यत्तिको त छु भनेर मन बुझाउँथे । तर आफ्नो कथा अरुको भन्दा पहाड नै लाग्थ्यो ।
म अब जिन्दगीभर हिँड्न सक्ने भइनँ भने ?
यो अवस्थामा साथीभाइले देखे भने के भन्लान् ?
म त सप्पै भन्दा कमजोर भएँ, यस्तो मान्छे बाँचेर के काम ?
हरबखत आइरहने यस्तै प्रश्नले दिमाग घुमाउँथ्यो । डाँको छाडेर रुन्थे । रुन बाहेक गर्न सक्ने पनि केही थिएन । ६ महिना पुनर्स्थापना केन्द्रमा बसेर घर फर्किँदाको क्षण सोचेभन्दा सकसपूर्ण थियो । सबैले ट्वाल पेरेर आफूतिर पर्दा नरमाइलो महशुस हुन्थ्यो । ‘सम्हालिनु पर्छ…’ भन्ने थाहा भएपनि आँशु रोकिएका थिएन ।
‘जिन्दगीभर हिँड्न नसक्ने हो कि’ भनेर डरमा दिन बितिरहेको बेला लौरो टेकेर हिँड्न सक्ने भए । आर्मी बन्ने सपना त्यही बिन्दुबाट तुहियो ।
त्यो दिन सम्झदै भन्छन्, ‘आफ्नो सपनाको मलामी जानुजत्तिको पीडादायी क्षण के होला र ?’
सपनाको अन्त्य हुँदैमा जीवन कहाँ सकिन्थ्यो र ? दैनिकी फेरि सुरु हुन थाल्यो । पहिलेभन्दा फरक शारीरिक अवस्थाका बाबजुद स्कुल छाडेनन् । हरेक दिन सहानुभूतिका कुराहरु सुन्नु पर्दा मन दुखेर ‘स्कूल छाडूँ’ नभएको होइन, तर अर्को विकल्प र बाटो देखेकै थिएनन् । अन्योलका साथ दैनिकी चलिरहेको थियो ।
साथीभाइ देख्दा खेल्ने मन हुन्थ्यो, तर बोल्नका लागि समेत साथी हुँदैनथे । अरु भन्दा भिन्न भएकै कारण भीडमा पनि एक्ला थिए । चाडपर्वमा पारिवारिक जमघटको फोटो खिचाउँदा ‘लौरो नदेखिओस्’ भनेर लुकाउथेँ । आफ्नो यथार्थ स्वीकार गर्न मनले मानिरहेको नै थिएन ।
१४ वर्षको उमेर । आधा शरीर नचल्ने । नरोएको दिन हुन्थेन । त्यो उमेरमा धेरै सोच्ने भइसकेका थिएनन् । ‘सबै साथीहरुभन्दा कमजोर भएँ’ भन्ने सोचले सताइरहन्थ्यो । यसैगरि मनमा अनेक भावना गुम्साएरै जिन्दगीका १० वर्ष बिताए ।
जिन्दगी एकनासले कहाँ चल्थ्यो र ? २४ वर्षको उमेरमा पुरानै नियती दोहोरियो । प्यारालाइसिसले पुरै शरीर चल्न छाड्यो । लौरो टेकरै हिड्ने उनी एकाएक थला पारे ।
अस्पताल पुग्दा डाक्टरले चकित पर्दै भने, ‘अहो ट्युमर फेरि पलाएछ..।’
१० वर्षअघि डाक्टरले भनेका थिए, ‘नअत्तालिनु यो ‘ग्रेड वान ट्युमर’ हो ।’
चिकित्सकहरुकाअनुसार ग्रेड वान ट्युमर एक पटक काटेर फाल्दा फेरि फलाउँदैन । ग्रेड टु र थ्री ट्युमरमा क्यान्सर फैलिइसक्छ । प्रवेशको ट्युमर ‘गेड वान’ भएकाले डराउनुपर्ने स्थिति थिएन । तर, उनको हकमा ट्युमर पनि अपवाद भयो । फेरि ट्युमर पुरै काटेर फाल्दा शरीर प्यालाइसिस हुने खतरा रहेको भन्दै चिकित्सकले आधा मात्रै काटे । ६ महिना पुनर्स्थापना बसेपछि उनी फेरि लौरो टेकेर हिड्न सक्ने भए ।
दोस्रो पटक ट्युमर अपरेशन गर्दा उनी बीबीए चौथो वर्षको अन्तिम सेमेस्टर पढ्दै थिए । त्यसअघिसम्म कुनै जागिर गर्न सकिएला कि भन्ने आशा थियो । दोस्रोपटक पुनर्स्थापना केन्द्रमा बस्दा जागिर गर्न सक्छु भन्ने आत्मविश्वास शुन्यमा झर्यो । भविश्यको चिन्ताकै कारण पहिलेभन्दा बढी पीडित भए ।
‘सधैं बिचराको पात्र भएर कतिञ्जेल बाँच्नु ?’ मन मिल्ने दौतरीहरुसँग मनको बह पोख्थे, ‘आफ्नो खुट्टामा उभिन नदिई रोगले एकै ठाउँमा थला पार्ला जस्तो छ । यो सकसमा कसरी जिन्दगी काट्नू ….?’
साथीहरु भन्थे, ‘हरेश नखाउ तिमी जे पनि सक्छौ, हामी साथ दिन्छौं ।’
मन मष्तिष्क बेचैन रहेको बेला साथीहरुको सान्त्वना बालुवामा पानी खन्याएझै हुन्थ्यो ।
सन् २०१७ मा फेरि उनी पहिलेझै हलचल गर्न नसक्ने अवस्थामा पुगे । तेस्रो पटक ट्युमर निकाल्न असम्भव जस्तै थियो ।
एकपछि अर्को पीडा भोगिरहेका उनलाई चिकित्सकहरुले सल्लाह दिए, ‘ट्युमरलाई रेडियसन प्रविधीबाट उपचार गर्यो भने केही सुधार गर्न सकिन्छ, तर निश्चिन्त हुन सकिन्न ।’
नेपाल क्यान्सर अस्पतालमा ४५ दिन लगाएर ट्युमर हटाइयो । ३ महिना पुनर्स्थापना केन्द्र बसे । फर्कदा उनी पहिलेजस्तै लौरो टेकेर हिँड्न सक्थे । घरको भर्याङ तलमाथि गर्थे । खाना पकाउँथे । आफ्नो लुगा आफैं धुन्थे पनि । यस्तै रहेछ जिन्दगी भनेर लौरोको यथार्थ स्विकार्ने मनस्थितिमा पुगिसकेका थिए । लौरो टेकेरै भएपनि जागिर खाने पुराना सपना ब्यूँतने थालेको थियो ।
नियति सोचेभन्दा अलग हुदो रहेछ । ‘हुने सबैथोक गरिसकें अब त ठीक हुन्छु कि’ भन्नेबेला फेरी असहज परिस्थिति सिर्जना हुँदै गयो । हातगोडा चल्ने क्रम क्रमश बन्द हुन थाले । त्यसपछि भारतको इण्डियन स्पाइनल इञ्जुरी सेन्टर र मेदान्त अस्पताल गए । त्यहाँ नेपाली अस्पतालमा गरेको रिपोर्टहरु केही नचल्ने रहेछ । दुई फरक अस्पतालमा थरिथरि जाँचहरु गराए ।
र, चिकित्सकहरुले निष्कर्ष सुनाए, ‘तत्कालका लागि कुनै विकल्प छैन ।’
यो उनको जीवनकै पीडादायी क्षण थियो । एकछिन विश्वासै लागेन । मेडिकल साइन्सले यत्रो फड्को मारिसक्दा पनि धेरै थरिका उपचार असम्भव ! भन्ने भयो, तर यथार्थ यही थियो ।
उनलाई लाग्यो, अब जिन्दगीभर हृविलचियरमा बस्नुपर्छ ।
लौरोको यथार्थ स्वीकार्न नसकिरहेका बेलामा हृविलचियर ?
सोच्दा मात्रै रिंगटा चल्यो । ज्यान सिरिङ्ग भयो । पुराना दिनहरु आखाँभरि नाच्न थाले । विगत र भविश्य सम्झिएर भक्कानिए।
अनि सम्झिए समाज । समाजका वचन र व्यवहार । त्यसपछि त झन बाँच्नै मन लागेन ।
विकल्प के त ?
मनले भन्यो, ‘मृत्यु ।’
मष्तिष्कले भन्यो, ‘कातर ! यत्रो सहेर त बाँचिस् । अब किन मर्छस् ?’
यस्तै तर्कनाहरुकै कारण रातभर निदाउन सकेनन् । घरबाट कतै बाहिर निस्कने हिम्मत जुटेन । उनी जिन्दगीका पछिल्ला १४ वर्षको भन्दा पीडादायी परिस्थिति झेलिरहेका थिए ।
घरिघरि लागिरहन्थ्यो, ‘जिन्दगी बाँच्दैछु कि समय काट्दैछु ?’
त्यतिबेला त हो उनी किताबको संगतमा परेको । किताबको संगतमा नपरेको भए अहिले कुनै कुनामा विरक्तिरहेका हुन्थे । जिन्दगीसँग गुनासो गर्दै आफैलाई धिक्कारिइरहेका हुन्थे । साथीभाइ परिवारका लागि बोझ पनि बन्न सक्थे सायद !
किताबकै प्रभावको कारण अहिले आफ्नो यथार्थ आफैंले नस्वीकारेसम्म समाज परिवर्तन हुँदैन भन्ने बुझेका छन् । ‘केही गर्न सक्दिनँ’ भन्ने डरलाई पन्छाएर ‘म सक्छु’ भन्ने हो भने जे पनि गर्न सकिने रहेछ भन्ने उदाहरण बनेका छन् ।
‘निराश भएर विरक्तिएर बसिरहँदा जिन्दगी कुनामा थेचारिएरै सकिनेरहेछ’ पुरानो दिन सम्झिदै भन्छन्, ‘दुःख को कथा सुनाएर बस्नुभन्दा केही आँट्नु पर्ने रहेछ ।’
र, अहिले…
बनेपा चार दोबाटो चोकबाट देब्रेपट्टी सय मिटर भित्र छिरेपछि प्रवेशको क्याफे आउँछ । बनेपाकै स्थानीय भएकाले ठाउँबारे परिचित छन् । अहिले उनको दैनिकी त्यहीँ बित्छ । हरेक दिन नयाँ जोश र जाँगरले काम गरिरहन्छन् । उनको लगन उही ८ क्लासको जस्तो छ । नयाँ दैनिकी अझै भन्नुपर्दा अर्को जन्ममा अव्यस्त हुनाले उनलाई पुराना दिनमा घोत्लिने फुर्सद छैन ।
यो अवस्थामा आउनुअघि उनी विश्व बैंक र नेपाल पुनर्निमार्ण प्राधिकरणले दिएको उद्यमशीलता तालिममा सहभागी भएका थिए । केही गर्नैपर्छ भन्ने सोच बनाइरहेका उनलाई त्यो तालिमले व्यावसाय गर्ने अठोठ दियो । किताबको प्रेरणाले तालिमसम्म पुर्याएको थियो भने तालिमले व्यवसाय गर्ने मुड बनाइदियो ।
तालिमबाट फर्कनासाथ घरमा प्रस्ताव राखे, ‘म चिया पसल खोल्छु ।’
विरक्तिएर दिन काटिरहेको छोराको प्रस्तावलाई परिवारले नाई भनेन । भाइ सहयोग गर्न तयार भए । उपचारमा १५/२० लाख खर्चिएका उनले साथीभाइ र नातागोताको माध्यमबाट ५ लाख ऋण जुटाए ।
बनेपामा ठाउँ भेट्नासाथ चिया बनाउने नयाँ अवधारणाको साथ डेकोरेसनहरु गर्न थाले । चिया स्टेशन नाम दिएको उक्त क्याफेमा शौचालयदेखि बस्ने ठाउँसम्म हृविलचियर छिर्छ । गाडीका पुराना टायर र सिसाको प्रयोग गरेर टेबलहरु बनाएका छन् । बासको चोयाको भित्ताहरु बनाउने काम भइरहेको छ ।
चिया पारखीहरुको ‘मिटिङ प्वाइन्ट’ बनाउने उदेश्यले क्याफे सञ्चालन ल्याएको तीन साता मात्र भएको छ । विशेषगरि मट्का चियालाई प्राथमिकतामा राखे पनि खाजाका परिकारहरु पनि राखेका छन् । बनेपामा सफल भए अन्य शहरमा पनि विस्तार योजना छ ।
जिवनका धेरै उतारचढाव भोगेका प्रवेश आफ्नो विगतमा सम्झन चाहदैनन्। दुखदायी क्षणबाट गुज्रिसकेकाले ति दिन सम्झदैँ विरक्तिन मन पनि छैन। निराशा र आशुलाई जिन्दगीमा रातो बत्तीको संकेत दिइसकेका छन्।
अहिले उनीकहाँ आउने केही ग्राहकहरुले सोध्छन्, ‘जीवन के हो ?’
यो प्रश्नको जवाफ दिन उनलाई सधै गाह्रो लाग्छ।
अक्मक्किन्छन्। अनी टक्क रोकिएर भन्छन्, ‘अनुभव…।’
यो बाहके अर्को शब्द झर्दैन मुखबाट। अनी उनका शुभचिन्तकलाई आश्वसन दिन्छन्, ‘मलाई थाहा छ, अझै धेरै संकट पर्नेवाला छ जिन्दगीमा… तर म त्यो सामना गर्न तयार छु।’
तस्वीर र भिडियोः चन्द्र आले/अनलाइनखबर