१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको गत भदौमा बसेको चौथो बैठकले निजी क्षेत्रका संघ–संस्थाबाट भ्रमण वर्ष अवधिभर गर्न सकिने कार्यक्रमको सूची माग्यो । भदौभरिमा कार्यक्रमको सूची संकलन गरी असोज १ मै सम्झौता गर्ने सरकार र भ्रमण वर्ष सचिवालयको तयारी थियो ।
तर, मध्य मंसिर लाग्दा पनि निजी क्षेत्रले अझै कार्यक्रमको सूची सचिवालयलाई बुझाउन सकेका छैनन् । सोमबार मूल आयोजक समितिको बैठकले आगामी ७ दिनभित्र कार्यक्रम ल्याउन पुनः आह्वान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मूल आयोजक समितिमा आबद्ध दर्जनौं संघ–संस्थामध्ये केवल दुई/तीन वटा संघसंस्थासँग मात्र भ्रमण वर्ष सचिवालयले सम्झौता गरेको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) र यातायात व्यवसायी महासंघले मात्र सचिवालयसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छन् ।
यसबीचमा होटेल संघ नेपाल (हान), होमस्टे एशोसिएशन अफ नेपाल, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले भ्रमण वर्षमा दिने छुट योजना सार्वजनिक गरेका छन् । नेपाल एयरलाइन्स र नेपाल आर्मीले भम्रण वर्षको अवधिमा गर्ने प्रवद्र्धनको योजना बाहिर ल्याएका छन् ।
‘भ्रमण वर्षको समितिमै आबद्ध यति धेरै संघसंस्था छन्, तर हामी के गर्दैछौं भन्नेबारे कार्यक्रम नै आएनन्’, मन्त्री भट्टराईले भने, ‘सबै संघ–संस्थाले आफ्नो तर्फबाट के गर्न सकिन्छ, कार्यक्रमको सूची ल्याएर भ्रमण वर्ष सचिवालयसँग सम्झौता गर्नुपर्यो ।’
उनले भ्रमण वर्ष अभियानलाई राष्ट्रिय पर्वका रूपमा लिएर आबद्ध हुन सबैसँग आह्वान समेत गरेका छन् ।
मूल आयोजक समितिको चौथो बैठकसम्म निजी क्षेत्र निकै आक्रामक थियो । सरकारको गति सुस्त भएको भन्दै निजी क्षेत्रका प्रतिनिधि मन्त्री भट्टराई, कार्यक्रम संयोजक सुरज वैद्य र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीसँग निकै आक्रोसित देखिन्थे । भ्रमण वर्ष निकै नजिक आइसक्दा भने स्थिति फेरिएको छ ।
सरकारको तयारी आक्रामक देखिएको छ । सरकार र भ्रमण सचिवालयले निजी क्षेत्रलाई सक्रियतापूर्वक लाग्न आह्वान गरेको छ । तर, त्यसअनुसारको सक्रियता निजी क्षेत्रले देखाएको छैन । निजी क्षेत्रले आलस्य प्रदर्शन गरेको अनुभव सरकारी अधिकारीहरूले गरेका छन् ।
यद्यपि, निजी क्षेत्रले भ्रमण वर्षलाई पूर्णसहयोग गर्ने प्रतिबद्धता भने जनाइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन महासंघ सक्रियतापूर्वक लाग्ने बताए ।
बैंकर्स अध्यक्ष संघका अध्यक्ष पवन गोल्यानले शहरी क्षेत्रमा सार्वजनिक शौचालयको अभाव टड्कारो देखिएको भन्दै संघले त्यसमा योगदान गर्न सक्ने उल्लेख गरे ।
‘हामी भ्रमण वर्ष अवधिका लागि मात्र नभएर, स्थायी प्रकृतिका शौचालय नै बनाउन तयार छौं’, उनले भने ।
होटेल संघ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले काठमाडौंको फोहोर सफा गर्न नियमित अभियान चलाउनुपर्ने र त्यसमा होटेल संघले साथ दिने बताइन् । उनले नेपाली खानाको प्रवद्र्धनमा समेत हानले साथ दिने प्रतिबद्धता जनाइन् ।
चिन्ता काठमाडौंको फोहोर र बाटो
भ्रमण वर्षमा सबैभन्दा ठूलो चिन्ता नै काठमाडौंको फोहोर र बाटोको अवस्था भएको सरकारी निकायले स्वीकार गरेका छन् । गृहसचिव प्रेमबहादुर राईले बञ्चरेडाँडामा निर्माणाधीन डम्पिङ साइट बेलैमा निर्माण नहुने हो भने भ्रमण वर्ष लज्जाको विषय बन्न सक्नेतर्फ सचेत गराए ।
‘काठमाडौंका सडकमा फोहोर थुप्रने अवस्था आयो भने त्यसले पर्यटकमा के सन्देश जाला ?’ उनले भने, ‘अब सरोकारवाला बसौं, बेलैमा यसलाई निचोडमा पुर्याऊँ ।’
काठमाडौंका बाटोघाटो र अन्य पूर्वाधारको अवस्थाले समेत भ्रमण वर्षलाई चुनौती थप्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत काठमाडौंको फोहोर र यहाँका संरचनालाई बेलैमा सुधार गर्न नसके राम्रो सन्देश नजाने उल्लेख गरे । यी दुई समस्या समाधान गर्न पर्यटन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4