Comments Add Comment

तब दाम्पत्य जीवन सुखमय बन्छ

रिया र वरुणको भेट इन्टरनेटमार्फत् भएको हो । सामाजिक सञ्जालमार्फत् भएको दुबैको भेट छोटो समयमै प्रेममा परिवर्तन भयो । त्यसपछि दुबैले विवाह गर्ने निर्णय गरे । तर, उनीहरुको विवाहको बीचमा उनीहरुको जागिर आएको थियो । वास्तवमा, दुबै जना भिन्दा-भिन्दै शहरमा जागिर खान्थे र जागिर परिर्वतन गर्न दुबैलाई कठिन थियो । तर, पनि दुबैले आपसी सहमतिले विवाह गरे र भिन्दा-भिन्दै शहरको बसाईलाई निरन्तरता दिन थाले ।

रिया र वरुणझैं अन्य थुप्रै जोडीहरु जागिर, बृद्ध आमा-बुबाको हेरचाह, पढाई आदि कारणहरुले डिस्टेन्स रिलेशनसिप अर्थात् दुरीको सम्बन्धमा  रहन्छन् । यस्ता विवाहलाई कम्प्युटर म्यारिज भन्न थालिएको छ । अर्थात् यस्ता विवाह जसमा श्रीमान्-श्रीमती अस्थायी रुपले भिन्दै बसोबास गर्छन् र कम्प्युटरको माध्यमले एक-अर्कासँग जोडिन्छन् । लामो दुरीको सम्बन्ध निभाउन अति नै कठिन हुन्छ । स-साना कुराहरुले पनि सम्बन्धमा दुरी ल्याउँछ ।

विवाह भएको केही महिना पछिदेखि नै श्रीमानको भन्दा भिन्दै शहरमा बसोबास गर्न थालेकी अमृताका अनुसार उनीहरुको विवाह भएको १० महिना भइसकेको छ । उनी एउट शहरमा बस्छिन् भने उनका श्रीमान् अर्को शहरमा बस्छन् । अमृता भन्छिन्, ‘विवाहपछि भिन्दा-भिन्दै शहरमा एक्ला-एक्लै बस्न अत्यन्त कठिन हुन्छ । एक-अर्काको अभाव महसुस भइरहन्छ । एक्लोपनको महसुस हुन्छ ।

तर, यो सबै हामीले आफ्नो भविष्यका लागि गरेका हौं भन्ने सोचेर आफूलाई सम्हाल्छौं । कहिलेकाहीँ त स-साना कुरामा  यति ठूलो झगडा हुन्छ, हामी २-३ दिनसम्म कुराकानी नै गर्दैनौं । कहिलेकाहीँ मैले कुनै कुरा सोध्दा उनी मैले जासुसी गरेको सोच्छन् । वास्तवमा यस्तो हुनुको प्रमुख कारण हामी डिस्टेन्स रिलेशनमा आफ्नो भावनाहरुलाई व्यक्त गर्न बिफल हुन्छौं । तर सँगै हुँदा सजिलै आफ्नो भावनालाई व्यक्त गर्न सक्छौं ।’

श्रीमान्-श्रीमतीको सम्बन्धमा दुरीले ठुलो प्रभाव पार्छ । किनभने यो सम्बन्ध अरुभन्दा धेरै संवेदनशील र अन्य सम्बन्धभन्दा भिन्दै हुन्छ । हामी भाइ बहिनी, आमबुबासँग सजिलै टाढा रहन सक्छौं । तर, श्रीमान्-श्रीमती केवल भावनात्मक मात्र नभई शारीरिक रुपले पनि एक-अर्कासँग जोडिएका हुन्छन् । त्यसैले टाढा हुँदा यी सबै सुखबाट बञ्चित हुन्छन् । जसका कारण शरीरमा पोजेटिभ हार्माेनहरु बन्न पाउँदैनन् । पोजेटिभ हार्मोनहरुको कमी हुनाले उनीहरुको स्वभावमा चिडचिडापन उत्पन्न हुन्छ । उनीहरुको कि्रएटिभिटी पनि सकिन थाल्छ । उनीहरुलाई डिप्रेशन हुन थाल्छ ।

केही जोडी त त्यस्ता पनि हुन्छन् । जसले त्यस्तो दुरीका कारण आफूलाई यति एक्लो महसुस गर्छन् । यदि कसैले उनीहरुलाई अलिकति पनि माया गरे भने उनीहरुप्रति आकषिर्त हुन थाल्छन् । त्यस्तै कतिपय दम्पतीहरु जो एक-अर्कासँग टाढा बस्छन् । त्यस्ता दम्पतीहरुमा श्रीमतीहरु शारीरिक सुख प्राप्त नहुनुको कारण आफूलाई यति एक्लो महसुस गर्छन् कि त्यसलाई कम गर्नको लागि आफ्नै अफिसको साथीसँग सम्बन्ध बनाउन समेत पछि पर्दैनन् ।

यस प्रकारका धेरै उदाहरणहरु छन् । जसमा श्रीमान्-श्रीमती सँगै नबस्नुको कारण पार्टनरले कोही अरुसँग सम्बन्ध बनाउँछन् । त्यस्तै कति जोडी त्यस्ता पनि हुन्छन् । जसले आफूबीचको दुरीप्रति दुःखी हुन्छन र जीवन बाँच्न बिर्सन्छन् । टाढा हुनाले सम्बन्ध सुमधुर बनाउन केही कठिनाई त हुन्छ नै । तर, आजको फोन, इमेल, इन्टरनेट आदि माध्यमहरुले जोडिएर लामो दुरीको सम्बन्धमा समेत माया बढाउन सकिन्छ ।

निम्न जानकारीहरुले तपाईंहरुको लङ डिस्टेन्स रिलेशनसिपमा पनि प्रेम बढाउन सहयोग पुर्‍याउँछ ।

सरप्राइज दिनुपर्छ

सरप्राइज हरेक व्यक्तिलाई मनपर्छ । विशेष गरेर त्यस समयमा, जब सरप्राइज दिने व्यक्ति तपाईंबाट कोशौं टाढा छ । चकलेट, फूल, पहिरन, कार्ड अथवा आफ्नो पार्टनरलाई मनपर्ने उपहारहरु पठाएर तपाईंले उसलाई सरप्राइज दिन सक्नुहुन्छ । उपहारसँग एउटा विशेष नोट पनि लेखेर पठाउनुपर्छ  । कहिलेकाहीँ नभनी उनलाई भेट्न जानुपर्छ । यसो गर्दा सम्बन्धको निराशता कम हुन्छ र उर्जा सञ्चार हुन्छ ।

रोचक क्षणहरु सेयर गर्नुपर्छ

हिजोआज प्रविधिले हरेक कुरालाई सजिलो बनाइदिएको छ । त्यसैले तपाईंले आफ्ना त्यस्ता रोचक-रोम्ााञ्चक क्षणहरुलाई फोटो र भिडियोको माध्यमले क्याप्चर गर्ने कोसिस गर्नुपर्छ । जसले तपाईंको पार्टनरको अनुहारमा खुशी ल्याउन सक्छ । विश्वास गर्नुहोस्, त्यस्ता स-साना कुराहरुले तपाईंको साथीको अनुहारमा लामो मुस्कान ल्याउँछ ।

कुराकानी गरिरहनुपर्छ

मोबाइल, इन्टरनेटको माध्यमबाट एक-अकासँग जोगिरहनुपर्छ । छोटो-छोटो समयको अन्तरालमा नै म्यासेज र फोनद्वारा साथीको हालखबर सोध्नुपर्छ । स्काइपमा कुरा गर्नुपर्छ, भिडियो च्याट गर्नुपर्छ ।

भावनाहरु व्यक्त गर्नुपर्छ

आफ्नो पार्टनर टाढा हुँदा बीच-बीचमा आईलभ यु भन्दै गर्नुपर्छ । यी तीन अक्षरले  सम्बन्ध सुमधुर बनाइराख्छ । राति सुत्नु अगाडि एउटा रोमान्टिक म्यासेज पठाउनुपर्छ । भिडियो च्याट गर्दा आफूलाई तयार गरेर मात्र गर्नुपर्छ । यसलाई सधैं एउटा डेटको रुपमा लिनुपर्छ । तपाईंलाई खुशी देखेर पार्टनरलाई पनि राम्रो लाग्छ ।

इमान्दार हुनुपर्छ

इमान्दार हुनु दुरी निभाउने पहिलो नीति हो । यसको अर्थ केवल साथीको लागि मात्र होइन, स्वयंप्रति पनि ईमान्दार हुनु हो । अन्यत्र प्रेम सम्बन्ध राख्नुभन्दा आफ्नो वास्तविक प्रेमको बारेमा सोच्नुपर्छ ।

सँगै छुट्टी लिनुपर्छ

सँगै छुट्टी लिएर घुम्न जानुपर्छ । एक-अर्कालाई पूरा समय दिनुपर्छ  । त्यसो गर्दा रोमान्स रहिरहन्छ । जन्मदिन, विवाहको वाषिर्कोत्सव जस्ता विशेष क्षणलाई अविष्मरणीय बनाउनका लागि केही विशेष योजना बनाउनुपर्छ ।

के गर्नु हुँदैन ?

प्रायः जोडीहरु सामान्य कुराकानी गर्दा-गर्दै बहस गर्न थाल्छन् । तर, उनीहरुबीच जब दुरी बढ्छ । स-साना कुराहरुमा पनि नराम्रो मान्छन् । तिमीले मलाई फोन गरिनौं । तिमीसँग मेरो लागि समय छैन । म तिमीसँग भएको अथवा भएकी भए यस्तो गर्दैन थियौं, जस्ता स-साना कुराहरुमा झगडा पर्छ र एक-अर्काको कुरामा झगडा पर्छ, एक अर्कासँग बोल्दैनन् । त्यस्तो गर्नु हुँदैन । त्यसो गर्नाले प्रेमभन्दा दुरी बढ्छ । जहिले कुरा गर्दा पनि त्यो क्षणलाई विशेष बनाउनु पर्छ ।

शंका गर्नुहुदैन

प्रायः श्रीमान्-श्रीमती सधै शंका गर्छन् । कतै आफ्नो पार्टनर कोही अरुसँग नजिक हुने त होइन । उसले झुठो त बोलेको त छैन, आफूसँग यथार्थता त लुकाएको छैन, जस्ता कुराहरुले एक-अर्कालाई नजिक ल्याउनुभन्दा दुरी बढाउने काम गर्छ ।

कम्युनिकेशनमा ग्याप गर्नुहुँदैन

यदि तपाईं लङ डिस्टेन्समा हुनुहुन्छ भने कुराकानी गरेर एकअर्कासँग जोडिरहन सक्नुहुन्छ । त्यसैले झगडा गरेर नबोल्ने, कुराकानी गर्न छाड्ने गर्नु हुँदैन । कुराकानी गर्न छाड्नु भनेको कम्युनिकेशनमा ग्याप गर्नु हो । समय निकालेर दिनमा ४-५ पटक कुराकानी गर्नु आवश्यक छ । तर यो कुराकानी केवल औपचारिकता हुनु हुँदैन । कुरामा माया-प्रेम र रोमान्स हुनुपर्छ ।

पार्टनरलाई रिस देखाउनु हुँदैन

तपाईं टाढा-टाढा हुनुभयो भने पनि त्यसको रिस आफ्नो पार्टनरमाथि उतार्नु हुँदैन । दुई जनामध्ये एकलाई कुनै नराम्रो भयो भने एकले अर्कामाथि रिस देखाउने प्रयास प्रायः भइरहेको हुन्छ ।

जासुस बन्नु हुँदैन

हरेक कुरामा जासुसी गर्नु हुँदैन । पटक-पटक फोन गरेर आफ्ना साथी कहाँ छन् भनेर पत्ता लगाउने कोसिस नगरेकै राम्रो । कोसँग छन् र के गर्दैछन् भन्ने कुरा सोधिरहनै पर्दैन । दुबैबीच आपसी विश्वासलाई कायम राख्नुपर्छ ।

कुरा लुकाउनु हुँदैन

कुनै पनि कुरा आफ्नो पार्टनरसँग लुकाउनु हुँदैन । किनभने कुरा लुकाउनाले पार्टनरको मनमा विभिन्न प्रकारका विचारहरु आउन थाल्छन् । फलस्वरुप, तपाईंहरुबीच दुरी बढ्न थाल्छ ।

जिद्दी गर्नु हुँदैन

आफ्नो कुरा मनाउनका लागि जिद्दी गर्नु हुँदैन । यदि तपाईंका पार्टनर ब्यस्त छन् र तपाईंको फोन उठाइरहेका छैनन् भने उनलाई बारम्बार फोन गरिरहनु हुँदैन । उनले फोन उठाउने बित्तिकै कराउन थाल्नु पनि हुँदैन । यदि तपाईं एउटा उत्कृष्ट रोमान्टिक जीवन बाँच्न चाहनुहुन्छ भने आपसी सम्बन्धमा अफिसको टेन्सनलाई कहिले पनि ल्याउनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment