Comments Add Comment

सौगातको स्विकारोक्ती–‘हो, म पैसामुखी भएँ’

सौगात मल्ललाई हरेक किसिमको भूमिकामा काम गर्ने कलाकारको रुपमा चिनिन्छ । सौगातले केही बर्ष अघिसम्म आफूलाई भिन्न भिन्न अवतारमा प्रस्तुत मात्र गरेनन्, भूमिका छनोटमा पनि उनी चुजी देखिए । तर, अहिले भने सौगातले दर्शकका लागि नयाँ भूमिका पस्कन सकेका छैनन् । चलचित्र छनोटमा उनी चुकिरहेका मात्र छैनन्, धेरै चलचित्रमा काम गरेर दर्शकको कौतुहलतामा पनि पर्न छाडेका छन् ।

सौगातलाई अहिले पैसामुखी भएको आरोप लाग्न थालेको छ । उनले राम्रो चलचित्र भन्दा पनि धेरै चलचित्रमा काम गर्न थालेका छन् । पैसाकै लागि सौगातले चलचित्रमा काम गरिरहेका छन् । सौगात यो कुरालाई स्विकार गर्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘जिन्दगी सधै भनेजस्तो नहुने रहेछ । मैले चलचित्रमा काम गरेको पैसाले नै व्यवहार चलाउनु पर्छ । त्यसैले पनि पैसामुखी भएको हुँ कि ?’

आफ्नो अन्य कुनै पेशा वा व्यवसाय भए यसरी काम गर्न नपर्ने कुरालाई उनको बुझेका छन् । त्यसतर्फ सैगातको ध्यान पनि खिचिएको छ । उनी भन्छन्–‘मैले कुनै व्यापार÷व्यवसाय सुरु गरे भने त पैसाकै लागि चलचित्रमा काम गर्नु पर्ने थिएन । अनि मैले छानेर सिमित चलचित्रमा काम गर्न पाउथ्या भन्ने सोच आएको छ । अब हेरु के हुन्छ ।’

केही समय अगाडि सौगातले धेरै चलचित्रमा काम गरेको महशुस गरेका थिए । त्यसैले उनले १० महिना चलचित्रमा काम गरेनन् । तर, रिलिज हुन बाँकी रहेका चलचित्रहरुले रिलिजको सुरसार नै नगरेपछि उनी फेरि तातिएका छन् । चलचित्रले जस्तोसुकै व्यापार गरोस्, उनलाई मतलब छैन । मात्र, उनी प्रेमिका श्रृष्टी श्रेष्ठलाई सिफारिश गर्दै चलचित्र साइन गरिरहेका छन् ।

सौगात मल्ल अभिनित चलचित्र ‘माछा माछा’ रिलिजको तयारीमा छ । क्राइम कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा उनले लफङ्गा युवाको भूमिकामा काम गरेका छन् । सौगात, यो चलचित्रले दर्शकलाई फरक स्वाद दिने विश्वास गर्छन् ।

सौगात मल्लको नयाँ चलचित्र ‘लप्पन छप्पन २’को पनि हाल छायांकन चलिरहेको छ । उनी, अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ । तर, चलचित्रको प्रचारमा उनी देखिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment