+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिकालाई नेपाली सेनाको जवाफ : आतंकवादको सामना गर्न सक्षम छौं

गौरव पोखरेल गौरव पोखरेल
२०७६ मंसिर ११ गते २०:०७

११ मंसिर, काठमाडौं । अमेरिकाले नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको विश्लेषण सार्वजनिक गरेको करिब एक महिनापछि नेपाली सेनाले जवाफ फर्काएको छ ।

अमेरिकी प्रतिवेदनमा भनिएझैँ नेपालको सुरक्षा स्थिति कमजोर नरहेको छनक दिने गरी सेनाले प्रतिआतंकवाद तथा ‘एन्टी हाइज्याकिङ’ सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिएको टोलीसँग संयुक्त  अभ्यास गरेको छ ।

प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन गरेको तालिम अर्थपूर्ण रहेको सैनिक अधिकृतहरु बताउँछन् । एक उच्च सैनिक अधिकृतले अनलाइनखबरसँग भने, ‘यो तालिम आफैंमा अमेरिकी प्रतिवेदनले भनेजस्तो अन्तर्राष्ट्रिय सुरक्षामा हामी तयार छैनौं भन्ने विषयमा काउन्टर हो ।’

इजरायली डिफेन्स फोर्सको सहयोगमा भएको प्रतिआतंकवाद सम्बन्धी तालिमको निरीक्षण गर्ने क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भनेका छन्, ‘आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम छ ।’

थापाले यस प्रकारको तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा इन्टरओपरेबलिटी वृद्धिका लागि अवसर प्रदान हुने बताए ।

नेपाली सेनाले लामो समयको अन्तरालपछि इजरायली काउन्टर टेरोरिजम टोलीसँग अभ्यास गरेको हो ।

अभ्यासमा युद्धभैरव गणका विशेष फौज सहभागी थिए । सेनाको विशेष दस्ता निर्माण गर्न पहिलो पटक तालिम दिने टोली पनि यही हो । अधिकृतहरुका अनुसार वि.सं. २०३६/०३७ सालतिर पहिलो पटक यो तालिम भएको थियो ।

‘यस किसिमको संयुक्त अभ्यासले पेशागत क्षमतामा अभिवृद्धि भइ आतंकवाद र प्रतिआतंकवादको विषयमा थप जानकार भएर सम्भावित आतंकवादबाट हुन सक्ने क्षति न्यूनिकरण पनि हुन्छ’, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे भन्छन्, ‘मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध पनि अझ मजबूत र प्रगाढ हुने विश्वास हामीले लिएका छौं ।’

सेनाले २०७४ सालदेखि चिनियाँ जनमुक्ति सेनासँग पनि प्रतिआतंकवाद सम्बन्धी ‘सगरमाथा फ्रेण्डसिप’ संयुक्त अभ्यास गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग हुने संयुक्त अभ्यास र भारतसँग हुने ‘अभ्यास सूर्य किरण’ पनि प्रतिआतंकवादसँगै सम्बन्धित छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?