Comments Add Comment

विदेश भ्रमण छोट्याएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् ।

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो ।

रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीले दिए । यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको जानकारी उनले दिए । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उनले बताए ।

साथै रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि उनले बताए ।

साथै सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment