Comments Add Comment

उपनिर्वाचनका तस्वीरहरू

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान भइरहेको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म हुनेछ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि नयाँ जनप्रतिनिधि छनोटका लागि मतदान भइरहेको छ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि पनि मतदाताले मत जायर गरिरहेका छन् । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि अहिले मतदान भइरहेको छ ।

पोखराको नवप्रभात माध्यमिक विद्यालयबाहेक अन्यत्र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ । पोखराको मतदानस्थलनजिकै बिहान बम विस्फोट भएको हो । विस्फोटपछि २० मिनेट मतदान स्थगित भए पनि अहिले मतदान भइरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको अनलाइनखबरलाई जानकारी दिए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

तस्वीरमा कास्कीको उपचुनाव

कास्की क्षेत्र नं. २ मा अहिले मतदान भइरहेको छ । तत्कालीन पर्यटन मन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि यो निर्वाचन क्षेत्रमा आज निर्वाचन भएको हो ।

यो क्षेत्रमा ३२ मतदानस्थलमा र ८२ मतदान केन्द्र तोकिएका छन् । यही मतदानस्थलबाट ७१ हजार ८ सय ७१ जनाले निर्वाचनमा मतदान गरेर आफ्नो प्रतिनिधि छान्ने छन् ।

यो निर्वाचनमा ११ दलका र १० स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीको नाम दर्ता भएको छ ।

विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी जमुना शर्माको नामसमेत स्वतन्त्रमा दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

पोखराको नयाँबजारमा रहेको नवप्रभात माध्यमिक विद्यालयनजिकै बम विस्फोटका कारण केही बेर मतदान स्थगित भए पनि अन्य स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको त्यहाँस्थित अनलाइनखबरकर्मी अमृत सुवेदीले जनाएका छन् ।


भक्तपुरमा यसरी भइरहेछ मतदान

भक्तपुरका क्षेत्र नं. १ कमा पनि शनिबार बिहानैदेखि मतदान भइरहेको छ । यस क्षेत्रका तत्कालीन प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएपछि यहाँ आज चुनाव हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, अहिलेसम्म यहाँ सौहार्दपूर्ण रूपमा मतदान भइरहेको छ ।

धरानकाे चुनाव

धरान उपमहानगरपालिकाको मेयर र एक वडाअध्यक्ष पदका लागि  मतदान भइरहेको छ । मतदान रूपमा भइरहेको त्यहाँबाट हाम्रा प्रतिनिधिले जनाएका छन् ।
तस्वीरहरूः विकास श्रेष्ठ/भक्तपुर, अमृत सुवेदी/पोखरा, ध्रुव भट्टराई/रोशन अधिकारी/धरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment