Comments Add Comment

पिपराका मतदाता भन्छन् – न आश छ, न कसैमाथि विश्वास

१४ मंसिर, महोत्तरी । ‘न केही आश छ, न कसैमाथि विश्वास’ पिपरा गाउँपालिका ३ स्थित सोहडबा मावि केन्द्रमा मतदानमा भेटिएकी सुकनीदेवी मुखिया भन्छिन्, ‘मत खसाउने हाम्रो अधिकार हो, त्यही अधिकार प्रयोग गर्न मात्रै आएकी हुँ ।’

जसलाई मत दिएपनि आफ्नै तालले काम गर्ने गरेको र चुनावपछि घुम्न समेत नआउने गरेको उनको गुनासो छ ।

उनीसँगै मतदानका लागि लाइनमा लागेकी रामकलीदेवी त मत खसाल्ने मनै नभएपनि आएको बताइन् । छिमेकीहरुले जे भएपनि मत खसाल्नुपर्छ भनेपछि मात्रै आएको भन्दै उनलले भनिन्, ‘विगतमा पनि जितेकाहरुले हाम्रो लागि केही गर्न सकेको छैनन् । अहिले जित्नेहरु पनि त्यस्तै गर्लान । कसैमाथि भरोसा छैन ।’

पिपरा गाउँपालिका ६ रतौलीस्थित वडा कार्यालयको मतदान केन्द्रमा मत खसाल्न आएका ६३ वर्षीय चिनी मण्डल यसै वर्षको बाढीमा दुई वटा घर भत्किएपनि कसैले सहयोग नगरेको बताए । ‘घर भत्केको जानकारी लिएर जाने धेरै थिए, तर सहयोग कसैबाट पाउन सकिनँ’ उनले भने, ‘अहिले पनि बस्ने ठाउँ छैन ।’

एक पटक होइन, धेरै पटक धेरै जनालाई जिताएपनि सबै उस्तै निस्किएको निराशाजनक कुरा सुनाए उनले ।

उनीसँगै मतदानका लागि लाइनमा उभिएका ७० बर्षीय दुःखी मण्डल बाढीको समयमा बोराकाबोरा चामल सडेको थाहा पाएपनि बाढीपीडित बितरण नगरिएको बताए । ‘निर्वाचनको समयमा त उम्मेदवारहरु ढोग्न नै आउँछन्’ उनी स्मरण गर्छन्’ ‘जितेपछि के समस्या छ भनेर फर्केर आएको देखेको छुइनँ ।’

सुकनीदेवी, रामकलीदेवी, चिनी या दुःखी मात्र होइन, पिपरा गाउँपलिकाको अध्यक्ष पदका लागि भइरहेको उपचुनावमा मतदान गर्न आएका धेरैले यस्तै कुरा सुनाए । आफ्नालाई जिताउनुभन्दा अधिकारको प्रयोग गर्न आएको उनीहरुले बताए ।

लाठी टेकेरै पिपरा ६ स्थित आदर्श मावि केन्द्रमा मतदान गर्न आएका ८५ बर्षीय राजेन्द्र यादवले जसले जितेपनि केही गर्छन् भन्ने अपेक्षा आफूले नराखेको बताए । ‘मैले त मतदान गर्ने हो । अरु कुरा म कसरी भन्न सक्छु’ उनले भने, ‘जित्ने व्यक्तिलाई अलिकति पनि लाज हुन्छ भने गाउँको विकास गर्लान् ।’

यो पनि पढ्नुहोस ८० वर्ष कटेका हजुरबा लाठी टेकेर मतदानस्थलमा

पिपरा गाउँपालिकाका अध्यक्ष बिनोद चौधरीको बैशाख निधन भएको थियो, त्यही कारण उपचुनाव हुँदैछ । निर्वाचनका लागि २४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

अधिकांश केन्द्रमा मतदान गर्न आएकाहरुले राजनीतिक दल र नेताहरुको इमान्दारितामा प्रश्न उठाउने गरेका छन् । अहिलेसम्म चुनाव जितेर गएकाहरुले इमान्दारीपूर्वक काम नगरेको बताउँदै उनीहरुले निर्वाचनको समयमा जनताको अपेक्षा बुझेकाहरुले त्यो अपेक्षा बिर्सन नहुने बताएका छन् ।

पिपरा गाउँपालिकामा १८ हजार ५ सय ८८ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment