Comments Add Comment

पुँजीगत खर्चमा सबै मन्त्रालय असफल, २० हजार राेपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

१५ मंसिर, काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचन र आइतारबाट नेपालमा सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक प्रधानमन्त्रीको स्वास्थ्य, मन्नत्रालयको पुँजीगत खर्च, ठूला सहरको प्रदूषणलगायत विषयलाई पनि आजका अखबारहरूले उठाएका छन् ।

कारोबारले मन्त्रालयहरूको पुँजीगत खर्चबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार पुँजीगत खर्चमा सबै मन्त्रालय असफल भएका छन् ।

कारोबार लेख्छ– सरकारी तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो चार महिनामा सबै मन्त्रालयले लक्ष्यभन्दा कम खर्च गरेका छन् । मूलतः विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको खर्च निराशाजनक हुँदा सरकारको प्रतिबद्धता कागजमै सीमित भएको छ भने जनअपेक्षा पनि पूरा हुन सकेको छैन ।’

समाचार अनुसार पहिलो चौमासिक प्रगति सन्तोषजनक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट देखिएका छन् ।

कारोबारका अनुसार, गत आर्थिक वर्षमा सरकारले चार महिनाको अवधिमा १० प्रतिशत खर्च गरेको भन्दै चालू आर्थिक वर्षमा न्यूनतम २० प्रतिशत खखर्च गर्ने लक्ष्य राखेको थियो । तर पहिलो चौमासिकमा जम्मा ६ प्रतिशतमात्रै देखिएपछि सरकारको खर्च क्षमता थप कमजोर भएको छ ।

२० हजार रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

साग खेलकुद र उपनिर्वाचनबारे प्राथमिकतापूर्वक समाचार छापेको नागरिकले २० रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ भएको लेखेको छ ।

सरकारले भोगाधिकारका लागि दिएको २० हजार रोपनीभन्दा बढी जग्गा पहुँचवालाको कब्जामा पुगेको नागरिक समाचारमा उल्लेख छ । विभिन्न निकाय, संघसंस्थाले भोगाधिकार लिएको सरकारी जग्गालाई कार्यनीतिअनुसार जिलमा परिणत गरेका छैनन् ।

‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ विपरीत २० हजार रोपनीभन्दा बढी जग्गा सत्ता र शक्तिको आडमा व्यक्ति, संस्था र विभिन्न निकायले कब्जा गरेका छन्’, नागरिकले लेखेको छ ।

कान्तिपुरले उपनिर्वाचनमा ६५.४३ प्रतिशत मतदान भएको र ९ वडामा नेकपा बिजयी भएको लेखेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो ।

सरकारी अस्पतालमा डायलासिस गर्न कठिन रहेको अर्को खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । समाचार अनुसार, सीमित शय्याका कारण बिरामीले लामो समयदेखि यस्तो समस्या झेल्दै आइरहेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले राजधानीलगायत ठूला सहरहरूको प्रदूषणले जनताको स्वास्थ्य जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment