Comments Add Comment

दाङ र अर्घाखाँचीका वडा नेकपाबाट कांग्रेसले खोस्यो

१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।

कांग्रेसका ताराबहादुर डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।

यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो ।

शनिबार भएको उपनिर्वाचनमा ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको थियो । अन्य उम्मेदवारहरु समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत पाए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाए ।

राप्रपाका रणबहादुर खनालले ४ मत पाए भने ९ मत बदर भएको थियो ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार दुई सय २५ मत खसेको थियो ।

नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment