+
+
Shares

दलित महिला वडा सदस्यहरुको गुनासो : वडाध्यक्षले बजेटबारे जानकारी नै दिँदैनन् 

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १८:३१

१६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुले वडा अध्यक्षहरुले बजेटका बारेमा कुनै जानकारी नदिने गरेको गुनासो गरेका छन् । बजेटको बारेमा बुझ्न खोज्दा जानेर तिमीहरु के गर्छौ ? भनेर प्रश्न गर्ने गरेको उनीहरुको भनाइ छ ।

जनजागरण युवा क्लबद्वारा सञ्चालित सुन्दर शान्त नेपाल परियोजना मार्फत गठित नागरिक संवाद मञ्च र दलित महिला संघले सोमबार वीरगञ्जमा आयोजना गरेको महिला जनप्रतिनिधिहरुलाई योजना निर्माण प्रक्रिया तथा अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् ।

जनप्रतिनीधि चुनिएपनि आफूहरुलाई वडा अध्यक्षले कुनैपनि कुराको जानकारी नदिइ काम गर्ने गरेको प्रति उनीहरुले असन्तुष्टी समेत जनाए । तर आफूहरुको गुनासो सुनिदिने निकाय कुनै नभएको उनीहरुको भनाइ छ ।

वीरगञ्ज –१३ विगनदेवि धोवीले हस्ताक्षर गर भनेर ल्याएपछि गरिदिने गरेको तर केमा हस्ताक्षर गरेको भने जानकारी नहुने गरेको बताइन् । ‘सबैले हस्ताक्षर गरिसकेका छन्, तपाई पनि गर्नुस् भनेर ल्याउँछन्, त्यसपछि हस्तााक्षर गरिदिने गरेको छु,’ उनले भनिन् ‘त्यहाँ के लेखेको हुन्छ मलाई थाहा हुन्न ।’

हस्ताक्षरमा गर्दा उनले आफ्नो नाम आफैंले लेख्ने गरेकी छन् । कतियपय दलित महिला जनप्रतिनिधिहरुले आफूहरुको हस्ताक्षर समेत अरुले नै गरिदिने गरेको आरोप लगाएका छन् । उनीहरुले वडा सदस्यले पाउने सेवा सुविधाको बारेमा समेत जिज्ञासा राखेका थिए ।

सहभागीलाई ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले प्रशिक्षण दिएका थिए । त्यसक्रममा बजेट निर्माण प्रक्रिया र चरण, वडा सदस्यको भूमिका र दायित्वको बारेमा जानकारी गराइएको प्रशिक्षक थापाले बताए । ‘जनप्रतिनीधि ठानेपछि कतिपयलाई आफूले भनेकै हुनुपर्छ भन्ने लाग्छ, तर त्यसका लागि सही समयमा प्रक्रिया मार्फत आवाज उठाउनुपर्छ,’ थापाले भने ‘ प्राथमिकता निर्धारण गरेर योजना बनाउने र बजेट छुट्याउनुपर्छ ।’

प्रशिक्षणपछि बजेटका बारेमा जानकारी लिने र निर्माण प्रक्रियामा सहभागी हुने प्रतिबद्धता उनीहरुले जनाएको दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले बताइन् ।

दलित महिला वडा सदस्यले योजना निर्माण प्रक्रिया र अधिकारको बारेमा जानकारी पाएपछि समुदायका लागि नीति निर्माणमा योगदान दिने विश्वास नागरिक संवाद मञ्च वीरगञ्जका अध्यक्ष ओम प्रकाश सर्राफले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?