Comments Add Comment

छापामा आज : तन्नेरीले पढ्नै छाडे संस्कृत, विदेशी बढेको बढ्यै

चीनतर्फ नेता र कर्मचारीको लर्को, १० महिनामा ३० हजार नेपाली गए

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरू दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामय बनेका छन् । प्रतियोगिताको पहिलो दिनमै नेपालको पोल्टामा १५ स्वर्ण परेकोलाई पत्रपत्रिकाहरूले विविध शीर्षक दिएर छापेका छन् ।

यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे जारी गरेको भिडियो सन्देश र उपचुनावको परिणामबारे पनि पत्रपत्रिकाहरूले विश्लेषण गरेका छन् । अछामको छाउगोठमा भएको युवतीको मृत्युलाई पनि सबैजसो दैनिक पत्रिकाहरूले छापेका छन् ।

अन्नपूर्णले ‘नेपाललाई १५ स्वर्ण पदक’ शीर्षक दिएर सागमा नेपालले जितेको पदकबारे समाचार बनाएको छ । नेपालले कराँतेमा ७, तेक्वान्दोमा सात र ट्रायथलनमा अर्को स्वर्ण जित्दै १५ स्वर्ण हासिल गरेको हो ।

कान्तिपुरले अलि फरक कोणबाट सागमा २÷२ स्वर्ण हासिल गर्ने नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यबारे मुख्य समाचार बनाएको छ ।

कान्तिपुरले लेखेको छ, ‘मन्डेकाजीले सन् २०१० मा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् । शारीरिक बनोट नमिलेपछि आयशा सन्यासको संघारमा थिइन् । सागमा मन्डेकाजीको यो पहिलो सफलता हो । पुम्सेका दुई स्वर्णले आयशालाई सागमा सबैभन्दा सफल नेपाली महिला खेलाडी बनाएको छ ।’

कान्तिपुरमै चीनतर्फ नेता र कर्मचारीको लर्को लागेको लेखेको छ । समाचारअनुसार, नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिचनियाँ अधिकारीहरू नेपाल आउने क्रम निकै बढेको छ । चिनियाँ दूतावासलाई उद्धृत गर्दै लेखिएको खबरअनुसार, गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म १० महिनामा ३० हजार ९ सय ३६ नेपालीले चीन जाने भिसाका लागि आवेदन दिएका थिए । यस्तो संख्या दुवैतर्फबाट बर्सेनि बढिरहेको छ ।

नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई चीन भ्रमण गराउने योजना नै बनाएको छ । यो वर्षभरिमा केन्द्रीय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँको विकास, विचार र समाजवादबारे अध्ययन अवलोकन गराउने नेकपा विदेश विभागको तयारी छ ।

नेकपा अध्यक्ष प्रचण्डले चीन भ्रमण गर्ने बताइए पनि तत्कालका लागि त्यो टरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढाबारे कान्तिपुरले मर्मस्पर्शी ढंगले फिचर छापेको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अलिरहेकै बेला अछामको छाउगोठमा निस्सासिएर पार्वतीको मृत्यु भएको थियो ।

तन्नेरीले पढ्नै छाडे संस्कृत, विदेशी बढेको बढ्यै

कान्तिपुरकै भित्री पृष्ठमा नेपाली युवा विद्यार्थीको संस्कृतप्रतिको आकर्षण घट्दै गएको समाचार छ । समाचार अनुसार, सरकारले उत्तरमध्यमालाई विद्यालय तहमा गाभेपछि वाल्मीकि विद्यापीठलगायतमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । शास्त्री र आचार्य तहमा भर्ना हुने विद्यार्थी पनि थोरै छन् । अवकाशप्राप्त केही सरकारी कर्मचारी संस्कृत पढ्न आउने गरेका छन् । बरु विदेशी संस्कृत पढ्न आउने गरेका छन् । वाल्मीकि विद्यापीठका अनुसार, एकवर्षे भाषा प्रशिक्षणमा विदेशीको आकर्षण बढ्दो छ । यसमा अहिले १७ विदेशी अध्ययनरत छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment