Comments Add Comment

माल्दिभ्सलाई सागमा ऐतिहासिक सफलता, ३५ वर्षमा पहिलो स्वर्ण

१७ मंसिर, काठमाडौं । क्षेत्रफलमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो ।

१०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन । उनले श्रीलंकाका हिमेश इशानलाई पछि पारे स्वर्ण चुमेका हुन ।

१३ औं सागमा माल्दिभ्सको यो पहिलो पदक हो ।

को हुन हसन ?

२७ वर्षीय हसनले यसअघि सागमा तीन पदक जितीसकेका छन् । २०१६ मा भारतको गुहाटीमा सम्पन्न १२ औं सागमा उनले १०० र २०० मिटर दौडमा रजत पदक जितेका थिए ।

२०१० मा ढाकामा भएको एघारौं सागमा १०० मिटर रिलेमा कास्य पदक जितेका थिए ।

१००, २०० र ४०० मिटर दौडका राष्ट्रिय कीर्तिमानधारी हुन । उनले २०१५ मा बेइजिङमा सम्पन्न एथ्लेटिक्स वल्र्ड च्याम्पियनसीपमा १०.४२ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

हसन २०१० देखि कमनवेल्थ गेम्स, एसियन गेम्स, वल्र्ड च्याम्पियनसीपका विभिन्न स्पर्धामा सहभागी हुँदै आएका छन् ।

१३ संस्करणमा १४ पदक

हसनले जितेको स्वर्ण सहित साग सुरु भएयता माल्दिभ्सले जितेको पदक संख्या १४ पुगेको छ । उसले यसअघि नै ४ रजत र ९ कास्य पदक जितेको छ ।

१९८४ मा काठमाडौंमा भएको पहिलो सागमा कास्य पदकबाट माल्दिभ्सले खाता खोलेको थियो । तर दोस्रो, तेस्रो र चौथो सागमा एउटा पनि पदक जित्न सकेन । श्रीलंकामा सम्पन्न पाँचौं सागमा उसले पुनः एउटा कास्य हात पार्‍यो ।

छौटौं सागमा पदक विहिन बनेपनि सातौं सागमा रजत पदक जित्यो । १९९९ काठमाडौंमा सम्पन्न सागमा उसले चार वटा कास्य पदक जित्यो ।

पाकिस्तानमा आयोजित नवौं र श्रीलंकामा आयोजित दसौं सागमा फेरी पदकविहन भयो । एघारौं सागमा दुई वटा कास्य पदक जित्यो ।

भारतमा सम्पन्न १२ औं सागमा दुई रजत र एक कास्य पदक जित्यो ।

सँधै विदेशी भूमिमा

नेपाल, भारत र बंगलादेशले तीन–तीन साग आयोजन गरिसकेको छ । श्रीलंका र पाकिस्तान दुई दुई पटक आयोजक बनीसकेको छ ।

पोखरा महानगरपालिका भन्दा कम अर्थात २९८ वर्ग किलोमिटर क्षेत्रफल भएको माल्दिभ्सले अझैसम्म साग आयोजना गरेको छैन । १४ औं साग पाकिस्तानले आयोजना गर्दैछ ।

पाकिस्तानले आयोजना गर्न नसकेको अवस्थामा २०२२ मा पहिलो पटक माल्दिभ्स आयोजक बन्नेछ । पाकिस्तानले हात झिकेको अवस्थामा श्रीलंका र माल्दिभ्स संयुक्त आयोजक बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment