Comments Add Comment

सौगात र श्रृष्टीमाथि जोखिमपूर्ण लगानी

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई एकसाथ चलचित्रमा नलिई निर्मातालाई सुखै छैन भन्ने कुरा त अब नयाँ रहेन । किनकी, श्रृष्टीलाई नखेलाएसम्म सौगातले खेल्न नमान्ने खबरहरु चलचित्रकर्मी र मिडियाकर्मीका लागि नयाँ रहेनन् ।

तर, यो जोडीले एकपछि अर्को चलचित्रमा काम गर्न लागेको खबर भने सार्वजनिक भैरहेका छन् । यो जोडीले गोपिकृष्ण मुभिजले बनाउन लागेको नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छ ।

‘माइकल अधिकारी’ नाम दिएर गोपिकृष्ण मुभिजले नयाँ चलचित्र निर्माण गर्न लागेको हो । यो चलचित्रमा पनि सौगातकै अड्डीका कारण श्रृष्टी अनुवन्धित भएको गसिप सुरु भैसकेको छ ।

यो जोडीले चलचित्र ‘सँगसँगै’मा पनि काम गर्ने पक्का भैसकेको छ । यो जोडीले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ तिहारमा रिलिज भएको थियो । यो चलचित्रमा पनि सौगातकै कारण श्रृष्टी अनुवन्धित भएकी थिइन् । शुक्रबारदेखि रिलिज हुने पक्का भएको चलचित्र ‘माछा माछा’मा सौगात मल्ल मुख्य भूमिकामा छिन् । श्रृष्टीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् । केही महिना अगाडि सौगातले श्रृष्टी नै राख्नुपर्ने अडान लिएका कारण चलचित्र ‘रामराम’बाट सौगात नै बाहिरिएको खबर सार्वजनिक भएको थियो । यो जोडीले अभिनय गरेको ‘मासुभात’ रिलिजको तयारीमा छ ।

सौगातकै कारण निर्माता उनीसँगै श्रृष्टीलाई नै लिनुपर्ने अवस्थामा छन् । तर, सौगात मल्लको चलचित्रले राम्रो व्यापार नगरेको धेरै भैसकेको छ । ‘पोई पर्यो काले’को औषत सफलतामा सौगात र श्रृष्टीको भूमिका खासै देखिदैन । किनकी, यो चलचित्रको प्रचारमा यो जोडीले अनुहार पनि देखाएन ।

श्रृष्टीले अभिनय गरेका चलचित्र पनि बक्स अफिसमा हिट छैनन् । सौगात र श्रृष्टीलाई चलचित्रमा लिने वित्तिकै चमत्कार भैहाल्ने अवस्था अहिले छैन । धेरै चलचित्रमा काम गरेका कारण सौगातले आफ्नो स्टारडमको लय गुमाइसकेको अवस्था हो । यस्तो अवस्थामा सौगात र श्रृष्टी एकपछि अर्को चलचित्रमा अनुवन्धित भएका छन् । आखिर, यी दुइमाथि निर्माताले जोखिमपूर्ण लगानी गरिरहेका छैनन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment