
सिड्नी । नेपाली क्रिकेटका अस्ट्रेलियन प्रमोटरहरुसँगको एक अनौपचारिक भेटमा अस्ट्रेलियाका क्रिकेटका पूर्वक्याप्टेन माइकल क्लार्कले नेपाल भ्रमण गर्ने इच्छा जाहेर गरेका छन् ।
नेपालका क्रिकेट क्याप्टेन पारस खड्का समेतलाई अस्ट्रेलिया ल्याएर प्रवासमा क्रिकेट क्लिनिक संचालन गरेको एक्सपोर्ट ग्रुपमा सन्जीब शर्मा र बद्री अर्यालसँग मंगलबार भएको भेटमा उनले सो कुरा बताएका हुन् ।
नेपालको एक्सपोर्ट धनगढ़ी ब्लुजका प्रमोटरसमेत रहेका संजीव शर्माले माइकल क्लार्कसँग अस्ट्रेलियाको फुटबल, क्रिकेट र रक्बी खेलबारे सिड्नीमा भएको एक कार्यक्रममा भेटघाट तथा अन्तरक्रिया भएको बताए ।
भेटमा क्लार्कले नेपालले पछिल्लो समय क्रिकेटमा प्रगति गरिरहेको र आफूले पनि आवश्यक सहयोग गर्न चाहेको बताएको शर्माले जानकारी दिए ।
नेपालको पछिल्लो परिस्थितिको बारेमा निकै रुचि लिएका क्लार्कले अर्को वर्ष आईपीएल सकिए लगतै नेपाल जाने इच्छा ब्यक्त गरेका थिए ।
उनले अन्य देशमा होटेलबाट निस्केदेखि फ्यानहरुले निकै पछ्याउने भएकाले राम्रो घुमफिर गर्न पनि नपाएको भन्दै नेपाल आउँदा आफूले सहर घुमफिर गर्ने बताए ।
नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई अस्ट्रेलिया ल्याएर उनले नै अन्तररास्ट्रिय स्तरमा चर्चित बनाएका थिए ।
प्रतिक्रिया 4