Comments Add Comment

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : जुटेर काम गर्ने प्रतिबद्धता

१९ मंसिर, वीरगञ्ज । वीरगञ्जमा विभिन्न किसिमले सेवा कार्यमा संलग्न हुँदै आएका स्वयंसेवकहरुले जुटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसको अवसरमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

वीरगञ्जमा बसेर समाजका विभिन्न क्षेत्रमा निस्वार्थ भावनासहित मन, वचन र कर्मले सेवा गर्नेहरुले जुटेर काम गर्ने भन्दै ऐक्यबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । ‘स्वयं सेवाको क्षेत्रमा एकताबद्ध र प्रतिबद्ध भई लाग्नेछौं र सँधै समाजको हित हुने गरि स्वयं सेवाको कार्यमा एक आपसमा हातेमालो सहयोगी बन्नेछौं ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रकाश थारु फाउन्डेसनका संस्थापक सामाजिक अभियन्ता प्रकाश थारुले सेवा कार्य गर्दा आइपर्ने बाधा अडचनको मिलेर सामना गर्न एक्यबद्ध हुने निर्णयमा पुगेको बताए । ‘ सेवा कार्य गर्दा कहिले आर्थिक त कहिले सामाजिक चुनौतिको सामना गर्नुपर्ने हुन्छ, कहिलेकहिँ मानसिक दबाव नै आउँछ,’ थारुले भने, ‘अहिले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । कतै रकमको आवश्यकता पर्ला त कतै जनशक्ति मिलेर काम गर्दा सहज हुन्छ भन्ने उद्देश्य हाम्रो हो ।’

वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले स्वयंसेवकले दीर्घकालिन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

ऐक्यवद्धता पत्रमा ५० जना स्वयं सेवकले हस्ताक्षर गरेको व्यवस्थित वीरगञ्ज अभियानका दिलिपराज कार्कीले जानकारी दिए । व्यवस्थित वीरगञ्ज अभियान अहिले निष्क्रिय छ । विगतमा अभियानले ट्राफिक व्यवस्थापन, सडक अतिक्रमण हटाउने तथा छाडा पशु चौपाया नियन्त्रणमा प्रशंसनीय काम गरेको थियो ।

त्यसबाहेक वीरगञ्जमा ‘हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज’ अभियानले प्लाष्टिक झोलाको सट्टा कागज वा कपडाको झोला प्रयोग गर्न भनिरहेको छ । भोलुन्टर नामक युवा समूहले शंकराचार्य गेट लगायतका सार्वजनिक स्थलको सरसफाई गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाईटी, ब्लड डोनर्स एशोसियसन, फोरजी ग्रुप, दाईजो तथा बाल विवाह राष्ट्रिय उन्मुलन अभियान, सामाजिक कुरीति तथा दाईजो विरोधी अभियान जस्ता विभिन्न अभियान सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment