Comments Add Comment

‘नेपाल भ्रमण दशक’ घोषणाको गृहकार्य

१९ मंसिर, काठमाडौं । सरकारले सन् २०२० देखि २०३० सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रममा यसाबरे प्रस्ताव राख्ने गृहकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवेश विन्दु मानेर त्यसपछिको एक दशकलाई भ्रमण दशक घोषणा गर्न लागिएको हो । ‘जनवरीदेखि डिसेम्बरसम्म भ्रमण वर्ष मनाएर पर्यटन विकासको अभियान रोकिदैन’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, ‘अब हामी एक दशककै योजनाका साथ अगाडी बढ्ने छौं ।’

चालु पञ्चवर्षिय योजनाभित्र अगाडी बढेका सबै पूर्वाधार सम्पन्न हुने र हरेक वर्ष कम्तिमा ३५ लाख पर्यटकको आगमनको आधार तयार हुने आंकलन गर्दै मन्त्रालयले अबको एक दशकमा अर्थतन्त्रको मुख्य खम्बा पर्यटनलाई बनाउने योजना लिएको छ । ‘२०२० ले नेपालमा पर्यटनको माहौल ल्याउँछ, त्यसलाई हामी निरन्तरता दिनेछौं,’ मन्त्री भट्टराईले भने, ‘अब बिस्तारै अगाडी बढेका पूर्वाधारको काम सम्पन्न हुन्छ, अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढ्छ ।’

एक दशकमा निजगढ विमानस्थल सम्पन्न हुने, सडक पूर्वाधार र पर्यटकीय गन्तब्यसम्म जोड्ने पूर्वाधारको आधार तय भइसक्ने र त्यसपछि मुलुकले पर्यटनका माधयमबाट मनग्य आम्दानी हुने वातवारण सिर्जना भइसक्ने सरकारको विश्वास छ ।

‘अब राजनीतिक रुपमा धेरै विमती छैनन्, हामी सबैको एजण्डा आर्थिक विकास बनिसकेको अवस्थामा एक दशक पर्यटकै विकासमा केन्द्रित हुनु जरुरी देखिन्छ,’ मन्त्री भट्टराईले भने ।

उनले राजनीतिक दलहरुसमक्ष पर्यटन प्रवद्र्धनका गतिविधिमा जोड दिन आग्रह समेत गरेका छन् । अब बन्ने घोषणा पत्र र नीतिहरुमा पर्यटनलाई मूख्य प्राथमिकतामा राख्न सुझाव दिँदै उनले पार्टी पंक्ति र जनशक्तिलाई पर्यटन विकासमा लगाउन समेत सुझाव दिए । पर्यटन क्षेत्रमा लगानी योग्य वातावरण बनाउन र लगानी भित्र्याउन समेत दलहरुबाट सरकारले सहयोगको अपेक्षा गरेको उनले उल्लेख गरे ।

उनले नेपाल भ्रमण वर्ष र त्यसपछिका अभियानमा स्वतस्फुर्त सहभागी भई मुलुकको विकासमा योगदान गर्न समेत दल र उनीहरुको भातृ संगठनसँग आग्रह गरे । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य पुरा हुने भन्दै उनले पूर्वाधार निर्माणमा सरकार गम्भीर भएर लागेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment