Comments Add Comment
प्रयोगविहीन स्मार्ट डस्टबिन :

काठमाडौंका स्मार्ट डस्टविन महानगरवासीले देखेनन् !

'यस्तो राम्रो भाँडोमा पनि फोहोर फाल्छन् ?'

२१ मंसिर, काठमाडौं । ‘ए यो फोहोर फाल्ने ठाउँ हो ? मलाई त थाहै थिएन,’  माइतीघरमा पैदल लम्किरहेका उत्तमबहादुर गजमेर भन्दै थिए । माइतीघरबाट भद्रकालीतर्फ जाने एकतर्फी सडकको मुख नजिकै राखिएको डस्टबिनबारे हामीले उनलाई सोधेका थियौ ।

सडकको किनारामा सोलार बत्तीसहित राखिएको चिट्टिक्क परेको स्मार्ट डस्टबिनलाई उनले चार्जिङ स्टेसन भन्ठानेका रहेछन् ।

‘म बसन्तपुर भन्दा भित्र बस्छु, दैनिक हिडेरै बबरमहलसम्म पुग्छु’ उनले भने, ‘यो बाटो म सधै हिड्ने भए पनि यहाँ फोहोर फाल्नु पर्छ भन्ने कुरो कहिल्यै बुझिन बोरु बसहरु चार्ज गर्ने ठाउँ हो कि भन्ने लागेको थियो ।’

सोही ठाउँमा भेटिएकी एक महिला त फोहोर फाल्ने ठाउँ हो भन्ने सुन्नेवित्तिकै अचम्ममा परिन् । ‘दिदी यहाँ फोहोर फाल्ने भाडो राखिएकोबारे जानकारी छ हजुरलाई ?’ हामीले सोधेको प्रश्नमा उनी अक्क न बक्क भइन् ।

पुनः प्रश्न दोहोर्‍याएपछि उनले भनिन्, ‘जिस्किनु भएको ? यति राम्रो भाँडोमा पनि फोहोर फाल्छन् र ?’

यसबारे आफूलाई केही थाहा नभएको भन्दै उनी थप कुराकानी गर्न चाहिनन् ।

यी दुई प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौं महानगरपालिकाले सडक किनारामा राखेका स्मार्ट डस्टबिनबारे उनीहरुजस्ता धेरैलाई जानकारी छैन । सडकमा भेटिएका केही युवा विद्यार्थीहरुलाई पनि हामीले सोही जिज्ञासा राख्यौं । उनीहरुले भने डस्टबिनबारे जानकारी भएको बताए ।

विभिन्न सञ्चारमाध्यमहरुबाट काठमाडौंमा सोलारवाला स्मार्ट डस्टबिन राखिएकोबारे जानकारी पाएको सडकमा भेटिएका विद्यार्थीहरुले सुनाए । तर उनीहरु यसको प्रयोग भने नगरेको बताए ।

एक वर्ष पूरा, लक्ष्य अपूरा

स्मार्ट डस्टबिन राख्न शुरु गरिएको एक वर्ष नाघिसकेको छ । १२ मंसिर २०७५ मा काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा ‘स्मार्ट सोलार डस्टबिन’ (फोहोर फ्याँक्ने भाँडो) राख्न शुरु गरेको थियो ।

महानगरपालिकाले सार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणा अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्टबिन’ राखेको छ । माइतीघरदेखि बानेश्वरसम्म १२ वटा सोलार डस्बीन राखिएको छ भने टुँडिखेल आसपास, रानीपोखरी आसपास, न्युरोडदेखि बसन्तपुर, माइतीघरदेखि थापाथली, भद्रकालीदेखि सिंहदरबार आसपासमा ठाउँठाउँमा स्मार्ट सोलार डस्टबिन राखिएको छ ।

फोहोर फ्याँक्ने डस्टबिनमा सोलार बत्तीसमेत जडान गरिएकाले रातिको समयमा समेत प्रष्टसँग देखिन्छ । डस्टबिनमा प्रदुषण मापन मीटर, तापक्रम मीटर, मोबाइल चार्जर समेत राखिएको छ । डस्टबिनको पछाडि चार स्क्वायर फिटको फोहोर फ्याँक्ने ठाउँ छ ।

अगाडि १८ स्क्वायर फिटको भागमा विज्ञापन र पछाडि ९ स्क्वायर फिटको भागमा महानगरपालिकाको सूचनामूलक सन्देश राखिएको छ । सडकमा हिँड्दा चकलेट-बिस्कुटका खोल, पेय पदार्थ, मिनरल वाटरको बोतल लगायतका फोहोरसमेत जथाभावी फयाँक्नुको सट्टा डस्टबिनमा नै फाल्न महानगरपालिकाले आग्रह गरेको थियो ।

जुन लक्ष्य लिएर महानगरले स्मार्ट डस्टबिन राखेको थियो, त्यो अपुरै छ । स्मार्ट डस्टबिन प्रयोगमा नआउनुको प्रमुख कारण भनेको यसबारे सर्वसाधारणमा जानकारी नहुनु नै हो ।

नेपालमा पहिलो पटक राखिएको स्मार्ट डस्टबिनबारे सर्वसाधारणले थाहा नै पाएका छैनन् । देखेर यो फोहोर फाल्ने नै ठाउँ हो भन्ने एकिन गर्न पनि गाह्रो छ । यस्ता डस्टबिनहरुमा कहीँ पनि फोहोर फाल्ने ठाउँ हो भनेर लेखिएको छैन । हेर्दा चिटिक्क परेको र कुनै संकेत उल्लेख नगरिएका कारण सर्वसाधारणले मेसो पाएका छैनन् ।

महानगरको स्वीकारोक्ति- बुझाउन चुक्यौं

स्मार्ट डस्टबिनको प्रयोगमा नआएको बारेमा काठमाडौं महानगरपालिका पनि जानकार नै छ । राखिएको एक वर्ष भइसक्दा पनि प्रयोगमा नआउनुको कारणबारे महानगरले आफ्नो कमजोरी स्वीकार गरेको छ ।

महानगरका तत्कालीन निजी साझेदारी प्रमुख महेश काफ्लेले स्मार्ट सोलार डस्टबिनबारे सर्वसाधारणलाई बुझाउन नसकिएको बताए । उनले डस्टबिनमा ‘फोहोर मलाई’ नलेखिनु पनि कमजोरी भएको स्वीकार गरे ।

‘स्मार्ट डस्टबिनबारे बुझाउन नसकिएकै हो, यसलाई स्वीकार गर्नैपर्छ,’ उनले भने, ‘सर्वसाधारणले यो फोहोर फाल्ने ठाउँ नै हो भनेर नचिनेर पनि प्रयोगमा नआएको हो ।’ राम्रो काम भए पनि त्यसबारे सर्वसाधारणलाई बुझाउन नस्क्दा फलदायी हुन नसकेको उनले बताए ।

हाल महानगरका मेयर विद्यासुन्दर शाक्यका सचिवालय प्रमुख रहेका काफ्लेले अब यसको प्रयोग बढाउन महानगरले तत्कालै केही काम गर्ने बताएका छन् । सर्वसाधारणलाई बुझाउनका लागि अब डस्टबिनमा ‘फोहोर मलाई’ वा ‘फोहोर यहाँ राख्नुस्’ भनेर लेखिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment