Comments Add Comment

क्यारेण्टाइनको नाममा सरकारले दुःख दियो : पोल्ट्री महासंघ

फाइल तस्वीर ।

२२ मंसिर, काठमाडौं । नेपाल पोल्ट्री महासंघले पशुजन्य उत्पादनमा सरकारले क्वारेन्टाइनको नाममा दुख दिएको गुनासो गरेका छन् ।

पशु सेवा विभाग अन्तर्गतको पशु क्यारेण्टाइन महाशाखाले २४ चैत २०७५ मा पशु उत्पादन सामाग्रीमा ‘क्यारेण्टाइन’ अनिवार्य गरेको थियो । यो निर्णयले परीक्षण आवश्यक नपर्ने पशु उत्पादनलाई समेत दुख दिइरहेको भन्दै पोल्ट्री महासंघले राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निवेदन दिएको छ ।

महासंघका महासचिव दिनेशराज मिश्रले पंक्षीका लागि आवश्यक दाना र औषधीमा क्वारेण्टाइन गर्न नपर्ने कानुनी व्यवस्थाको अपव्याख्या गरिएको बताए । ‘पशुको स्वास्थ्यका लागि ल्याइएको औषधीको के के क्यारेण्टाइन ? मकै, भटमास, भुसलगायतका दानाहरुमा पनि क्यारेण्टाइन गर्न नपर्ने भन्ने छ । तर, सरकारले हामीलाई बदनियतपूर्ण तरिकाले दुख दिइरहेको छ ।’

‘नेपालमा पैठारी गरिने पशु औषधी तथा फिड सप्लिमेण्टका हकमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार पशु क्वारेण्टाइन गरिरहन नपर्ने स्पष्ट छ’ मिश्रले थपे ।
सरकारको जवाफ– कानुनको अपव्याख्या भएको छैन

पोल्ट्री महासंघबाट प्राप्त निवेदनसमितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको थियो ।

जवाफी पत्रमा मन्त्रालयले लेखेको छ, ‘नेपालमा भिटामिन, मिनरल तथा प्रोटिनजन्य वस्तुहरु फिड सप्लिमेन्टको रुपमा आयात हुने गरेको र यी वस्तुहरु पशुपन्छीको स्वास्थ्यमा प्रयोग हुने हुँदा नियमको परिभाषाको अपव्याख्या भएको भन्ने जिकिर प्राविधिक दृष्टिले नमिल्ने देखिन्छ ।’

मन्त्रालयले जवाफी पत्रमा पशु सेवा ऐन २०५५ मा पशु उत्पादन सामाग्री भन्नाले पशु स्वास्थ्यमा, कृत्रिम गर्भाधान वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित वा अप्रशोधित सामाग्री सम्झनुपर्छ भनी परिभाषित गरिएको पनि उल्लेख गरेको छ ।

आइतबार पोल्ट्री महासंघको निवेदन र कृषि मन्त्रालयको जवाफमा सन्दर्भमा छलफल गर्न बैठक बोलाएको थियो ।

बैठकमा महासंघका महासचिव मिश्रले दाना (मकै, भटमास, भुस) मा क्यारेण्टाइन आवश्यक नरहेको तर्क गरे । समिति सदस्य नैनकला ओझाले प्रश्न गरिन्– दानामा मकै र भटमास पनि चाहिन्छ ?

अन्तमा समितिले महासंघका प्रतिनिधिले गरेको गूनासोका सन्दर्भमा कृषि मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment