Comments Add Comment

चन्द्र ढकालले सुनाए सातै प्रदेशमा केवुलकार बनाउने योजना

अस्ट्रेलियामा ग्लोबल आइएमई बै‌ंकको शाखा खोल्ने तयारी

सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बै‌ंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका ७ वटै प्रदेशमा चन्द्रागिरि जस्तै केवुलकार तथा सिसोर्ट परियोजना निर्माण गर्न लागेको बताएका छन् ।

सोमबार बेलुकी अस्ट्रेलियाको सिड्नीमा आयोजित एक अन्तरक्रियामा ढकालले नेपालमा प्रदेश-प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिस्पर्धा सुरु भएकोले लगानीका सम्भावनाहरु बढेको बताउँदै परियोजना बिस्तारको योजना सुनाएका हुन् ।

अध्यक्ष ढकालले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई नेपालमा लगानीको वातावरण र सम्भावना राम्रो भएको बिश्वास दिलाउँदै आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने समेत बताए ।

उनले अस्ट्रेलियाका गैरआवासीय नेपालीहरुको समेत लगानीमा निर्माण हुँदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै सञ्चालनमा आउने दाबीसमेत गरे ।

उनले भने, ‘लगानी गर्नुस तर साझेदार पनि बिश्वासिलो खोज्नुस, अन्यथा लगानी हिनामिना सम्भावना पनि उत्तिकै छ ।’

ढकालले आफ्नो बैंक बिग मर्जरपछि नेपालको सबैभन्दा ठुलो भएको दाबी गर्दै आफूहरुले दोश्रो बैठकमै मर्जरको महत्वपूर्ण निर्णय लिन सकेको र प्रक्रिया टुंग्याएको उल्लेख गरे ।

हाल अस्ट्रेलियालगायत भारत र बेलायतमा सम्पर्क कार्यालय रहेको, कोरिया र जापानमा सम्पर्क कार्यालय खोल्ने तयारी रहेको बताउँदै उनले अस्ट्रेलियामा पहिलो शाखा खोल्ने योजना रहेको बताए । त्यसका लागि अस्ट्रेलियाका नेपालीको सल्लाह र सहयोग चाहिएको उनको भनाइ छ ।

अन्तरक्रियामा गैरआवासीय नेपाली संघको अन्तर्रास्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो सँस्था १० अर्ब बराबरको गैरआवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए ।

अस्ट्रेलिया नेपाल बिजिनेस काउन्सिलका अध्यक्षसमेत रहेका केसीले उक्त कोष निर्माणसँगै नेपालमा गैरआवासीय नेपालीहरुको ठुलो तथा सयुक्त लगानी सुरु हुने वातावरण बन्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैरआवासीय नेपालीहरुमा लगानीको आत्मविश्वास  अझै पैदा नभएको बताए ।

नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुँजी लगानी गर्न पाइने वातावरण बनेमा गैरआवासीय नेपालीलगायत वैदेशिक पुँजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघअस्ट्रेलियाका पूर्वप्रवक्ता डीला खरेलले गैरआवासीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विश्वास भएको भन्दै आफूहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए ।

कार्यक्रमा गैरआवासीय नेपाली संघका ओसियाना क्षेत्रका पूर्वसंयोजक धर्मराज अधिकारी, वर्तमान संयोजक होम पाण्डे , प्रवासी नेपाली एकता मञ्चका नेता रमेश पाण्डे लगायतले जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा बिजय पोखरेल, दीपक भट्टराई, भोमा सावा, देव गुरुङ, खेम शर्मा, अनन्त कार्कीलगायत सिड्नीमा क्रियाशील दुई दर्जन ब्यबसायी तथा गैरआवासीय नेपाली अगुवाहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment