Comments Add Comment

राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै, नेकपालाई मालामाल !

माघको पहिलो साता को–को सांसद् जाँदैछन् घर ?

राष्ट्रियसभा सदस्यको आफ्नो कार्यकालका लागि गोला तान्दै कांग्रेसका सुरेन्द्र पाण्डे

२४ मंसिर, काठमाडौं । उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ ।

राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए ।

राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।
यो पनि पढ्नुहोस ‘सभामुखबारे मलाई नबोल्ने आदेश छ’
अब हुने राष्ट्रियसभा निर्वाचन पनि एकल संक्रमणीय प्रणालीबाटै हुनेछ । तर, एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेशसभा र स्थानीय तहमा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ ।

यस अघि तीनजना निर्वाचित हुने बेला दुईजना नेकपामा जित्दा एकल संक्रमणीय प्रणालीका कारण कांग्रेसले तेस्रो सिट जितेको थियो । यसपटक प्रत्येक क्लस्टरमा एक सिटको लागि मात्र चुनाव हुँदैछ । त्यसैले ६ वटा प्रदेशमा कांग्रेसले ६ सिट गुमाउने निश्चितजस्तै देखिन्छ ।

दुईवर्षे कार्यकाल पूरा भएर घर फर्किनेमा नेकपाका ८ जना, कांग्रेसका सात जना, राजपाका दुई जना र समाजवादीका एकजना सांसद छन् । राष्ट्रपतिबाट मनोनित सदस्य तथा अर्थमन्त्री डा.युवराज खतिवडाको अवधि पनि यही चरणमा सकिनेछ ।

प्रदेश २ मा गठबन्धन अनिवार्य

एकल संक्रमणीय प्रणालीबाट निर्वाचन हुँदा कांग्रेसले प्रत्येक प्रदेशमा एक/दुईजना सदस्य जिताउन सफल भएको थियो । तर अब, त्यही प्रणालीबाट चुनाव भए पनि व्यवहारमा जसले बढी मत पाउँछ, उसैले जित्ने अवस्था भएकाले कांग्रेसको सम्भावना प्रदेश २ मा बाहेक अन्यत्र खासै छैन ।

प्रदेश २ मा भने कांग्रेस, राजपा र समाजवादी पार्टी मिले भने कम्तिमा एक/एक सिट सुरक्षित गर्ने अवस्था छ । प्रदेश २ मा ८ मध्ये ४ सदस्य रिक्त हुँदैछन् । त्यहाँ कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्छन् । प्रदेश २ मा पनि मतदाताको हिसाबले नेकपा सबैभन्दा ठूलो दल हो । प्रदेशसभा र स्थानीय तह दुवैतिर नेकपाका मतदाता धेरै छन् ।

मधेसवादी दल राजपा र समाजवादीले नेकपा वा कांग्रेसमध्ये जोसँग गठबन्धन गर्छन्, उनीहरुकै गठबन्धनले त्यहाँबाट राष्ट्रियसभामा चार सिट जित्न सक्छन् । यी चार बाहेक अन्य सबै १५ सिटमै नेकपाले जित्ने निश्चित छ ।

५९ मध्ये कम्तिमा ४६ नेकपा

एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित हुने भएकाले कांग्रेस लगायत अन्य पार्टीको सम्भावना नरहेको राष्ट्रियसभाका एक उच्च अधिकारीले बताए । यो निर्वाचनबाट राष्ट्रियसभाका कुल ५९ सिटमध्ये नेकपाको कम्तिमा ४३ सिट हुनेछ । राष्ट्रपतिबाट मनोनित पनि नेकपाकै भएकाले उसको संख्या ४६ हुन्छ ।

प्रदेश २ का चार सिट कांग्रेस र मधेसवादीले बाँडेर चुनाव लडेको खण्डमा कांग्रेस कम्तिमा ७ सिटमा रहनेछ । यदि कांग्रेस बाहेकको गठबन्धन प्रदेश २ मा बनेको खण्डमा कांग्रेसले त्यहाँ भएको एक सिट पनि गुमाएर ६ सिटमा खुम्चिनेछ ।

यस हिसाबले अब अर्को २ वर्षपछि राष्ट्रियसभामा कांग्रेसको चार सिटमात्र बाँकी रहनेछ । अब दुई वर्षपछि राधेश्याम अधिकारी र तारादेवी भट्टको कार्यकाल सकिनेछ र ती ठाउँमा पनि नेकपाकै बहुमत भएकाले कांग्रेसका थप दुई सिट गुम्नेछन् ।

प्रदेश २ मा जोसँग गठबन्धन गरे पनि मधेसवादी दल राजपा र समाजवादीले कम्तिमा एक/एक सिट राष्ट्रियसभामा कायम राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment