Comments Add Comment

वर्षमा आधा दर्जन मात्र फिल्म चल्दा बन्द हुने अवस्थामा सिंगल हल

काठमाण्डौको जेडिबुटीमा रहेको ‘पुष्पाञ्जली हल’का संचालक गोपाल कायस्थ हल बन्द गर्ने मनस्थितीमा पुगेका छन् । यसको मुख्यकारण हो, नेपाली चलचित्र नै चल्न छाड्नु । उनको हलमा यो बर्ष रिलिज भएका केही चलचित्रमा मात्र दर्शक आए ।

पुष्पाञ्जली हलमा नेपाली चलचित्र मात्र लगाउँदै आएका कायस्थ अब हल बन्द गरेर अपग्रेड गर्ने मनस्थितीमा छन् । अनलाइनखबरसँग उनले भने–‘अहिले मेरो हलमा माछा माछा चलचित्र चलिरहेको छ । दर्शकको संख्या आधा दर्जन पनि छैन । पोई पर्यो कालेपछि यस्तो अवस्था छ । अब, हल कसरी चलाउने ?’

अहिले, नेपाली चलचित्रमात्र लगाउँदै आएका हलमा दर्शक नआएर समस्या छ । मल्टिप्लेक्स हलले त हिन्दी र अंग्रेजी चलचित्र चलाएर जसोतसो हल धानेका छन् । तर, सिंगल हलमा नेपाली चलचित्र हेर्ने दर्शकको अभाव हुन थालेको छ ।

उनले भने–‘वर्षमा आधा दर्जन मात्र चलचित्र चल्छन्, अनी हल चलाउन समस्या हुँदैन ? अनमोल केसी, प्रदिप खड्का जस्ता स्टार र ब्रान्ड बनाएका केही चलचित्र मात्र चल्ने गरेका छन् । वर्षमा सय वटा चलचित्र बन्दा आधा दर्जनमा पनि दर्शक नआउनु समस्या हो ।’

अहिले देशभर मल्टिप्लेक्स हल खुल्ने क्रम बढेको छ । मल्टिप्लेक्स हलमा पनि केही स्टार र ब्रान्ड बनाएका चलचित्र र टिमका बाहेक अरुका चलचित्र चलेका छैनन् । तिहारपछि सिंगल हुन् या मल्टिप्लेक्स, कुनै नेपाली चलचित्रमा पनि दर्शक छैनन् । यसले, हल चलाउनै समस्या भएका हल संचालकहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment