Comments Add Comment

नेकपामा सभामुखको छलफल साँघुरिदै, नेम्वाङ र सापकोटामध्ये को ?

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने छलफल अब दुई जनामा साँघुरिएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित छ ।

स्थायी कमिटीको बैठकका कार्यसूची तय गर्न एक-दुई दिनभित्रै बस्ने सचिवालय बैठकमा सभामुख कसलाई बनाउने भन्नेबारे नेताहरुबीच छलफल हुनेछ । तर त्यसअघि नै दुई अध्यक्षले नेम्वाङ वा सापकोटाका नाममा सहमति जुटाएर प्रस्ताव बैठकमा ल्याउने ती नेताले बताए ।

यसअघि नेकपाभित्र सभामुखका लागि नेम्वाङ र सापकोटा बाहेक उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङलगायतका नेताको पनि बलियो दाबी थियो । तुम्बाहाम्फेले अझै पनि आफू सभामुख हुने निश्चित नभइ राजिनामा नदिने बताइरहेकी छन् ।

नेकपा स्रोतका अनुसार तुम्बाहाम्फेलाई राजिनामा गराएर मन्त्री बनाउने तयारी यसअघि पनि थियो । राष्ट्रपति विद्या भण्डारी निकट तुम्बाहाम्फेले महिला सांसदहरु र नेकपाकै केही नेताहरुमार्फत आफ्नो पक्षमा निर्णय गराउन नेतृत्वमाथि दबाब सिर्जना गरिरहेकी छन् ।

नेम्वाङले सभामुख बन्नेबारे मुख खोलेका छैनन् । उनी र तुम्बाहाम्फे नातेदार पनि हुन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही नबोल्न भनेका छन् । ओली नेम्वाङलाई सभामुख बनाउनका लागि प्रचण्डलाई मनाउने प्रयासमा छन् ।

यो पनि पढ्नुहोस ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने

संसद सन्चालन गर्नका लागि ओलीले आफूलाई अनुकूल हुने पात्र नेम्वाङ नै देखेका छन् । अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । अग्नि सापकोटा पार्टीको राम्रो नेता भए पनि सभामुखको भूमिकामा नयाँ भएकाले ओली आश्वस्त हुन नसकेको निकट नेताहरु बताउँछन् ।

सापकोटालाई सभामुख बनाउनुपर्ने दबाब र घेराबन्दीमा अर्का अध्यक्ष प्रचण्ड पनि छन् । सापकोटा प्रचण्ड निकट नेतामात्र होइन पूर्वमाओवादीका दोस्रो तहका नेताहरुमध्ये अहिले राजकीय जिम्मेवारीमा नरहेकाले पनि उनको पक्षमा दह्रो अडानका साथ उभिन प्रचण्डमाथि नेताहरुको दबाब छ ।

वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत लगायतका नेताहरुले अग्नि सापकोटालाई सभामुख बनाउन प्रचण्डमाथि दबाब बढाएका छन् । सापकोटाले ओली निकट नेताहरुसँग पनि आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् । पूर्व एमालेभित्र माधव नेपाल लगायतका नेताहरुले सभामुखबारे मुख खोलेका छैनन् ।

सचिवालय बैठकअघि दुई अध्यक्षबीच सभामुखको सम्बन्धमा सहमति जुट्ने नेताहरु बताउँछन् । ओलीले मन्त्रिपरिषदको दोस्रो पुनर्गठनमा सापकोटा सहितका नेताहरुलाई समेट्नेगरी सभामुखमा नेम्वाङकै नाममा सहमति जुटाउन प्रयास गर्ने उनी निकट स्रोतको दावी छ ।

सापकोटा पार्टीको प्रभावशाली नेता भएकाले सभामुखको भूमिकामा उनी सन्तुलनकारी बन्न नसक्ने तर्कसमेत नेम्वाङ पक्षधरले गरेका छन् । तर सभामुख पद पूर्व माओवादीले यसअघि नै शक्ति सन्तुलनका आधारमा पाएकाले पूर्वएमालेले दावी गर्नु नै राजनीतिक रुपमा बेठीक रहेको प्रचण्ड निकट नेताहरुको भनाइ छ ।

पार्टी एकीकरणअघि नै राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पूर्वएमालेले र उपराष्ट्रपति तथा सभामुख पूर्वमाओवादीले पाउने समझदारी भएको थियो । अब सभामुखसमेत पूर्वएमालेले लिएर पूर्वमाओवादी पक्षलाई हरेक मोर्चामा कमजोर बनाउन खोजिएको आरोपसमेत लागेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment