Comments Add Comment

बलात्कार प्रयासको अभियोगमा सभामुख निवासबाटै पक्राउ परे महरा

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए ।

सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने  बा १८ च ४०० नम्बरको निजी गाडीमा गए ।

अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

यसअघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लगतै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

कहिले के भयो ?

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो ।

महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला अनलाइनखबरसँग कुरा गर्दै महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् ।

पक्राउ गर्नुअघि सभामुख निवासमा पुगेका सुरक्षाकर्मीहरू

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ असोजमा सार्वजनिक भयो ।

तर घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment