Comments Add Comment

महराविरुद्ध प्रहरीमा उजुरी, बलात्कार प्रयासको अभियोग

१८ असोज, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् ।

यद्यपि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो । अब पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधि पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरी दाबी छ ।

अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ ।

यो पनि पढ्नुहोस स्खलित महरा कहिलेसम्म ‘माननीय’ ?

यसअघि शुक्रबार मात्र मानवअधिकार आयोगले यसबारे भइरहेको अनुसन्धानबारे प्रहरीसाग जानकारी मागेको थियो भने प्रहरी अनुसन्धान ठीक भए नभएको अनुगमन गर्न टोली नै बनाएको छ ।

अन्तराष्ट्रिय समुदायले पनि संयुक्त वक्तव्य जारी गर्दै महरा प्रकरणबारे उल्लेख नगरी यौन हिंसाका घटनाहरुको निश्पक्ष छानविन गर्न माग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment