Comments Add Comment

महरा काण्डपछि रोशनीका श्रीमान्–श्रीमती ‘अलग’

१६ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाउने संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीको घरबार बिग्रिएको छ । उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन् ।

महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेकी रोशनीले भोलिपल्टै बोली फेरेकी थिइन् । उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत इन्कार गरेकी छन् । घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा ।’

उनले फेसबुकमा राखेको सम्झौता पत्रमा ‘सम्वन्धविच्छेद’ शब्द भने प्रयोग गरिएको छैन । आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेका पत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते । समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’

पत्रमा असन्तुिष्टको कारण नखुलाइए पनि महरा प्रकरणकै कारण उनीहरु यो निर्णय पुगेको अनुमान छ । रोशनीको बयान एकाएक परिवर्तन हुनुको कारण श्रीमान नै भएको कतिपयको आकलन छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन सकेको छैन । यही घटनापछि सभामुख महराले पनि आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

तर, रोशनीले सुरुवाती वयान परिवर्तन गरेकाले अनुसन्धानबारे अन्योल छ । महरा उक्त दिन ती महिलाको कोठामा गएको तथ्य संकलन गरिसकेको प्रहरीले थप अनुसन्धान अघि बढाएर सत्य–सतहमा ल्याउनुपर्ने मत यतिबेला प्रकट भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment