Comments Add Comment

महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

१९ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

कहिले के भयो ?

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो ।

महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला अनलाइनखबरसँग कुरा गर्दै महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो ।

तर घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment