Comments Add Comment

पोखरिया नगरको विकासका लागि संघ सरकारको ध्यानाकर्षण

२६ मंसिर, वीरगञ्ज । पोखरिया नगरपालिकाको समग्र विकासका लागि एक प्रतिनिधि मण्डलले संघीय सरकारका विभिन्न मन्त्रीलाई भेटेका छन् । तीन दिने काठमाडौं बसाइको क्रममा प्रतिनिधि मण्डलले अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई भेटेको हो ।

पर्सा जिल्लाको मध्य भागमा पर्ने पोखरियामा इलाका प्रशासन कार्यालयको स्थापना, पोखरिया अस्पतालको स्तरोन्नतीसहित चिकित्सकको व्यवस्था, स्मार्ट सिटीका लागि बजेट, इलाका प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षकको नेतृत्व र महिला सेल स्थापना, पोखरिया बजारमा ट्राफिक प्रहरी बिट स्थापना, नगरपालिकामा विद्यमान कर्मचारी अभावको व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालय र निकायको ध्यानाकर्षण गराइएको टोलीमा सहभागीले बताएका छन् ।

पोखरिया नगरपालिकाका प्रमुख दिपनरायण रौनियारले ०७४/७५ को चैतमै टेन्डर निकाल्ने भनिएपनि स्मार्ट सिटीको काम हुन नसकेको, पोखरिया अस्पतालको स्तरोन्नतीका लागि संघले केन्द्र र केन्द्रले संघलाई देखाउने गरेको, कर्मचारी अभावका कारण नगरमा विकासका काम अघि बढ्न नसकेकोबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको बताए ।

अस्पताल तर्फ पोखरिया अस्पतालको सुन्दर भवन छ, ९ औं तहको दरबन्दी छ चिकित्सक छैनन, सर्जन र गाइनोको चिकित्सक आवश्यक छ । विगतमा छात्रवृत्तिका सहित ६ जना चिकित्सक थिए, छावृत्तिका गएपछि अहिले तीन जना मात्रै छन् ।

‘प्रदेशमा गएर गुनासो गर्दा संघले पठाउने हो उता भन्नुस भन्छन्, संघमा गएर कुरा राख्दा प्रदेशले मिलाउँछ भन्छन्,’ नगर प्रमुख रौनियारले भने, ‘संघ, प्रदेश, संघ प्रदेश गर्दा गर्दै सुविधा सम्पन्न अस्पताल बनाएर नगरबासीलाई सेवा दिने चाहना पूरा हुन सकेको छैन । ’

आव ०७४/७५ मै १ करोड रुपैयाँमा लगत स्टिमेट सहितको डीपीआर तयार भइसकेको भएपनि अर्थ मन्त्रालयले बजेट नदिँदा पोखरीयामा स्मार्ट सिटीको काम सुरु हुन सकेको छैन । ‘ स्मार्ट सिटीका लागि १ अर्ब २१ करोडको डीपीआर तयार भएको थियो । अर्थमन्त्रालयले बजेट नदिँदा काम अघि बढ्न सकेको थिएन ।’ उनले भने ‘ १२ वटा सहर मध्ये तीन वटामा मात्रै बजेट गएको रहेछ, अर्थमन्त्रीले अब बजेट दिने आश्वासन दिनुभएको छ ।’

पोखरियालाई स्मार्ट सिटी बनाउने योजनालाई निरन्तरता दिँदै माघसम्ममा बजेट पठाउने आश्वासन अर्थमन्त्री युवराज खतिवडाले दिएका छन् ।

तोकेको बजेट भन्दा कैयौं गुणा बढी दायित्व देखाउँदै सहरी विकास मन्त्रालयले बजेट माग गरेको थियो । त्यसैले अर्थमन्त्रालयबाट रकम भुक्तानी हुन सकेन । त्यसले गर्दा बजेटमा समेटिएको योजना समेत प्रभावित बन्यो,’ अर्थमन्त्री खतिवडाले भने, ‘अब त्यसो हुन दिन्न, प्राथमिकतामा राखेर माघसम्म बजेट पठाउँछु ।’

पोखरियामा उपसचिव सरहको प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखको दरबन्दी छ । तर दरबन्दी अनुसारका इन्जिनियर लगायत अन्य कर्मचारी छैनन् ।

‘कहिले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुन्छन् त कहिले लेखापाल बस्दैनन् । कर्मचारी स्थिर र प्रयाप्त नहुँदा नगरको काम प्रभावित हुने गरेको छ । आवश्यक कर्मचारीको व्यवस्था गरिदिन सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएका छौं ।’ नगर प्रमुख रौनियारले भने ।

प्रतिनीधि मण्डलमा संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रद्युुम्न चौहान, बिचारी यादव, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment