Comments Add Comment

साहित्य महोत्सवको तेस्रो दिन : नेतादेखि ब्यापारीसम्म

२९ मंसिर, पोखरा । पोखरा फेवा किनारबाट नेपाली राजनीतिमा अबको नेतृत्वको खोजिदेखि नेपालीले बाँच्न चाहेको नेपाल हुँदै नेपाली बजारको विश्वव्यापीकरणसम्म पुगेर नेपाल साहित्य महोत्सवको तेस्रो दिनको बिट मारिएको छ ।

महोत्सव साहित्य, कला, समसामयिक तथा राजनीतिक, व्यावसायिक विषयमा छलफल र विमर्श गर्ने साझा थलो बनेको हो । देशका विभिन्न ठाउँबाट आएका पाहुना र पोखरेलीले आफूलाई मन लागेको सत्रमा भाग लिने र विमर्श गर्ने गरेका छन् ।

नेपाली बजारको विश्वव्यापीकरणमा अर्थपति विनोद चौधरीले आफ्नो व्यावसायिक यात्रादेखि नेपाली बजारको विश्वव्यापीकरण गर्न कुनै सरकारले नभइ व्यक्तिको दृढ संकल्प आवश्यक पर्ने बताए ।

वाइवाई विश्वको परिचित ब्राण्ड बन्छ

चौधरीले नेपालमा थालेको पशुपति बिस्कुटको व्यावसायिक अनुभव पनि सुनाए । ‘हिजोको पशुपति बिस्कुटको अनुभव यात्रामा उभिएर वाइवाईलाई विश्वमा पु¥याउन सक्छौंं भनेर लाग्यौं । ब्यापार बढ्दै गयो,’ चौधरीले भने, ‘त्यो बेलाको पशुपति बिस्कुटकोे यात्रामा गरेको अनुभवको धरातलमा उभिएर वाइवाईलाई विश्वमा पु¥याउने यो उत्पादनमा दम छ ।’

आज ८० भन्दा बढी देशमा उपस्थिति भइरहेको बताउँदै चौधरीले वाइवाइ विश्वकै चर्चित ब्राण्ड बन्ने दिन टाढा नरहेको बताए । ‘मलाई लाग्छ कि त्यो दिन टाढा छैन, नेपालको वाइवाई विश्वको परिचित मानव निर्मित ब्राण्डका रुपमा उभिने छ र त्यसले नेपालाई थप चिनारी दिने छ,’ चौधरीले भने, ‘सानो मुलुकको साधारण परिवारमा जन्मिएर सानो समस्याको हिसाबकिताब गर्न लागेको भए कहाँ यहाँ पुग्न सकिन्थ्यो र ?’

भारत, श्रीलंकाजस्ता देश कठिन अवस्थामा रहेका बखत आफूले त्यहाँ सम्भावना देखेर ब्यापार बिस्तार गरेको चौधरी सम्झिए । ‘७० वर्षको भारतीय स्वतन्त्रता संग्रामभित्र र आज पनि त्यसका राजनीतिक बाछिटाहरु देख्छौं । त्यस अर्थमा मैले त्यो नै ठूलो अवसरका रुपमा लिएँ,’ उनले भने ।

माओवादीको द्वन्द्वकाबीच पनि नवलपरासीमा चौधरी ग्राम बनाएको पनि चौधरीले सुनाए । ‘चौधरी ग्रामको प्रांगणभित्र पछाडिबाट माओवादी र अगाडिबाट आर्मीहरु आउँथे । दुइटैले देखेको भए त्यहाँ स्थिति जे पनि हुन सक्थ्यो,’ चौधरीले भने, ‘द्वन्द्वकालको अवस्थामा पनि बलियो औद्योगिक आधारशीला कसरी बनाउन सकिन्छ भनेर लागें ।’

अवसरका रुपमा देखेर कठिन अवस्थामा पनि सीमित स्रोत र साधनका बीच अग्रसर भएकै कारण आज यहाँसम्म आइपुगेको चौधरीको भनाइ थियो । भारतमै हिजो कठिन अवस्थामा टिकेर नबसेको भए आज वाइवाइले भारतम वर्चश्व जमाउन सक्ने अवस्थामा नआउने चौधरीले बताए ।

‘नेपालबाट सुरु भएको त्यो उत्पादनले विश्वभरि बजार बनाउन सक्ने थिएन । खोजेर हिँडेको होइन, अवसर आउँदा नडराइ बसेकोमात्र हो,’ चौधरीले भने । चौधरी व्यावसायिक जीवनमा सबैभन्दा ठूलो पुँजी नै व्यक्तिगत सम्बन्धलाई मान्छन् ।

उनले आफ्नो पहिचान नै नेपाल भएको बताए । भारत वा अरु देशमा भएको भए आफू त्यत्तिकै हराउने चौधरीको भनाइ थियो । ‘म जहिले पनि स्पष्ट थिएँ कि नेपालको पहिलो मल्टिनेसनल बनाउँछु । जसको हेडक्वार्टर नेपालमै होस्,’ उनले भने ।

हालसालै ताजकिस्तानमा वाइवाइको उत्पादन सुरु गर्दा त्यहाँका प्रधानमन्त्री आएको र नेपाली झण्डा फहराएको चौधरीले सुनाए । १० दिन पहिलेमात्र दुबईमा ताज होटल खोल्दा पनि ताज र भारतको झण्डा फहराउन खोजिएको तर आफूले नेपाली झण्डा नै फहराएको उनले बताए ।

‘जहाँ जहाँ नेपालीको पकड छ, त्यहाँ नेपालीको झण्डा फहराउने मेरो सपना छ,’ चौधरीले भने । नेपालीले नेपालभन्दा बाहिर उद्यमशीलता गर्न वा यहाँ ट्याक्स तिरेको पैसा लगानी गर्न चाहन्छ भने दिनुपर्ने उनको भनाइ थियो । विदेशमा भएका नेपालीको मात्र होइन, विदेशीलाई पनि नेपालमा लगानी गर्न ल्याउनुपर्ने चौधरीले बताए ।

पैसा कै कुरा गर्ने हो भने विनोद चौधरीभन्दा धेरै धनी मान्छे नेपालमा भएको उनले बताए । फोब्सबाट प्रस्ताव आउँदा द्वविधामा परेको र श्रीमतीले प्रोत्साहन गरेपछि बल्ल स्वीकार गरेको उनले सुनाए । उनले नयाँ पुस्तालाई सकेसम्म आफैं उद्यमी बन्न र नसके उद्यमीसँगै लाग्न पनि आग्रह गरे ।

पोखरामा रिर्सोट वा होटल खोल्ने पहिलेदेखिकै योजना भए पनि नजुरेको चौधरीले बताएका छन् । पोखरामा रिर्सोट खोलेर हस्पिटालिटीको हेडक्वाटर पोखरामा बनाउने सपना रहेको चौधरीले सुनाए ।

‘हामी हस्पिटालिटी क्षेत्रमा छौं, पोखरामा एउटा स्तरीय होटल वा रिर्सोट बनाउने सोचिरहेको छु । हिजो प्रण पनि गरेको छु, जु¥यो भने हस्पिटालिटीको ग्लोबल हेडक्वाटर पोखरामा बनाउँछु,’ चौधरीले भने ।

नेतृत्वको बहस, ऊर्जाको बजारीकरण

उल्लेख्य दर्शकदीर्घाबीच तेस्रो दिनको पहिलो सत्र नै रोचक बन्यो । अबको नेतृत्व कस्तो ? यो सेसनमा नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता एवम् सांसद गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उमेश चौहानबीच छलफल चल्यो । अहिले नेपाली राजनीतिले हिँडिरहेको बाटो र अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा गरमागरम बहस चल्यो ।

महोत्सवको अर्काे सत्र थिया, पावरिङ सस्टेनेब्ली । यसमा गफिए, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रुपक डी शर्मा ।
उनीहरुले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे मात्र चर्चा गरेनन्, सँगै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे पनि चर्चा गरे ।

अपार सम्भावना भएको नेपालमा ऊर्जा क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने उनीहरुले बताए । नेपालमा उत्पादित बिजुलीको विश्वबजारका बारेमा पनि यो कार्यक्रममा वक्ताहरुले कुरा उठाए ।

घिसिङले नेपालमा बिजुली उत्पादन बढाउने र औद्योगिक विकासमार्फत त्यो बिजुलीलाई यहीँ खपत गर्न सके नेपालको आर्थिक विकासमा त्यो महत्वपूर्ण हुने धारणा राखे । नेपालको समृद्धि र विकास नै ऊर्जामार्फत प्राप्त हुने घिसिङको भनाइ थियो ।

यही समयमा ट्रान्सलेसिङ साउथ एसिया विषयमा अन्तर्संवाद भएको थियो । यसमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले छलफल गरे । उनीहरुले दक्षिण एसियामा अनुवाद साहित्यको अवस्था र यसको प्रभाव, वस्तुस्थितिबारे अन्तर्संवाद गरेका थिए ।

निबन्धदेखि कथाको अन्तर्कथासम्मको विमर्श

अर्को सत्रमा मुर्झाएको निबन्धबारे रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन र विमल आचार्यबीच छलफल चल्यो । यसमा पछिल्लो समय नेपाली निबन्धको अवस्थाबारेको प्रस्तुति रह्यो । अन्य विधाको तुलनामा निबन्धको बजार नबढेको विषयमा पनि उनीहरुले अन्तरसंवाद गरे ।

यो सेसनमा के नेपाली निबन्ध मुझाएकै हो त भन्ने विषयमा केन्द्रित रहेर संवाद चल्यो । यसमा वक्ताहरुले नेपाली निबन्ध मुर्झाएको नभई विविध विषयमा पुगेको बताए । साथै उनीहरुले शंकर लामिछाने, लक्ष्मीप्रसाद देवकोटाले जसरी निबन्ध भने आउन नसकेकोमा चिन्ता गरे ।

यही समयमा कथाका अन्तर्कथा शीर्षक सेसन पनि चल्यो । सञ्जीव उप्रेती, मुना चौधरी र छुदेन काविमोसँग संवाद गरे, गुरुङ सुशान्तले । यसमा वक्ताहरुले कथा लेखन, पात्रको प्रस्तुति, घटनाक्रम आदिबारे चर्चा परिचर्चा गरे । साथै कथाका अन्तर्वस्तुबारे पनि उनीहरुले छलफल गरे । साथै दार्जिलिङ, कालेबुङ आदि भारतका नेपाली भाषी क्षेत्रमा नेपाली साहित्यको अवस्थाबारे पनि चर्चा परिचर्चा भयो ।

महोत्सवमा अर्काे सेसन रह्यो, नेपाली समाजको वर्गविन्यास । यो सेसनमा विश्लेषक आहुतिले प्रवचन दिए । यसमा नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे उनले विषद् व्याख्या विश्लेषण गरे ।

हामीले बाँच्न चाहेको नेपाल

हामीले बाँच्न चाहेको नेपाल सत्रमा महोत्सवको आकर्षणका रुपमा रह्यो । सत्रमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना । उनीहरुसँग गनेस पौडेलले छलफल गरे ।

छलफलमा उनीहरुले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा आआफ्ना धारणा राखे । कतिपय सामाजिक अव्यवस्था एवम् रुढ मान्यताका कारण अहिलेको युवा पुस्ता उन्मुक्त हुन नसकेकोमा उनीहरुको गुनासो रह्यो ।

बलात्कार जस्ता घटनामा राज्यले प्रभावकारी कदम नचालेको र दोषीहरुले उन्मुक्ति पाएको उनीहरुको भनाइ थियो । साथै सबैभन्दा पहिले महिनावारी आदि विषयमा समाजमा सचेतना जगाउनुपर्ने र शिक्षाको गुणस्तर सुधारी सबै नेपालीलाई सक्षम बनाउनुपर्नेमा उनीहरुले जोड दिए ।

दक्षिण एसियाली मुलुकको तुलनामा महिलाको अवस्था एवम् सशक्तीकरणका क्षेत्रमा नेपालले बिस्तारै सकारात्मक÷प्रभावकारी काम गर्न सकेको उनीहरुले बताए ।

समाजमा महिला र पुरुष अर्थात् उनीहरुको अधिकार एवम् समानता एकै किसिमको हुनुपर्छ र विभेदको आभास पनि आउनुहुँदैन, तब मात्र सुसभ्य, सुसंस्कृत समाज निर्माण हुन्छ भन्ने उनीहरुको भनाइ थियो ।

यही समयमा भवसागर घिमिरेको हजुरबाको बगैंचा र हेमलता राईको पुस्तक चंगा चैट विमोचन भएकोे । साथै किन हुर्किनुपर्छ बालसाहित्य शीर्षकमा संवाद गरिएको छ ।

छलफलमा सहभागी थिए, शाश्वत पराजुली, हेमलता राई र भवसागर घिमिरे । बालबालिकाको बौद्धिक एवं मानसिक विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका रहेको उनीहरुले बताए । साथै उनीहरुलाई खेल्दै सिक्दै भन्ने वातावरण बनाएर लैजान सके त्यसको प्रभाव राम्रो हुनेमा उनीहरुले जोड दिए ।

राइटिङ इन द एज अफ पपुलिज्म

महोत्सवको अर्काे सेसन थियो, राइटिङ इन द एज अफ पपुलिज्म । यसमा जेरेमी थम्बिङ, हरीश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो । लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे । जस्तो कि, भारतमा नरेन्द्र मोदी र बेलायतमा ब्रेक्जिट आदि लोकरिझ्याइँमा लाग्दा लेखकको मनोबल कसरी खस्किएको छ भन्ने विषयमा संवाद भयो ।

आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा महोत्सवको अर्को सत्र थियो । यो सत्रमा विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर र निरञ्जन श्रेष्ठबीच अन्तर्संवाद चल्यो ।

पछिल्लो समय नेपाललगायत मुलुकमा फस्टाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अवस्था र प्रभावबारे उनीहरुले चर्चा परिचर्चा गरे । आर्टिफिसियल इन्टेलिजेन्सले निर्माण गरेको संरचनाबारे उनीहरुले पावरप्वाइन्ट प्रेजेन्टेसनसमेत गरेका थिए ।

एआईका कारण मानवीय जनशक्ति अर्थात् बौद्धिक जगतलाई त्यति प्रभाव, असर नपार्ने उनीहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment