Comments Add Comment

एक कलाकारको नाटकीय प्राणान्त !

अस्पताल पुर्‍याउनु अगावै कसरी भयो केशव भट्टराईको मृत्यु ?

३० मंसिर काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ । ओम अस्पताल लैजाने क्रममा आइतबार राति उनको निधन भएको हो । अस्पतालले निधनको कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

अस्पताल स्रोतले भन्यो, ‘हामीकहाँ ल्याउनासाथ चिकित्सकहरुले जाँच गर्दा उहाँको निधन भइसकेको थियो । त्यसैले कारण खोज्नेतिर लागिएन ।’

भट्टराई आइतबार बेलुका ७ बजेतिर चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनको घर कीर्तिपुरमा पुगेका थिए । महर्जनकी आमाको पुण्यतिथिको निम्तो मान्न उनी गएका थिए । नेवारी परम्पराअनुसार त्यहाँ उनले ‘ड्रिंक्स’ गरेको बताइएको छ ।

कीर्तिपुरबाट आफ्नै गाडीमा अनामनगरस्थित घर फर्किने क्रममा उनको स्वास्थ्य बिग्रेको थियो । राति ९ बजेतिर बाटोमा उनलाई अप्ठेरो महसुस भएको र वान्तासमेत भएको थियो । भट्टराई गाडीको पछाडि सिटमा थिए ।

ड्राइभरले अनामनगरस्थित घर पुर्‍याए पनि त्यतिबेलासम्म भट्टराई बेहोश अवस्थामा पुगिसकेका थिए । ड्राइभरले उनलाई गाडीबाट निकाल्न नसकेपछि छोरालाई बोलाए । छोरा तत्काल घरबाट निस्केर उनलाई चाबहिलस्थित ओम अस्पतालतिर लगियो ।

त्यसक्रममा चाबहिलमै रहेको चलचित्र विकास बोर्डको कार्यालयमा लगेर त्यहाँबाट तीनजना सहयोगीहरुलाई पनि गाडीमा राखिएको थियो ।

भट्टराईलाई राति सवा १० बजेतिर अस्पताल पु¥याइएको थियो । अस्पतालमा गाडीबाट निकाल्दा उनको मुखबाट र्‍याल र रगतसमेत निस्केको देखिएको थियो । अस्पताल पुग्नुअगावै बाटोमै उनको निधन भएको चिकित्सकहरुले बताएका छन् ।

हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छैनन् । वान्ता गर्ने क्रममा उनको स्वासनलीमा अवरोध पुगेको अनुमानसमेत गरिएको छ । परिवारको आग्रहमा भट्टराईको पोष्टमार्टम गरिएन ।

भट्टराईकी श्रीमती र एक छोरा छन् ।

भट्टराई दम्पत्तिले ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन् ।

भट्टराईले १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए । महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टाउको दुःखेको बताएका थिए ।

आइतबार दिउँसो उनले बोर्डको वैठक राखेर शनिबार निधन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए । दिउँसो साढे तीन बजे सञ्चारमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका थिए ।

भट्टराई सोमबार हेटौंडा जाने कार्यक्रम थियो । त्यहाँबाट मंगलबार भैरहवा जाने योजना थियो । भैरहवामा बोर्डले आयोजना गर्न लागेको चलचित्र महोत्सवको तयारीका लागि उनी जान लागेका थिए । यसका लागि उनले ४/५ दिन छुट्टी लिइसकेका थिए ।

तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष थिए ।

भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिने छ । त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिनेछ ।

यो पनि पढ्नुहोस राष्ट्रिय सम्मानका साथ केशव भट्टराईको अन्त्येष्टि गरिने

विद्युत प्राधिकरणदेखि चलचित्र विकास बोर्डसम्म

ओखलढुंगामा जन्मिएका केशवलाई शुरुमा चलचित्र क्षेत्रमा खासै रुचि थिएन । विकास बोर्डको अध्यक्ष हुन्छु भनेर त कल्पना पनि गरेका थिएनन् । उनको लक्ष्य ‘सिभिल इन्जिनियर’ बन्ने थियो । तर, आफ्नो सर्टिफिकेटमा प्राप्ताङ्क नपुगेपछि उनले त्यो बाटो समात्न सकेनन् ।

सिभिल इन्जिनियर बन्न नपाएपछि उनले विद्युत प्राधिकरणमा जागिर सुरु गरे । प्राधिकरणमा सँगै काम गर्ने साथी डा. प्रदीप भट्टराई निर्देशक तुलसी घिमिरेको पीआरको काम गर्थे । प्रदीपकै माध्यमबाट तुलसी घिमिरेसँग केशवको चिनजान भयो ।

नेपाल विद्युत प्राधिकरणमा दुई दशक जागिर खाएका भट्टराईले बोर्डमा नियुक्त भएपछि प्राधिकरण छाडेका थिए ।

सामान्य चिनजानमा नै तुलसीले केशवलाई चलचित्रमा अभिनय गर्न सुझाए । केशवको लुक्सबाट तुलसी प्रभावित थिए । त्यसैले ‘कोशेली’मा सानो भूमिका दिए ।

उक्त चलचित्र पश्चात् तुलसी घिमिरेले निर्माण गरेका चलचित्रमा उनले निरन्तर काम गरे । ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘दक्षिणा’ लगायतका चलचित्रमा काम गरेपछि ‘मितज्यु’ नामक चलचित्रमा आएर केशवले मुख्य भूमिकामा काम गर्ने अवसर पाए ।

‘मितज्यु’पछि बाहिरी व्यानरका चलचित्रहरुबाट पनि केशवलाई प्रस्तावहरु आए । निरन्तर रुपमा चलचित्रमा काम गर्दै गए । नाच्न कमजोर उनलाई धेरैले ‘नाच्न नजान्ने हिरो’को उपमा दिएका थिए । अभिनयमा भने उनी पोख्त थिए ।

चलचित्र ‘बलिदान’मा काम गरेपछि तुलसी घिमिरेको जुनियर टिम मिलेर ‘दौतरी’ बनाए । केशव पनि टिममा थिए । उक्त चलचित्र हिट भएपछि केशव आफ्नै लगानीमा चलचित्र बनाउनतिर लागे । उनको लगानीमा चलचित्र ‘आफ्नो मान्छे’ बन्यो र सफल पनि भयो ।

उक्त चलचित्रको सफलतापछि निरन्तर चलचित्र निर्माणमा थिए, केशव । उनको लगानीमा पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रस्लेट, यात्रा’ लगायत चलचित्र बनेका छन् । तीमध्ये केही सफल र केही व्यापारिकरुपमा असफल भएका छन् ।

निभ्यो आशाको दियो

चलचित्र क्षेत्र र चलचित्रकर्मीको हितमा काम गर्ने प्रतिबद्धतासहित केशव विकास बोर्डमा अध्यक्षको कुुर्सी सम्हाल्न आइपुगेका थिए । धेरै योजनाहरु बुनेका थिए उनले र कार्यान्वयनमा पनि जुटिरहेका थिए ।

चलचित्र क्षेत्रले नै केशवमाथि निकै भरोसा गरेको थियो । ‘केशवले नगरे कसले गर्छ ?’ भन्ने भाव धेरैको देखिन्थ्यो । अध्यक्षको कुर्सीमा आसिन भएपछि ‘मलाई अंग्रजदेखि अहिलेका पुस्तासम्मले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई म मर्न दिन्नँ ।’

तर, उनको वाचा अधुरो भएको छ । चलचित्रकर्मीको आशा निराशामा बद्लिएको छ । चलचित्र क्षेत्र नै शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment