Comments Add Comment

नेकपा बैठकमा नेताहरुले भने : नेतृत्वलाई अहिल्यै माफी दिन सकिन्न

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले अहिले नै माफी दिन नसक्नेसमेत बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा १२ नेताले आफ्नो धारणा राखेका थिए ।

तीन तीन महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि एक वर्षसम्म बैठक किन नबोलाएको भनेर नेताहरुले प्रश्न गरेका छन् । नेता युवराज ज्ञवालीले त बैठक नबोलाएकोमा नेतृत्वले आत्मालोचना गरेर मात्र नहुने बताए । ‘आलोचना गर्नुपर्छ र अब लगातार समयमै बैठकहरु हुन थालेपछि मात्र माफी दिन सकिन्छ,’ उनले भने ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा भने लामो समयसम्म बैठक बस्न नसकेकोमा आत्मालोचना गर्दै यस्ता कमजोरी दोहोरिन नदिने प्रतिवद्धता जनाइएको छ ।
नेताहरुले पार्टी विधि र पद्धतिअनुसार नचलेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरुले आफ्ना मान्छे मात्र हेरेको भन्दै आलोचना गरेका छन् ।

एमसीसीको विरोध

सोमबार बोल्ने मध्ये भीम रावल र देव गुरुङले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गरे । यो अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक रणनीतिकै अंग भएको भन्दै दुबै नेताले भनेका छन्, ‘अमेरिकाले एमसीसी इण्डोप्यासिफिक अन्तर्गत होइन भनेको छैन । र, यो नभन्दासम्म संसदबाट अनेमोदन गर्न सकिन्न ।’ अमेरिकाले होइन भनेको अवस्थामा पनि जस्ताको तस्तै संसदले अनुमोदन गर्न नसक्ने दुबै नेताको धारणा थियो ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसदले अनुमोदन नगरेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराको आलोचना गरेका थिए । साथै संसदको आगामी अधिवेशनबाट पास गर्ने बताएका छन् ।

सचिवालय विस्तार गरौं

स्थायी कमिटीको बैठकमा नेतृ पम्फा भुसालले पार्टी सचिवालय विस्तार गर्न माग गरेकी छन् । सचिवालयलाई विस्तार गरेर १५ सदस्यीय बनाउनुपर्ने र आफूहरुलाई पनि समेट्नुपर्ने उनको धारणा राखेको नेताहरुले बताएका छन् ।

हाल सचिवालय ९ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment