
३० मंसिर, काठमाडौं । १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनलाई लिएर आन्तरिक किचलोमा फसेको नेपाली कांग्रेसका नेताहरु सोमबार दिनभर वार्ता र गुटको छलफलमा व्यस्त रहे । तर सहमतिको संकेत देखिएको छैन ।
बरु एकअर्काले अडान कस्दै लगेका छन् ।
विवादमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई समूहको नेतृत्व गरेका छन् । तेस्रो धार बनाउने प्रयास गरेका कृष्ण सिटौला दृश्यमा छैनन् । नेताहरुले उनी सभापतितिर जाने आशंका गरेका छन् तर गगन थापा, प्रदीप पौडेललगायतका नेताहरु भने पौडेल समूह छाड्ने पक्षमा छैनन् ।
नेताहरुका अनुसार यो सबै विवादको जड भने १४ औं महाधिवेशन र त्यसमा हुने भोटको हिसाबसँग जोडिएको छ ।
पहिले कुरा गरौं, १४ औं महाधिवेशनको ।
बिहीबार केन्द्रीय समिति बैठक बहिस्कार गर्दैगर्दा पौडेल समूहको प्रमुख माग थियो, महाधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा बनाउनुपर्यो ।
संस्थापन पक्ष त्यसलाई सुन्न तयार भएन । पौडेल समूहको अनुपस्थितिमा बैठक बस्यो र एजेण्डा पेश भयो । देउवा निकट नेताहरु भनिरहेका थिए, ‘पौडेल समूह सहमतिमा आएन भने बहुमतका आधारमा भए पनि निर्णय गर्छौं ।’
तर पौडेल समूह गलेन । स्वयं सभापति देउवा बोहोराटार पुग्दा पनि पौडेल लचिलो बनेनन् र वार्ता समिति स्तरमा संवाद गर्न सुझाए । त्यसपछि भने संस्थापन पक्ष केही लचिलो भयो । वार्ताका क्रममा नेताहरुले १४ औं महाधिवेशनको कार्यतालिका नबनाउने कहाँ भनेका छौं र, नेविसंघ, तरुण दल, विभाग गठनसँग कार्यतालिकामा पनि सहमति गरौं भन्न थाले ।
स्रोतका अनुसार सोमबार विहानको वार्तासम्म आइपुग्दा संस्थापन पक्ष कार्यतालिका बनाउन सहमत भएको छ । तर उसको शर्त छ, ‘फागुनमा चार वर्षे कार्यकाल पूरा गर्दै गरेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्नुपर्छ ।’
नेताहरुका अनुसार अब दुक्ष पक्षबीच म्याद थपेर कार्यतालिका बनाउने र कार्यतालिका बनाएर त्यसअनुसार कार्यसमितिको म्याद थप गर्ने भन्ने विवाद सुरु भएको छ । ‘हामीले कार्यतालिका बनाऔं, त्यसअनुसार जति समय चाहिन्छ त्यति थपौं भनेका छौं’ पौडेल पक्षका डा. नेता मिनेन्द्र रिजालले भने, ‘उहाँहरुले एक वर्ष समय थपौं, त्यसपछि कार्यतालिका बनाउने कुरा गर्नुभएको छ ।’
कार्यकाल थपेर मात्र कार्यतालिका बनाउन खोज्ने प्रस्तावमा पौडेल समूह शशंकित छ ।
दोस्रो विवाद छ, विभाग गठन ।
कांग्रेसको विधानमा २८ वटा विभागहरु रहने व्यवस्था छ । सभापतिमा निर्वाचित भएदेखि नै विभाग गठन कांग्रेस सभापति देउवाको प्राथमिकतामा कहिल्यै परेन ।
तर जब कार्यकाल सकिने बेला आयो, देउवाले विभाग गठन गर्ने मात्र होइन, बढाएर ४१ पु¥याउने प्रस्ताव ल्याए । नेताहरुका अनुसार छलफलका क्रममा संस्थापन पक्षका नेताहरुले प्रचार, संगठन, प्रवासलगायतका महत्वपूर्ण विभागमा आफूहरुले चाहेको नेताहरुलाई जिम्मेवारी दिनुपर्ने माग राखेका छन् ।
पौडेल समूहलाई भने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छोटो कार्यकालले नै अत्याइसकेको छ ।
उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको यो प्रतिष्ठानको कामले संस्थापन पक्षलाई मात्र पक्षपोषण गरेको नेताहरुको दाबी छ । ‘भोलि बन्ने विभाग पनि त्यसरी नै चलाउने, प्रणालीगत रुपमै एउटा पक्षमा लाम सिर्जना गर्ने र महाधिवेशन प्रभावित पार्न चाहेको देखिन्छ’, नेता रिजाल भन्छन् ।
पौडेल समूहको भेला तथा छलफलमा सहभागी नेताहरुका अनुसार यदि संस्थापन पक्षले चाहेअनुसार विभागहरु थपिए र नेताहरुले जिम्मेवारी पाए भने आगामी महाधिवेशनमा यही कारण मात्र डेढ सयभन्दा बढी भोट तलमाथि हुन्छ ।
त्यसैले सोमबार दिउँसो पौडेल निवास बोहोराटारमा बसेको पौडेल समूहको भेलाले प्रष्ट भनेको छ, ४१ विभाग मान्य छैन । २८ विभाग गठन गर्ने हो भने पनि सहमतिमा मात्र हुन्छ ।’
तेस्रो, नेविसंघ र तरुण दल ।
अहिले कांग्रेसमा देखिएको देउवा र पौडेल समूहको विवादको तेस्रो कारण हो, दुई भ्रातृ संगठन ।
नेविसंघमा तदर्थ समिति गठन गर्ने तयारी छ भने तरुण दलको म्याद थप गर्ने । तर यसमा पनि दुबै पक्षले १४ औं महाधिवेशनको भोटको हिसाब नै देखेका छन् ।
स्रोतकाअनुसार सभापति देउवा समूहले नेविसंघमा भोलिको भोट हेरेर अर्को समूहमा रहेकालाई पद दिएर आफूतिर तान्न खोजेको छ । तरुण दलमा पनि आफ्नो अनुकुल होस् भन्न चाहेको छ । पौडेल समूह यो मान्न तयार छैन । सहमतिका आधारमा निर्णय हुनुपर्ने तथा कृष्ण सिटौला विजय गच्छदार समूहलाई हैसियतअनुसार मात्र पद दिनुपर्ने यो समूहको अडान छ ।
बैठक स्थगित
कांग्रेसको संस्थापन र पौडेल समूहबीच सहमतिको प्रयास जारी छ र, सोमबार विहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वार्ता भएको थियो ।
सहमति गर्नुपर्छ भन्नेबाहेक अरु ठोस प्रगति भएको छैन । लगत्तै पौडेल समूहका नेताहरु बोहोराटारमा पुगेर छलफल गरे र मूर्त सहमति नहुँदासम्म केन्द्रीय समिति बैठकमा नआउने सन्देश पठाए । जवाफमा संस्थापन पक्षले पार्टी कार्यालयमै वार्ता गर्न आउन पौडेल समूहका वार्ता टोलीलाई आग्रह ग¥यो ।
तर पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको टोली गएन । केन्द्रीय समिति बैठक बोलाएकाले आफूहरु नआउने पौडेल समूहको अडान रह्यो । बरु बैठक स्थगित गर्न सुझाए ।
संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठक स्थगित गरेको छ र, भोलि वार्ता गर्ने बताएको छ । बैठक स्थगितलाई पौडेल समूहले सकारात्मक भनेको छ ।
प्रतिक्रिया 4